प्रधानमन्त्रीलाई बाँदरको मासु खुवाउने इच्छा





१५ पुस, सल्यान । जंगलमा बस्दै आएका राउटे समुदायले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नो बस्तीमा बोलाएर बाँदरको मासु खुवाउने इच्छा व्यक्त गरेका छन् । राउटेले प्रधानमन्त्रीलाई आफ्नो बस्तीमा आएर एकरात विताईदिन पनि निम्तो गरे ।

‘हाम्रो बस्तीमा प्रधानमन्त्री आए भने हामी राउटले जे खान्छौं, त्यही खाना खुवाउँछौं’, केही महिना यता सल्यानको कजेरी ८ स्थित जंगलमा बस्दै आएका राउटेका मुखिया मैनबहादुर शाहीले भने, -’उनले मासु खाने रहेछन भने बाँदरको मासु खुवाउँछौ ।’

केहीदिन अघि दाङमा आयोजित एक कार्यक्रममा पुगेका राउटेले प्रधानमन्त्रीलाई आफ्नो बस्तीमा आउन निम्तो दिए पनि अहिलेसम्म केही खबर नआएको मैनबहादुरले सुनाए । उनले भने ‘एक दिन भए पनि सँगै बसेर हाम्रा दुःख प्रधानमन्त्रीलाई देखाउने रहर छ ।’ प्रधानमन्त्री आउने खबर पाए गाउँबाट सामग्री मागेर ल्याई स्वागत गर्ने उनको भनाई उदृत गदै अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

भियतनामका अध्यात्मगुरु चिङ हाईले पठाइदिएका सहायता सामग्री बुझ्न शनिबार सदरमुकाम खलंगा आइपुगेका राउटेले प्रधानमन्त्रीलाई आफ्नो बस्तीमा बास बसाउने इच्छा व्यक्त गरेका हुन् ।

क्यासियरको योजनामा बैंक लुटियो




दाङ, पुस १० - दाङको तुलसिपुरस्थित
बैंक अफ
काठमाडौको शाखामा त्यहीं कार्यरत
क्यासियर खगेन्द्र बस्नेतले
लुटेको रहस्य खुलेको छ ।
बैंकको रकम
हिनामिना गरेपछि हिसाब मिलान
गर्न नसकी काठमाडौंबाट
लुटेरा बोलाएर बैंक लुटेको रहस्य
खुलेको हो । शुक्रबार बैंकबाट २ करोड
६ लाख ३३ हजार ८ सय ४४
रुपैयाँ लुटिएको थियो । तीन
जनाको समूहमा रहेका लुटेराहरुले
बैंकका कर्मचारीहरुलाई बाँधेर रकम
लुटेको कर्मचारीहरुले बताएका थिए ।
लुटपाट शंकास्पद भन्दै प्रहरीले
बैंकका कर्मचारीलाई
नियन्त्रणमा लिएर अनुसन्धान
गर्दा प्रहरीको नियन्त्रणमा रहेका बस्नेतले
काठमाडौंबाट तीन जना व्यक्तिलाई
बोलाएर लुटपाट गरेको स्विकार
गरेका छन् ।
काठमाडौबाट
बोलाइएका लुटेराहरुलाई करिब २५
लाख रुपैयाँ खुवाएको प्रहरी स्रोतले
बताएको छ । प्रहरी नियन्त्रणमै
रहेका बस्नेतको बयानका आधारमा लुकाई
राखेको अबस्थामा ८६ लाख ८९ हजार
नगद बरामद गरिएको छ ।
बस्नेतका भाई नाता पर्ने पूर्व
निजि चालक मानपुर ९ घर भई
तुलसिपुर ४
शिबनगरमा डेरा गरि बस्ने अमर
बोहराको कोठमा बोरा, ओछ्यान,
गाग्री र सिरानीमा लुकाएर
राखेको अबस्थामा उक्त रकम
फेला परेको हो । बोहराले
आजभोलि कुमारी बैंकको गाडी चलाउँदै
आएका थिए ।
बिभिन्न समयमा गरि बस्नेतले
बैंकको करिब ८५ लाख
रुपैयाँ हिनामिना गरेको र हिसाब
मिलान गर्न अप्ठ्यारो भएकाले
लुटपाटको नाटक गर्नुपरेको बस्नेतले
प्रहरीलाई बताएका छन् । बस्नेतले
रकम जम्मा गर्न
गएका व्यक्तिहरुको रकम
पनि खातामा जम्मा नगरी आफै प्रयोग
गर्ने गरेको खुलासा भएको छ । बैंकबाट
२ करोड ६ लाख बढी लुटिएको भनिए
पनि केही रकम पहिले नै निकालेर
हिसाब मिलाउन
अप्ठेरो परेपछि नाटकिय
शैलिमा लुटपाट
गरेको जिल्ला प्रहरी प्रमुख
एसपी लोकेन्द्र मल्लले बताए ।
त्यस्तै क्यासीयर बस्नेतकै साथमा उनले
काटेको ९ लाख ९० हजारको चेक
पनि प्रहरीले बरामद गरेको छ । यस
घटनाबारे प्रहरीले
बिस्तृतरुपमा पत्रकारहरुलाई
औपचारिक जानकारी गराएको छैन् ।
घटनाका बारेमा अनुसन्धान गर्न
क्षेत्र, अञ्चल, जिल्ला, इलाका, सशस्त्र
प्रहरी र केन्द्रीय अनुसन्धान
ब्युरोको टोली पनि दाङमा रहेको छ

