दबाबमा नपर्न राष्ट्रपतिलाई माधव नेपालको सुझाव

madhav-kumar-nepalकाठमाडौं, जेष्ठ ३२ - पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालले दबाबमा नपर्न राष्ट्रपतिलाई सुझाव दिएका छन् ।
बिहीबार बिहान राष्ट्रपति रामवरण यादवसँग भएको भेटमा नेपालले अध्यादेशबाट सरकारले ल्याएको बजेट प्रमाणिकरण गर्न दबाब आएकाले सोचविचार गरेरमात्रै निर्णय गर्न सुझाव दिएका हुन् । 'राष्ट्रपति संविधानको संरक्षक हो, जथाभावी गर्न मिल्दैन,' उनले भने, 'स्वदेशी, विदेशीले दबाब दिन सक्छन्, त्यस्तो दबाबमा नपर्नू भन्ने सुझाव दिएँ ।'
सरकारले अध्यादेशबाट ल्याउन लागेको बजेट सदर गर्न केही अर्थविद्ले सल्लाह दिएकोमा नेता नेपालले आपत्ति जनाए । उनले सरकारले राजीनामा गरेर मार्गप्रसस्त गर्नुपर्नेमा जोड दिए ।
सहमतिका लागि आफूले र पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएको स्मरण गर्दै नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि राजीनामा दिन सुझाव दिए । 'अझै कुर्सीमा बसेर राष्ट्र डुबाउने काममा लाग्नुहुँदैन,' उनले भने ।
प्रमुख दुई शक्ति कांग्रेस, एमालेसहित माओवादीकै मोहन वैद्य समूह र साना दलसमेत सरकारको विपक्षमा रहेकाले सरकार विघटन गर्नुपर्ने उनको भनाइ थियो ।

No comments:

Post a Comment