चार दल बैठकमा दाहालले भने: सहमति भए राजीनामा गराइदिन्छु

गोविन्द परियार, काठमाडौं, असार ७ -माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच बढेको अविश्वास हटाउन प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा गराउन आफू तयार रहेको प्रतिबद्धता दोहोर्‍याएका छन्। 'माओवादीले सरकारमा टासिरहने उदेश्य राखेको छ भन्ने नपरोस् सहमतिको लागि हामी सरकार छोडन तयारै छौ' दाहालको भनाई उदृत गर्दै बैठकमा सहभागि एमाले नेता भिमरावलले नागरिकसँग भने, 'सहमति अनुसार जान हामी जस्तो सुकै पनि निर्णय गर्न तयार छौ।'

संविधानसभा विघटनपछि पहिलो पटक बुधबार कांग्रेस मुख्यालय सानेपामा बसेको माओवादी, कांग्रेस, एमाले र सयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको बैठकमा दाहालले सहमतिका लागि प्रधानमन्त्रीको राजिनामा गराउने प्रतिवद्धता जनाएका हुन्।
बैठकमा कांग्रेस र एमालेले प्रधानमन्त्रीको राजिनामा नआएसम्म माओवादीप्रति विश्वास गर्न नसकिने धारणा राखेपछि दाहालले सहमति हुने भए प्रधानमन्त्रीको राजिनामा गराउने जनाएका हुन्। 'अहिलेको राजनीतिक र कानुनी संकटको एउटा मात्रै समाधान दलहरुबीचको सहमतिनै हो' बैठकपछि दाहालले संवाददाताहरुसँग भने, 'त्यसको लागि प्रयाश सुरु भएको छ हामी जुन सुकै त्याग गरेर पनि सहमतिको लागि लचक छौ।'
बैठकमा सहभागि कांग्रेसका एक नेताका अनुसार दाहालले चार पक्षबीच सहमति हुने भए प्रधानमन्त्रीको राजिनामा तत्कालै गराउन आफु तयार रहेको धारणा राखेका थिए। 'अहिले हाम्रो दायित्व राष्ट्रिय सहमति कायम गरेर मुलुकलाई अघि बढाउनु हो' दाहालको भनाई उदृत गर्दै ति नेताले भने, 'प्रधानमन्त्रीको राजिनामामै सबै कुरा अड्कने हो भने म राजिनामा गराउन तयार छु छलफललाई नयाँ ढंगबाट सुरु गरौ।'
दाहालले कांग्रेसको पहलमा भएको चार पक्षिय बैठक सकरात्मक भएको बताउदै सहमतिबाटै मुलुकले निकास पाउने बताए। 'कांग्रेसले सहमतिको विकल्प छैन भनेर चारै पक्षलाई बोलाएर छलफलको सुरुवात गरेको छ, यो स्वागत योग्य छ' दाहालले कांग्रेस कार्यलयमा भने, 'अव दलहरुबीचको सहमतिकै आधारमा मुलुकलाई अहिलेको जटिलताबाट अघि बढाउने प्रयाश सुरु भएको छ।'
बैठकपछि एमाले बरिष्ठ नेता माधवकुमार नेपालले जेठ १४ गते जुन विन्दुबाट सहमति तोडिएको थियो त्यहीबाट सहमति खाज्नु पर्ने धारणा बैठकमा आएको बताए। 'जुन ठाउँबाट सहमति तोडिएको थियो त्यही ठाउँबाट सहमतिको खोजि गरिनु पर्छ' बैठकमा आएको धारणाबारे नेपालले भने, किन संविधानसभा विघटन भयो? सहमति विनै किन चुनाव घोषणा गरियो? जस्ता विषयको समिक्षा गरी स्पष्ट भएर सहमति गर्नु पर्छ भन्ने हाम्रो भनाई थियो।'
कांग्रेस एमालेले प्रधानमन्त्रीले पुर्व सहमति अनुसार जेठ १४ गते राजिनामा गर्न नमानेरै दलहरुबीच सहमति हुन नसक्दा संविधानसभा संविधानविनै विघटन भएको धारणा बैठकमा राखेका थिए। 'सहमतिको मुल प्रस्थान विन्दुकै बारेमा हामीबीचमा टुंगो लागेको छैन, प्रस्थान विन्दुमा विश्वास गरेर अघि बढ्न सकिने वातावरण तयार होस्' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, 'माओवादीले किन विगतका सम्झौता कार्यन्वयन गरेको छैन त्यहाँबाट छलफल सुरु गर्नुपर्छ भन्ने हाम्रो धारणा हो।'
उनले दलहरुबीच पछिल्लो समय भएको पाँच बुदे सहमतिलाई टेकेर अहिलेको संकटको प्रस्थान विन्दु खोजिनु पर्ने पनि बताए। 'मुलुकलाई द्वन्द्वबाट बचाई संवैधानिक र राजनीतिक जटिलता फुकाएर संवैधानिक निकाष खोज्न राष्ट्रिय सहमति चाहिन्छ' पौडलले भने, 'तर राष्ट्रिय सहमति कुन विन्दुबाट सुरु गर्ने भन्ने कुरा महत्वपूर्ण भएकाले विगतमा माआवादीले आफुलाई चाहिएको कुरा लिने तर त्याग गर्नुपर्ने कुरा अड्काउने गरेकाले उसलेनै पाँच बुदे सहमति कार्यन्वयन गरी सहमतिको बातावरण बनाउनु पर्ने धारणा हामीले राख्यौ।'
वर्तमान सत्ता समिकरणको मुख्य घटक सयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले पनि दलहरु एक ठाउँमा आउनुको विकल्प नभएको भन्दै सहमति भए प्रधानमन्त्रीले राजिनामा गरेर निकास दिन सकिने बताएको छ। 'असहमति कहाँ छ त्यस अनुसार वार्ताको थालनी भएको छ।
सरकार परिवर्तन लगायतका जुन सुकै विकल्पमा पनि छलफल गर्न हामी तयार छौ' बैठकपछि तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्त ठाकूरले भने, 'सरकार परिवर्तन गर्नै हुदैन भन्नेमा हामी छौनौ।'
संविधानसभा विघटनपछि तीन सातासम्म प्रमुख दलका शिर्ष नेताहरुबीच औपचारिक छलफल भएको थिएन। कांग्रेसले मंगलबार दलहरुबीच वार्ताको अग्रसरता लिने निर्णय गर्दै चार दलको बैठक डाकेको हो। यो बैठकसँगै दलहरुबीच छलफलको औपचारिक सुरुवात भएको छ। राष्ट्रपति रामवरण यादवले तीन दिन अघि प्रमुख दलका शिर्ष नेताहरुसँग कामचलाउ सरकार धेरै दिन नलम्वाउन आग्रह गर्दै दलहरुबीच सहमति गर्न आग्रह गरेका थिए।
प्रतिपक्षी २७ दलले प्रधानमन्त्री र मन्त्री विरुद्ध कालो झण्डा देखाउदै उनीहरु सहभागि कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेपछि चार दलको बैठकमा गृह मन्त्री विजयकुमार गच्छदार र उपप्रधानमन्त्री नारायणकाजि श्रेष्ठ सहभागि थिए।
बैठकमा माओवादी अध्यक्ष दाहाल, कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता नेपाल र मधेसी मोर्चाका नेताहरु सहभागि थिए।

No comments:

Post a Comment