बाबुरामको धुन्धुकारि अवतार


शक्तिमा भएको व्यक्ति सबैको प्रिय हुन सक्दैन। मानिसले सबैभन्दा बढी शत्रु कमाउने भनेकै 'पावर'मा हुँदा हो। प्रधानमन्त्री डा. बाबुराम भट्टराई जति बेला पार्टीको नेतामात्र थिए, उनी धेरैका 'डार्लिङ' थिए। कतिपयका त 'आइडल नेता' थिए उनी। विद्वान नेताको विशेषणले विभूषित थिए उनी। शहरमा उनी किंवदन्तीका पात्रजस्ता थिए। कुनै आकर्षक भवन ठडियो भने यो डा. बाबुराम भट्टराईले डिजाइन गरेको रे भन्दै चिया गफ चुट्नेहरू थुप्रै भेटिन्थे। हरेक एसएलसी परीक्षामा उनको स्मरण हुन्थ्यो। उनी एसएलसीका बोर्ड फर्स्ट थिए। भट्टराईले देश चलाउने सिटमा बस्न पाए त रातारात यो देशको भाग्योदय गरिदिन्छन् भन्ने विश्वास धेरैलाई थियो।
तर, धेरैले आशा गरेका उही व्यक्ति अहिले धुन्धुकारि पो बन्ने हुन् कि भन्ने भयपूर्ण शंका बढेर गएको छ। जतिबेला डा. भट्टराई शपथ खाएर प्रधानमन्त्रीको कुर्सीमा बस्दै थिए, उनको अनुहारमा गम्भीरता थियो। उतिबेला उनले भनेका थिए, 'शान्ति र संविधानको काम अघि बढेन भने हनिमुन पिरियड त के ४५ दिनमै कुर्सी छोड्छु।' तर, उनले संविधान नलेखी संविधानसभा भंग हुने अवस्था आउँदासम्म कुर्सी छोडेनन्। केही सय माओवादी लडाकुलाई सेनामा भर्ना गर्न सफल भए पनि दिगो शान्तिको आधार संविधान, संघीयता, राज्यको पुनःसंरचनालगायत थुप्रै विषयको बिस्कुन फिँजाएर डा. भट्टराई सत्ताको टिम्बा सिरकमा गुटमुटिएका छन्।
प्रधानमन्त्री डा. भट्टराईले बेलाबेलामा व्यक्त गरेका विचारहरू स्मरण गर्ने हो भने उनी त्यति सजिला छैनन् भन्ने बुझ्न सकिन्छ। उनी कहिले भीमसेन थापा हुन तयार छु भन्थे भने कहिले गोली खान्छु तर बालुवाटार छोड्दिन भन्थे। अहिले जंगबहादुर बन्ने लालसा पनि पलाएको हो कि भन्ने शंका उनकै प्रतिक्रियाले उब्जाएको छ। सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले दलहरूलाई दिएको गृहकार्य बुझाउने बेलामा प्रधानमन्त्री डा. भट्टराईले कुर्सी नछाड्ने अड्डी लिएपछि सहमतिको प्रहसन अझै केही समय लम्बिने भएको छ। पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग भएको सहमति अनुसार कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने बाटो खोल्न गरेको आग्रहलाई डा. भट्टराईले ठाडै अस्वीकार गरिदिएका छन्। जनवादी केन्द्रीयताको सिद्धान्त घोकेर हुर्किएका भट्टराईले पार्टी नेतृत्वप्रति देखाएको कडा रबैयाले एकीकृत नेकपा माओवादीभित्रको विगतको फलामे अनुशासन छिन्नभिन्न भइसकेको प्रस्ट भएको छ। अध्यक्ष प्रचण्डले 'मैले सकिनँ तपाईंहरूले मनाउनुपर्‍यो' भन्दै कांग्रेस-एमाले गुहार्नुपर्ने अवस्था आउनु निश्चय पनि एमाओवादीका लागि शुभ संकेत होइन।
