पूर्व सहसचिव सावित्री राजभण्डारी भ्रष्टाचारी ठहर




काठमाडौं, मंसिर १२ - विशेष अदालतले पूर्व सहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ । राजभण्डारीले पदमा रहँदा अकुत सम्पत्ति कमाएको ठहर गर्दै विशेष अदालतले राजभण्डारीलाई १ बर्ष कैद तथा २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ ५९ पैसा बराबर जरिवाना र २ करोड ८६ लाख ४१ हजार ७ सय ४० रुपैया ४२ पैसा बराबरको सम्पत्ति जपथ गर्ने फैसला गरेको हो ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले राजभण्डारीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा २०६४ मंसिर २३ गते तत्कालिन विशेष अदालतले हदम्यादको कारण देखाउदै खारेज गरेको थियो ।

अख्तियारले राजभण्डारीले २ करोड, ९३ लाख, १५ हजार, ३ सय ७ रुपैया ८३ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

। २०२२ साल माघ २३ गते शाखा अधिकृतका रुपमा सरकारी सेवा प्रवेश गरेकी राजभण्डारी भौतिक योजना तथा निर्माण मन्त्रालयको सहसचिवका रुपमा २०५८ भदौ २५ मा सेवा निवृत्त भएकी हुन् ।

ज्ञानेन्द्रको आर्थिक सहयोगमा कांग्रेस, एमालेले आव्हन गरेका आन्दोलनको एकमात्र लक्ष सत्ता कब्ज र प्रतिगमन !




एमाले र कांग्रेस प्रधानमन्त्रीकोकुर्सी प्राप्त गर्न किन मरिहत्य गर्दैछन् । एमाले वा कांग्रेस प्रधानमन्त्री भए पछि निम्न प्रतिगमनकारी कदमहरु लागु गर्ने र २०४७ सालको संविधान विउताउने शर्तमा आन्दोलनको लागी चाहिने करोडौ रुपैया ज्ञानेन्द्रबाट प्राप्त गर्न आर के मैनाली, तारानाथा राना भाट र रमेशनाथ पाण्डे मार्फत कुरा भै रहेको विश्वस्त सुत्रको दावीछ ।

१ गणतन्त्र छोडने राजतन्त्र मान्ने ।

२ संघीयता छोडने एकात्मक केन्द्रीकृत शासन प्रणाली लागु गर्ने ।

३ धर्म निरपेक्ष छोडेर हिन्दुराज्य स्थापना गर्ने ।

४ संविधानसभा पुनस्थापना होइृन, व्यवस्थापिका संसद पुन स्थापना गर्ने ।

५ समानुपातिक निर्वाचन प्रणाली होईन दलले टिका लागई दिएका व्यक्ति मात्र जित्ने पुरानै निर्वाचन प्रणाली लागु गर्ने

६ राज्यको पुनसंरचना नगर्ने, आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, क्षेत्री, अपाङ्गाको प्रतिनिधिको रुपमा शासक वर्गका वाहुनमात्र निर्वाचित हुने महेन्द्रको मोडेलको १४ अञ्चल ७५ जिल्ला कायम गर्ने ।

७ कांग्रेस र एमालेको सरकारले आवश्यक परे सैनिक शासन लागु गरेर भए पनि राजतन्त्र, हिन्दु राज्य र एकात्मक केन्द्रीकृत शासन स्थापना गरेर छाडने ।

८ एमाले र कांग्रेसले सरकार गठन गरेर उत्पीडित आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला र अपाङ्गाले मागेको पहिचान, स्वशासन र समानुपातिक प्रतिनिधित्वको लागि गर्ने आन्दोलनहरुलाइ प्रहरी, सशस्त्र प्रहरी र सेना लगाएर दबाउने ।

अतः सत्ता कब्ज गरेर प्रतिगमनतर्फ उन्मुख हुनको लागि गरिने सबै एमाले, काग्रेस, राप्रपा नेपाल, जनशक्ति, राप्रपाले आव्हन गरेका आन्दोलनहरु वहिष्कार गारौ र गराउ ।

विशलेषण ः आङ काजी शेर्पा, महासचिव, नेपाल आदिवासी जनजाति महासंघ

प्रचण्डमाथी हातपात,एक सर्वसाधारणले गालामा थप्पड हाने


काठमाडौं, मंसिर १ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथीएक सर्वसाधारणले  हातपात गरेका छन् । एमाओवादीको भृकुटीमण्डपमा जारी चियापान तथा शुभकामना कार्यक्रममा प्रचण्डलाई एक सर्वसाधारणले मञ्चमै पुगेर गालामा थप्पड हानेका हुन् । प्रचण्डको चस्मा फुटेको जनाइएको छ ।
हातपात गर्ने बाग्लुंगका पदम कुवर लाई प्रहरीले नियन्त्रणमा लिएको छ  । उनलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ। प्रहरीले नियन्त्रणमा लिनुअघि ती व्यक्तिमाथि युवाहरुले आक्रमण गरेका थिए। आक्रमणबाट उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। यसअघि एमाले अध्यक्ष झलनाथ खनालमाथी इटहरीमा एमाले समर्थकले झपड हानेका थिए भने भने एमाओवादीका सभासद झक्कुप्रसाद सुवेदीमाथि काठमाडौंको तीनकुनेमा चिया पसलेले झाडप हानेका थिए । यस्तै केही समयअघि नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि आफ्नै कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।

