प्रधानमन्त्री भट्टराई-अस्ट्रेलियन प्रधानमन्त्री गिलार्डबीच भेट

juliaरियो दि जेनेरियो (ब्राजिल), असार ९ - अस्ट्रेलियन प्रधानमन्त्री जुलिया गिलार्डले नेपालको विकासका लागि आगामी दिनमा अझ सहयोग बढाउने बताएकी छन् । दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका लागि ब्राजिलमा रहेका प्रधानमन्त्री डा बाबुराम भट्टराईसँगको भेटमा अस्ट्रेलियन प्रधानमन्त्रीले बताएकी हुन् ।
अस्ट्रेलिया सरकार नेपालमा आगामी दिनमा सहयोग बढाउन तयार रहेको र नेपालको आर्थिक समृद्धि होस् भन्नेमा आशावादी रहेको प्रधानमन्त्री गिलार्डले बताएको प्रधानमन्त्री डा भट्टराईले जानकारी दिए ।
नेपालको पर्यटन, जलविद्युत् क्षेत्रमा सहयोग अभिवृद्धि गर्न तयार रहेकामा जोड दिँदै आर्थिक समृद्धिका साथसाथै कृषिमा आधुनिकता भित्र्याउनका लागि पनि सहयोग गर्ने वचन उनले दिएको प्रधानमन्त्री डा भट्टराईले बताए ।
त्यस अवसरमा दुई नेताबीच द्विपक्षीय हित र सहयोग आदानप्रदान गर्ने विषयमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलले जानकारी दिए ।
भेटवार्तामा प्रधानमन्त्री भट्टराईले नेपाल शान्तिप्रक्रिया र संविधान निर्माणको सङ्क्रमणकालीन अवस्थामा रहे पनि छिट्टै त्यसबाट मुक्त हुने र त्यसका लागि नेपालका मुख्य सरोकारवाला सचेत भएको जानकारी गराएका थिए । रासस

No comments:

Post a Comment