जब एनेकपा माओवादी एक ढिक्का थियो, त्यतिबेला अध्यक्ष प्रचण्ड आफ्ना राजनीतिक गुरु मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईको बीचमा बसेर बहुत सन्तुलित तरिकाले राजनीतिक डुंगामा सयर गर्थे। जता बढी आड लाग्दा फाइदा हुन्छ, उतै अडेस लाग्दै प्रचण्डले सशस्त्र विद्रोहदेखि शान्तिपूर्ण राजनीतिको तलाउमा पौडिएका थिए। धेरै पटक उनले पौडी पोखरीमा आफूलाई कुशल स्विमरका रूपमा प्रमाणित गर्न पनि सफल भएका थिए। तर, उनको सन्तुलनको 'लेबल' बिग्रन थालेपछि वैद्य पाखा लागे। धोबीघाटमा प्रचण्ड धुलाइ गरेपछि बाबुराम सत्ताको 'हट सिट'मा पुगे तर त्यहाँ पुर्‍याउनेहरू सत्ताको न्यानोतिर नलाग्दै बाहिरिए। कुर्सीमा पुग्ने बित्तिकै बाबुराम धोबीघाटका मित्रहरूको 'डार्लिङ' बन्न सकेन। उनी प्रचण्डका भए।
कुर्सी नछोड्ने डा. भट्टराईको अड्डीलाई लिएर उनको चौतर्फी आलोचना भइरहेको छ। तर, यसको भित्री पाटोको बारेमा भने कमै चर्चा छ। अध्यक्ष प्रचण्डले पटक-पटक भन्दै आएका थिए, 'बाबुरामजी त इमोसनमा आएर छोड्दिउँ भन्नुहुन्छ तर म हुँदैन भन्छु। सबै कुरा नमिल्दासम्म बाबुरामजीले छोड्दा प्राप्त उपलब्धि संस्थागत नहुँदै खतम हुन्छ कि भन्ने डर हामीलाई छ।' प्रचण्डले धेरै फोरमहरूमा यसो भनेका थिए। सुशील कोइराला प्रधानमन्त्री हुने हो भने संघीयता, राज्यको स्वरूप लगायत विषयमा अग्रिम सहमति हुनुपर्ने प्रस्ताव गर्ने पनि प्रचण्डै हुन्। यी विषयमा सहमति नहुँदै सुशीललाई प्रधानमन्त्री दिन नहुने डा. भट्टराईको तर्क छ। जे भए पनि प्रधानमन्त्रीको पछिल्लो अडानले सहमति नजिक पुगेको राजनीति फेरि बिथोलिने अवस्थामा आइपुगेको छ।
दलहरूले जति घाँटी निमोठ्न खोजे पनि जनता लोकतान्त्रिक पद्धतिको पक्षमा छ। आजको खुला दुनियाँमा कसैले पनि जनतालाई बाइपास गरेर शासन चलाउँछु भनेर सोच्नु व्यर्थ छ। राष्ट्रपति डा. रामवरण यादव हुन् या प्रधानमन्त्री भट्टराई कसैले पनि सत्ताको डाडुपन्युँ जनताको अनुमतिबिना एक्लै चलाउन सक्दैनन्। प्रधानमन्त्री भट्टराईले यी कुरा बुझेकै हुनुपर्छ। अहिले कांग्रेस र एमालेलाई परिवर्तनविरोधीका रूपमा हेर्न थालिएको छ। यी दुई दलले यसलाई 'क्लियर' गर्नुपर्ने देखिन्छ। जनताले खोजेको परिवर्तनको एजेन्डालाई पाखा लगाएर अब कोही पनि टिक्न सक्ने अवस्था छैन। संघीयता, राज्यको पुनःसंरचना, धर्मनिरपक्षेता जस्ता विषयमा कांग्रेस एमालेले जिब्रो चपाउन पाउँदैनन्। 'भैँसीसँग जोगी डरा, जोगीसँग भैँसी डरा'को स्थितिबाट दलहरू बाहिर आउनुपर्छ। नयाँ निर्वाचनका लागि मसक्कै आँटेर अघि बढ्ने हो भने प्रधानमन्त्रीको कुर्सीका लागि यतिबिघ्न रडाको मच्चिने नै थिएन। बाबुरामले सम्मानजनक 'एक्जिट' भनिरहेका छन्। मधेसी मोर्चा पनि त्यसै भनिरहेका छन् भने निर्वाचनको नयाँ मितिमा सहमति गरेर उनलाई कुर्सीबाट हटाउँदा आकाशै खसिहाल्दैन। तर, प्रधानमन्त्रीको व्यवहारले विपक्षीहरू तर्सेका छन्। सबै काम गरिसकेपछि पनि बाबुरामले छोडेनन् भने के गर्ने? वास्तवमा प्रतिपक्षको दम अर्थात् 'गोलीगाँठो' हेरेर नै प्रधानमन्त्रीले अड्डी लिएका हुन्। प्रतिपक्ष साँच्चै कसिने हो भने कामचलाउ भइसकेका बाबुरामलाई कामबाट अवकाश दिन गाह्रो छैन। प्रतिपक्ष पालो र भाग खोज्ने प्रवृत्ति नत्यागेकाले नै अलमलमा परिरहेका छन्।

