विभाजनको अर्थ र यथार्थ

किशोर नेपाल-पार्टी उपाध्यक्ष तथा सैद्धान्तिक गुरु मोहन वैद्यले विधिवत नेपाल कम्युनिष्ट पार्टी, माओवादीको स्थापना गरेपछि एकीकृत माओवादी विभाजित भएको छ। नयाँ गठन भएको पार्टीमा रामबहादुर थापा, सिपी गजुरेल, देव गुरुङ, पम्फा भुषाल, नेत्रविक्रम चन्दलगायत नाम चलेका नेता तथा पार्टीका निम्ति दुःख पाएका, 'जनयुद्ध'मा लडेका र एकीकृत पार्टीको नेतृत्वबाट 'उपेक्षित' कार्यकर्ता रहेको बताइएको छ।

यससँगै पार्टीभित्र लामो समय रहेको आन्तरिक कचमच समाप्त भएको छ र पार्टी आन्तरिक ध्रुवीकरणको बाटोमा गएको छ। यो ध्रुवीकरणलाई रोकेर पार्टीलाई संगठित बनाइराख्नु एकीकृत माओवादीका लागि तात्कालिक चुनौती बनेको छ। यद्यपि, सांगठनिक रुपमा एकीकृत पार्टीले अहिलेको विभाजनबाट खासै ठूलो क्षति व्यहोर्नु नपर्ने दाबी यसका जिम्मेवार नेताहरुले गरेका छन्। तापनि पार्टीभित्र आन्तरिक छिनाझपट र द्वन्द्वको स्थिति एक हदसम्म चर्कने कुरालाई कसैले अस्वीकार गर्न सकेको छैन।प्रधानमन्त्री बाबुराम भट्टराईलाई विदेश जान र वैद्य समूहलाई विभाजनमा जानबाट रोक्न सोमबार बसेको एकीकृत पार्टीको स्थायी समिति बैठक दुवै कुरामा अप्रभावकारी सावित भएको छ। प्रधानमन्त्री भट्टराई स्थायी समितिको निर्देश लत्याएर विदेशतिर उडेका छन् भने मोहन वैद्यले नया" पार्टीको ४८ सदस्यीय कार्य समितिको घोषणा गरेका छन्। नयाँ कार्यसमिति बैठकले रामबहादुर थापालाई महासचिव चुनेको छ भने सिपी गजुरेल सचिव बनाइएका छन्।

'हो, मोहन वैद्यजीहरुले नयाँ पार्टी खोल्नुभएको छ,' एकीकृत माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महराले नागरिकसँग भने, 'यति लामो संघर्ष गरेर हुर्काएको पार्टी विभाजित हु"दा दुःख लाग्नु स्वाभाविकै हो। भावनात्मक रुपले पनि यो घटनाले हामीलाई दुःखी बनाएको छ। प्रधानमन्त्रीजीलाई विदेश जानबाट रोक्नका लागि आजै (सोमबार) बसेको स्थायी समिति वैठकले किरणजीहरुसँग अब थप एकताको प्रयत्न नगर्ने निर्णय गरेको हो।'
विभाजनपछिको सांगठनिक परिदृश्यको लेखाजोखा गर्न अब पार्टी केन्द्रीय समितिको विस्तारित बैठक बस्ने र त्यसले पार्टीको आगामी रणनीति तय गर्ने महराले जानकारी दिए।
एकीकृत माओवादी स्रोतहरुले अहिलेको विभाजनले मूल पार्टी संगठनलाई १५ देखि २० प्रतिशत प्रभावित पार्ने अनुमान गरेका छन्। वैद्य पक्षको भेलामा सहभागी भएकामध्ये अधिकांश माओवादीका युवा लडाकु रहेको बताइन्छ।

सेना समायोजनका क्रममा छनोटमा नपरेका र पार्टी नेतृत्वले उपेक्षा गरेको भन्दै असन्तुष्ट रहेकाहरु नै नया" पार्टीको आधार हुन् भन्न हिच्किचाउनुपर्ने अवस्था भेलामा देखिएन। 'यो कुनै नया" कुरा होइन। हिंसाबाट शान्ति प्रक्रियामा आएको पार्टीमा संक्रमणकालीन अनिश्चयले ठूलो हलचल र खलबली ल्याउ"छ। माओवादी पार्टीमा अहिले देखिएको यो असन्तोषलाई सामान्य नै मान्नुपर्छ,' एक विश्लेषकले भने।

माओवादी शीर्षस्थ नेतृत्वले भने असन्तुष्ट जमातले समाजमा रचनात्मकभन्दा विध्वंसात्मक प्रवृत्तिको विस्तार गर्नसक्ने विश्लेषण गरेको छ। 'यो समूहले संगठित जनविद्रोह वा क्रान्ति गर्न सक्दैन। तर, हिंसाको असंगठित विस्तारद्वारा देशमा निर्माण हुँदै गएको शान्तिको वातावरणलाई बिथोल्न सक्छ।'

नयाँ पार्टीका सूत्रधार एवं युवा नेता नेत्रविक्रम चन्दले केही दिन अघि युवाहरुको बैठकमा एकीकृत माओवादी र नयाँ माओवादी दुवै पार्टीको बूढो नेतृत्व क्रान्तिको पक्षमा नभएकाले युवाहरुले नै अपूर्ण क्रान्ति पूरा गर्नुपर्ने बताएका थिए। विश्लेषकहरुले उनको भनाइलाई उत्तेजक भन्दै अहिलेको समय हिंसाको पक्षमा नरहेको बताएका छन्। सशस्त्र संघर्षका बेला मानिसको मनमा लागेको घाउमा राम्ररी खाटासमेत नबसिसकेको अहिलेको अवस्थामा नेपाली समाज अर्को युद्धका लागि तयार हुन सक्ने परिस्थितिको निर्माण हुने कुनै सम्भावना छैन।

शान्ति र विकासको खोजीमा लागेको नेपाली समाजको गति बिथोल्न असन्तुष्ट माओवादीहरुले गर्ने प्रयत्नको फाइदा गैरमाओवादीहरुले उठाउन सक्ने आशंका भने यथावत छ। खासगरी, राष्ट्रवादी शक्तिहरुसँग सहकार्य गर्ने वैद्य समूहको आकांक्षा नै आशंकाको केन्द्रविन्दु बनेको छ।

माओवादी राजनीतिलाई नजीकवाट नियाल्ने विश्लेषकहरु संविधानसभाको विघटनपछि घोषणा भएको चुनाव मंसिर वा त्यसपछिको अनुकूल समयमा हुने भयो भने अहिले नयाँ पार्टीमा लागेकामध्ये धेरैजसो मूल पार्टीमा नै फर्कने वातावरण पनि बन्न सक्ने बताउँछन्। 'अहिलेको विवाद मोहन वैद्यका कारण मात्रै सैद्धान्तिक बन्न पुगेको हो। माओवादीमा पनि झगडा राजनीतिक सत्ताको भागबन्डाकै हो,' एक विश्लेषकले भने, '२०४७ पछि कांग्रेसले भोगिसकेको नियति अहिले माओवादीमा पनि रिसाइक्लिङ भइरहेको छ।'

No comments:

Post a Comment