राष्ट्रपति र दाहाल दुवैले भने- भट्टराई


 
राष्ट्रपति रामवरण यादवले सबै दलहरू वर्तमान सरकारमै सहभागी भए 'सुनमा सुगन्ध हुने' बताएका छन् । 'सहमति भयो भने यही सरकारमा सबै प्रतिनिधि भए सुनमा सुगन्ध हुने थियो,' पोखरामा शनिबार एड्स सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले भने, 'यो सरकारमा नबसे भने अर्को सरकार बनाए पनि हुन्छ । तपाइर्ंहरू मिलेर आउनुहुन्छ भने वैशाखमा चुनाव हुन्छ ।'

 सरकारले वैशाखमा चुनाव गराउने घोषणा गरिसकेकाले सरकार र दलहरूबीच सहमति गराउन पहल भइरहेको उल्लेख गर्दै उनले आफ्नो काम राजनीतिक दलहरू र सरकारलाई मिलाई सहमति गराएर लैजाने भएको बताए ।

सहमति हुन नसक्दा मुलुकमा स्थिर राजनीति चाहनेहरू दुःखी भएको राष्ट्रिपतिले बताए । 'मलाई दुःख लागिरहेको छ, नेपाली जनता जो न्युट्रल छन्, तिनलाई दुःख लागेको छ,' उनले भने ।

राष्ट्रपति यादवले राजनीतिक स्थिरताबाट मात्रै आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रको विकास हुने बताए । 'स्वर्ग बनाउन नसके पनि नर्क नबनाउ“m,' दलहरूलाई इंगित गर्दै उनले भने । 'राजनीतिक उतारचढाव र अस्थिरताले देश यो परिस्थितिमा पुगेको हो,' उनले भने, 'राजनीतिक स्थिरता नभएसम्म शासन, आर्थिक, सामाजिक अवस्था ठीक हुँदैन ।'

नेपालमा २००७ र ०४६ सालमा प्राप्त परिवर्तनकारी उपलब्धिलाई संस्थागत गर्न नसकिएको दुखेसो गर्दै उनले ०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे ।

'सात सालको आन्दोलनपछि सत्र सालमा फर्कियो । त्यसलाई सिस्टमाइज्ड गर्न सकेनौं । ०४६ सालमा परिवर्तन भयो त्यत्रो, त्यसलाई पनि हामीले गुमायौं,' उनले भने, '०६२/६३ -जनआन्दोलन) मा नेपाली जनताले त्यत्रो ठूलो परिवर्तन गरे । सारा काम शान्तिपूर्ण ढंगले गर्‍यो भनेर अमेरिकाजस्तो मुलुकले नेपाललाई स्यालुट गर्‍यो । तर नेपालका पार्टीहरू परिवर्तन गर्छन् तर व्यवस्थापन गर्न सक्दैनन् । त्यसैले हामीले अवसरलाई मिस नगरौं ।'

कार्यक्रममा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले दलका नेताहरूबीच प्रधानमन्त्री बन्ने होड रहेकाले अबको एक साताभित्र पनि सहमति हुनेमा आफू विश्वस्त नरहेको बताए । 'प्रधानमन्त्रीको कुर्सी एउटा छ, दलका नेताहरू धेरै छन्, सबैलाई प्रधानमन्त्रीको कुर्सी चाहिएको छ,' उनले भने, 'यस्तो अवस्थामा कसरी सहमति हुन्छ ? मलाई धुकचुक लागिरहेको छ ।'

शंकास्पद मान्छेसित हिसिलाको विशेष संवन्ध




हिसिला म्यामले मलाई फ्रेण्ड रिक्वेष्ट पठाएकी रहिछन् । म सोचमग्न भएँ । निकै वेरसम्म दिमाग खराव भयो । धुमील हुन लागिसकेका अतितका पानाहरु एकपछि अर्को तँछाड मछाड गर्दै आँखा अगाडि सल्वलाउन थाले । ०६२ / ०६३ को आन्दोलन अगाडि अर्थात “ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अन्तर्गत” भन्दै कसैलाई एक तह झार्दै त कसैलाई एक तह उकाल्दै थिए । कसैलाई भने विशेष अवस्था भन्दै उही तहमा विराजमान गराउँदै पुष्पकमलले वर्षमान पुनलाई उपत्यका र ताम्सालिङ्गलाई विशेष कमाण्ड भनेर यहाँको प्रमुख वनाएर पठाउदा म चार आर्कमा विभाजित उपत्यकाको उत्तरी आर्कको इन्चार्ज थिएँ । कार्यालयको पनि जिम्मा थियो । अनन्तको प्रवेश पश्चात उपत्यकाको कार्यालय सचिवको मात्र जिम्मेवारी दिइयो । “प्रत्याक्रमणको चरण, उपत्यकामा अन्तिम लडाइँ लड्ने तयारी , ढाडमा टेकेर टाउकोमा हान्ने के के हो के के भनियो ।

अधिकांश कार्यकारी पदमा रणनैतिक सोचका साथ आफ्ना हनुमानहरुलाई सेटिङ्ग गरिएको रहेछ । अवको अवस्थामा कार्यालयको कामको महत्व भनेर फुलबुटा भर्ने काम भयो । मैले पत्याएँ । त्यसपछि मैले आफ्नो क्षमताले भ्याए अनुसार निर्देशन मुताविक काम गरें । ०६२ / ०६३ को आन्दोलन पछि मलाई तिनवटा जिम्मेवारी दिइएको थियो । १. राज्यद्धारा वेपत्ता परिवार समाजको कोर्डिनेशन गर्ने । २. उपत्यकामा भएका अल्पसंख्यक जातीय मोर्चाको संगठन र संयोजन गर्ने । ३. उपत्यका व्यूरोको कार्यालय सचिवको जिम्मेवारी ।

सातदोवाटो नजिकैको एउटा पार्टी प्यालेसमा भएको वेपत्ता परिवार समाजको प्रथम राष्ट्रिय भेलामा वर्षमान पुनले थर्काएको अहिल्यै जस्तो लाग्छ । “हामी आईसक्यौं । सुरु गछौं ।“ तर प्रतिवेदन म तयार गर्दै थिएँ । भेला ११.०० वजे पुष्पकमल दहालले उद्घाटन गर्ने भनिएको थियो । अघिल्लो दिन मात्र वर्षमानले मलाई भिमसेन गोला नजिक रहेको उनको कोठामा वसेर अन्तरवस्तु यो यो रहने गरी प्रतिवेदन तयार गर्न भनेका थिए । प्रतिवेदनको तयारीका साथै अन्य काममा लाग्नु परेकाले म उनीहरु भन्दा अगाडि पुग्न सकेको थिइन ।

यसरी केही समय वितेपछि हिसिलालाई भ्यालीको सहइन्चार्ज वनाएर ल्याइयो । म हिसिलासँगै बस्ने कुरो भयो । वनस्थली चोक नजिकै उनको फुपूको छोरीको घरमा तिन कोठा भाडामा लिएर हामी चार जना स्थायी रुपमा बस्न थाल्यौ । म, हिसिला, नारायणदेवी (हिसिलाको सहयोगी ) र उनको मोटरसाइकल चलाउने ड्राईभर (मिलन) । त्यतिखेर पुष्पकमल र वावुरामहरु एकै खालका लुगा लगाएर होटल होटल चाहारेर बस्ने गर्थे ।

पार्टीमा सबै कुरा ठिक छ । सबै नेताहरु जनताप्रति इमान्दार छन् । हिजोका गुटफुटको स्थिति अन्त्य भइसक्यो । अन्तिम मोर्चा लड्न सबै नेताहरु काठमाण्डौंमा जमघट भएको भन्ने नेताहरुको आन्तरिक स्कुलिङ्गप्रति म पूर्ण विश्वस्त थिएँ । तर सबै कुरा खुल्ला । संगठन खुल्ला । नेताहरु खुल्ला । अन्तिम लडाइँको तयारीको काम सून्य । जनमुक्ति सेना थनक्याउने प्रक्रिया तीव्र । के हो जस्तो भने अवस्यै लाग्थ्यो । यत्रो क्रान्तिको प्रक्रियालाई यहाँ सम्म ल्याउने लिडरशीपको यो समूहले धोका दिनै सक्दैन भन्ने विश्वासले अन्य आशंकाहरुलाई नियन्त्रण गर्थ्यो ।

हिसिलासँगका सहकार्यका सुरुका दिनहरुदेखि नै मैले असहज महसुस गर्नथालें । खास गरी खासखास मान्छेसँगको उनको विशेष सम्वन्ध मेरालागि असहज भयो । पार्टीमा गुट छैन भन्ने मेरो विश्वास र हिसिलाको क्रियाकलापमा वेमेल थियो । उनको विशेष मान्छेको फोन आउँदा उनी खान लागेको खाना छोडेर आफ्नो कोठाभित्र लुसुक्क पस्थिन । ढोका थुनेर फोन गर्थिन् । त्यहाँ आउने, वस्ने, खाने मान्छेको उपस्थिति हेर्दा लाग्थो “त्यो उपत्यकाको पार्टीको पुरै अधिकार प्रत्यायोजन गरिएको माओवादीको कार्यालय नभएर हिसिलाको गुट कार्यालय हो ।” म कार्यालय सचिव । आवश्यक काम सबै गर्थें । उनको सुरक्षाको नैतिक भौतिक जिम्मेवारी पनि मेरो काधमा थियो । भोलि केहि भइहालेको अवस्थामा त म नै सबभन्दा पहिला कठघरामा उभिनुपर्ने हुन्थ्यो । सायद विशेष मान्छेसँगको भेटघाटको चाप त्यहाँ निकै वढेको महसुस भएपछि उनी भेटघाटलाई आफन्तकोमा सार्थिन् ।

अक्सर त्यस प्रकारको भेटघाट बनस्थली चोक नजिकै रहेको उनकी दिदी न्हूच्छे शोभाको घरमा हुने गर्थ्यो । एक दिन म वाहिरबाट कोठामा पस्दै थिएँ । उनलाई ढोकैमा भेटें । उनी केही हड्वडाए जस्ती भइन । मैले “कहाँ जान लाग्नु भयो दिदी ? मपनि जान्छु” भनेर पछि लाग्न खोज्दा उनले “यहाँ नजिकै । पर्दैन” भन्दै वाटो क्रस गरिन । मलाई चिन्ता लाग्यो “केहि भइहाल्यो भने त ?” म उभिएर उनी गएको वाटोतिर हेरिरहेँ । उनका पाइलाहरु उनकी दिदीको घरतिर सोझिए । म अलि ढुक्क भएँ । लगत्तै मेरा आँखा देवेन्द्र पौडेल ‘सुनिल’ माथि पर्यो जो हिसिला लागेको वाटोतिर आफ्ना पाइला डोर्याउँदै थिएँ । मलाई दिनप्रतिदिन असहज महसुस वढ्दै गइरहेको थियो ।

उनकी सहयोगी नारायणदेवी श्रेष्ठ जो हाल नेवाः राज्य समिति सदस्य हुनुहुन्छ, पक्का सहयोगीको रुपमा काम गर्नुहुन्थ्यो । नुहाइदिने, पानी तताएर वाथरुममा पुर्याउनेदेखि हिसिलाको भित्रि कपडा सम्म धुनुहुन्थ्यो । हिसिला कहिल्यै आफ्ना कुनै कपडा धुदैनथिन् । नेता र कार्यकर्ताको भन्दा मालिक्नी र नोकर्नीको जस्तो सम्वन्ध देखा पर्यो । मलाई असैह्य भयो । समानताको संग्राममा लड्दै भिड्दै आएको एक सदस्यको हैसियतले मैले नारायणदेवीलाई बोलाएर “यसरी भित्री कपडा नधोउ” भनें । उनले हिसिलालाई भनिदिइछन् । त्यपछि हिसिलाले मसँग स्पष्टिकरण लिइन । मैले सामान्य अवस्थामा हरेक कम्यूष्ठि पार्टीका सदस्यको आचरण यस्तो हुनुपर्छ भनेर आफूले जाने सिकेको कुरा राखें । उनी आगो भइन । त्यपछि सुरु भयो मलाई अनावस्यक दुःख दिने प्रक्रिया ।

एक दिन मलाई ज्वरो आएको थियो । म बास स्थानमा नजाने सोचले सुकेधारामा बसेको थिएँ । हिसिलाले फोन गरिन । मैले आफ्नो अवस्था र बसेको स्थान बताएँ । उनले आफ्ना लागि डायरी किन ल्याईदिन भनिन । मैले आफुलाई ज्वरो आएकोले मिलन (उनको ड्राइभर) लाई एउटा राम्रो खालको डायरी किनेर ल्याइदिन भन्छु भनें । उनले “तपाइँलेनै ल्याइदिनु पर्छ । भोलि ६.०० वजे जसरी पनि यहाँ ल्याइपुर्याइ दिनु । म अरु कुरा जान्दिन ” भनिन् । म लगभग ६ महिना जति हिसिलाको कार्यालय सचिव भएर वसें । विविध अनुभूति गरेँ । त्यतिखेर पचाउन मलाई निक्कै गारो भए पनि यो मेरा लागि महत्वपूर्ण नकारात्मक नीधि हो । यो भविस्यको लागि निकै कामयावी हुनेछ ।

अँ, म फेसवुकको कुरा गर्दै थिएँ । मलाई तिमीले फ्रेड रिक्वेष्ट पठाएकी छौ, हिसिला । यो विचमा सबैले छर्लङ्ग देख्ने गरी तिम्रो र मेरो वर्ग सामान्य रुपमा होइन आमूल परिवर्तन भएको छ । तिम्रा स्वदेश र विदेशवाट झिकाइएका, ल्याइएका, उपहारका नाममा घुस स्वरुप पाइएका गहना र वस्त्र नै एकै ठाउँमा थुपार्ने हो भने वालुवाटारको चारवटा कोठामा नअट्ने भइसक्यो होला । तर म एउटा न्यानो स्वीटर किन्न सकेको छैन । कहिले काँही १५ रुपैयाँ साथमा नभएर दुइ घण्टाको बाटो हिँड्छु । तिमी र तिम्रा आसेपासेका चिल्ला गाडीको धुँवा धुलोले मलाई रङ्ग्याउने गर्छन् । तिमी ५ करोड भन्दा माथिको घर खोज्न कालो पुलतिर पुगेकि रहिछौं । तिमीले तिम्रो र तिम्रा आफन्तका लागि के के गर्यौ जगत विज्ञ छ । यहाँ उल्लेख गरे मात्र पुग्छ । विस्तार गर्न आवस्यक छैन् ।

हिसिला म्याम, कम्यूनिष्ठको नामको कलंक हौ तिमी । यत्रा मान्छेलाई मुक्तिको सपना देखाएर मर्न लगायौ । वेपत्ताका आफन्तजनले मान्छे वेपत्ता कार्यमा प्रत्यक्ष संलग्नलाई कार्वाहीको माग गर्दै तिम्रो दैलो अगाडि आउँदा पुलिस लगाएर लाठी र बुट बर्सायौ । सडक दुर्घटनामा मरेकाको परिवारलाई दिइने जति राहत पनि युद्धमा सहिद भएकाका परिवारले पाएका छैनन् ।

अहिले आएर सर्वहारा वर्गीय अधिनायकत्व, गुणात्मक परिवर्तन, वल प्रयोगको अपरिहार्य सिद्दान्त सुदुर विषय बने । यही संसदीय आहालमा डुव्नु रहेछ त किन यत्रा अमुल्य जीवनसँग खेलवाड गर्‍यौ ? केही नयाँ दलाल जन्माउनलाई ? अतः हिसिला म तिमिलाई तीव्र घृणा गर्छु । तिम्रो र मेरो रुप, रंग, आकार, प्रकार, अधार केही मिल्दै मिल्दैन । यदि यो संसारमा कसैले कसैलाई गर्ने घृणा मापन गर्ने यन्त्र हुन्थ्यो भने मैले तिमीलाई गर्ने घृणाले सगरमाथालाई माथ गर्छ भनेर पुष्टि गर्न सक्ने थिए । तर ….. । त्यसैले तिमीलाई साथीको रुपमा स्वीकार्न सक्तिन हिसिला, सक्तिन ।

(जयन्ति लुइँटेलको फेसबुकबाट लिईएको हो ।)

प्रचण्डकै अगाडि कामरेडहरु घुँक्क घुँक्क




एकिक्रित नेकपा माओवादीको बेल्जियमस्थित भात्री संगठन जनप्रगतिशिल मञ्चको अधिबेशनका क्रममा माओवादी कामरेडहरु अध्यक्ष प्रचण्डलाई साक्षी राखेर घुँक्क घुँक रोए । एकछिन रुवाबासीनै चल्यो । प्रचण्डस्वयं मलिन अनुहार लगाएर टोलाइराखे ।

मञ्चले अक्टोबर १४ का दिन अधिबेशन राखेको थियो । अधिबेशनमा को को नेत्रित्वमा आउने ? कसरि पार्टी सञ्चालन गर्ने ? कार्यकर्ता कसरि परिचालन गर्ने ? युरोपमा नेकपा माओवादीको सञ्जाल कसरि निर्माण गर्ने ? यस्तै आन्तरिक छलफलकालागि चित्र सुबेदीको घरमा आन्तरिक बैठक थियो ।

अधिबेशनकालागि बिभिन्न मुलुकबाट आएका कामरेडहरु प्रचण्डलाई साक्षी राखेर घुरुप्प बसे । देशको समसामयिक विषयमा छलफल चल्यो । धेरै कामरेडहरुले पार्टी फुटको कारण सोधे । पार्टीमा नेता सोखिन भएको, मधेशी दललाई साथमा लिएर सरकार चलाउँदा पार्टीको बदनाम भएको, पार्टीका त्यागि कार्यकर्ताहरुको बिजोक भएको । यस्ता गुनासा राखे । सबैभन्दा बढि गुनासो उठ्यो, नेपाली सेनाका राजु बस्नेत जो माओवादी नेताको हत्यामा संल्ग्न र यातना दिने हुन्, उनैलाई किन पदोन्नती गरियो ? यसपछि कामरेडहरुको रुवाबसी चल्यो ।

यस विषयलाई सबैभन्दा बढि सोध्ने थिए, डेनमार्क निवासी उदय गौतम । उनले ‘कामरेड के यस्तो गर्नु भो ? हाम्रा कामरेडहरुकै हत्या गर्नेलाई किन पदोन्नती गर्नु भो ? पहिले त हाम्रो सरकार आएपछि कारवाही गर्छ पार्टीले पो भन्नुहुन्थ्यो । अहिले हाम्रै सरकारले जनताका हत्यारालाई पदोन्नती गर्ने ? जनताको रगतको उपहास भो कामरेड ।’ यति भन्दाभन्दै उनी घुँक्क घुँक्क रोए । उनी शहिद परिवारका सदस्य हुन् । गौतमका सहोदर भाइ क्रिष्ण गौतम जनयुद्दका क्रममा सेनाको कारबाहीमा वागलुङमा मारिएका थिए । क्रिष्ण माओवादीको जन आदलतका न्यायधिश थिए । उनी रोएपछि केहि बेर हल स्तब्ध बनेको बैठकमा सहभागि जनप्रगतिशिल मञ्चका एक कार्यकर्ताले सुनाए । आन्तरिक बैठकमा सबैभन्दा बढि यहि विषयमा प्रश्न उठाएका थिए ।

त्यसपछि प्रचण्ड आफैंले गौतमलाई सम्झाए । प्रचण्डले यो जिज्ञासाको जवाफ दिन थाले । प्रचण्डको भनाई थियो, हामीले नेपाली सेनालाई जनयुद्दमा यातना दिएको र हत्यामा संलग्न भनेर कारवाही गर्‍यौं भने सेना बिच्किन्छ । सेनाले हामीलाई साथ दिँदैन । हामीले त्यो रिसिबी साँध्यौं भने हामीलाईपनि युद्दकालका अनेकैं घटना उरालेर हत्याराको रुपमा दर्ता गराउँछन् । हाम्रा थुप्रै मुद्दा अहिलेसम्म ज्युँका त्युँ छन् । हामीले सेनामाथि कारबाही गरे हामीलाईपनि अन्तर्राष्ट्रिय अदालतमा हत्याराका रुपमा उभ्याउँछन् । म, बाबुरामजी लगायत थुप्रै कामरेडहरु हेगमा उपस्थित हुनुपर्ने हुनसक्छ ।”

प्रचण्डलाई तत्कालै जवाफ दिन त सकेनन् उनका कार्यकर्ताले । तर आन्तरिक बैठकमा सहभागि एक कार्यकर्ताले भने ‘ए जनताका छोराछोरीलाई युद्दमा होम्ने । अर्काका छोराछोरीको चाहिँ हत्या गराउने । आफुहरु चाहिँ अदालतमा उभिनुपर्ला भनेर त्यत्रो पिर रैछ प्रचण्ड र बाबुरामलाई । जहाँपनि नेताले जनताका छोराछोरीलाई प्रयोग मात्रै पो गर्ने रैछन् ।”

अहिले नेपाली कांग्रेस र एमालेले जसरिपनि माओवादीलाई सरकारबाट हटाउने, आफ्नो सरकार बनाउने, संविधानपनि नबनाउने र निर्वाचनपनि नगर्ने योजना बनाएकाले अहिलेको अवस्थामा पार्टीले कुनैपनि हालतमा सरकार नछोड्ने प्रचण्डले बताएका थिए । उनले नेपाली सेनालाइ बिच्काएर, रिसिबी साँधेर भन्दा सरकारमै बसेर प्रयोग गर्नुपर्ने तर्क राखेका थिए । चितवनको माओवादी सैन्य क्याम्पबाट प्रचण्डको भिडियो टेप सार्वजनिक भएको द्रिष्टान्त दिँदै त्यस साँझ कसैलाईपनि फोटो खिच्न र रेकर्ड गर्न दिईएको थिएन । गेटमा कडाईका साथ जाँच गरेर भित्र छिराइएको थियो । पार्टी कार्यकर्ताहरुलाई पार्टीका आन्तरिक छलफलहरु बाहिर सार्वजनिक नगर्न आग्रह निर्देशनसमेत दिईएको थियो ।