मंसिर दोस्रो साता चुनाव मिति घोषणाः प्रधानमन्त्री


काठमाडौं, कार्तिक ३० - प्रधानमन्त्री बाबुराम भट्टराईले मंसिर दोस्रो चुनावको मिति घोषणा हुने दाबी गरेका छन् ।
'मंसिर पहिलो साताभित्र सहमतिमा पुग्छौं,' दिदी थिरकुमारी भट्टराई र बहिनी पार्वती शर्माको हातबाट टिका लगाएपछि प्रधानमन्त्रीले सञ्चारकर्मीसँग भने, 'सम्भवतः मंसिर दोस्रो साता निर्वाचनको मिति घोषणा हुन सक्छ ।'
निर्वाचन आयोगले तयारीका लागि ४-५ महिना समय माग गरेकाले बैशाखमा चुनाव गर्न मंसिर दोस्रो साता चुनाव मिति घोषणा गर्नैपर्ने दबाब रहेको उनले बताए ।
प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिने तयारी भइरहेको बताए । तत्कालिन व्यवस्थापिका संसदबाट निर्वाचित सरकार भएको र नयाँ सरकार बनाउने वैकल्पिक बाटो नभएकाले तत्काल नयाँ सरकार बन्ने सम्भावना नरहेको उनले बताए ।
प्रधानमन्त्री भट्टराईले बिहान ११ बजेर ३३ मिनेटको शुभसाइतमा दिदी थिरकुमारी पराजुली र बहिनी पार्वती शर्माको हातबाट टीका लगाए । प्रधानमन्त्री भट्टराई टीकाका लागि आफ्ना भाइ शिव भट्टराईको घर कोटेश्वर पुगेका थिए ।

प्रचण्डलाई सक्ने जमिम साहको ‘प्लान’ ?


[कटवालमाथिको कारबाही, पहिलो चीन भ्रमण, किरण पक्षसँग एकता आदि प्रचण्ड हर्कतका कारण भारतले आफूहरुलाई धोका भएको ठान्न थाल्यो । अन्तिम विकल्प भनेको प्रचण्डको सफाया हो भन्नेमा ‘र’ पुग्यो । त्यसका लागि अनन्तलाई तयार गरियो । नेपालको रक्षा र गृह मन्त्रालयले त्यसका लागि सहयोग गर्नुपर्ने शर्त आएपछि तत्कालीन प्रधानमन्त्री माधव नेपालसँग ‘र’का प्रतिनिधिहरुले प्रस्ताव राखे । त्यस विषयमा माधव नेपाल, केपी ओली र झलनाथ खनालका बीचमा छलफल भयो । त्यो छलफलपछि एमाले नेताहरुले एमाले बद्नाम हुने र राजनीतिमा अपराधीकरण हुने निष्कर्षसहित प्रचण्डको सफायामा सहयोग नगर्ने भए ।]


–अनिल शर्मा ‘विरही’

पारिवारिक रुपमा प्रचण्ड उर्फ पुष्पकमल दाहाल सम्पन्न परिवारका थिएनन् । उनले नजिकका दौंतरीहरुसँग कम्युनिस्ट बनेका प्रारम्भिक दिनमा भनेका थिए– नहर तल घर भएको भए म पनि कांग्रेस पार्टीमा लाग्थेँ हुँला ।

प्रचण्ड चंख, तीव्र क्रियाशील, परिचालन–व्यवस्थापन क्षमता भएका युवाको रुपमा स्थापित हुँदै गए । छोटो समयमा नै युवा संगठनको अध्यक्षसमेत भए । २०४२ सालमा सेक्टर कारबाही असफल भएलगत्तै प्रचण्डलाई महामन्त्री बनाउँदा पहिलोपटक क. शेरसिंह (भक्तबहादुर श्रेष्ठ) ले यसबाट भविष्यमा गम्भीर गल्ती हुने बताएका थिए । उनले प्रचण्ड व्यक्तिवादी, महत्वाकांक्षी र सुधारवादी भएका कारण नेतृत्वमा ल्याउन हुँदैन भनेका थिए । क. दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने), देवप्रसाद गुरुङ, क. अडिग (खम्बसिंह कुँवर) लगायतको धारणा पनि त्यसै प्रकारको थियो ।

पार्टीको नाम ‘एकता केन्द्र’बाट ‘माओवादी’ र जनवर्गीय संगठनलाई ‘क्रान्तिकारी’ नामकरण गराउनमा क. किरणको मुख्य भूमिका थियो । जनयुद्धको तयारी भइरहेको तर कहिले सुरु गर्ने भन्ने निर्णय गर्न हिच्किचाहट भइरहेको अवस्थामा क. किरणको दबाबपछि २०५२ कात्तिकको गोरखा बैठकमा जनयुद्धमा जाने निर्णय भएको बताइन्छ । त्यो स्थिति हेरिरहेका डा. बाबुराम भट्टराईले सोही बैठकमा ‘यो पार्टीको नेता नै को हो भन्ने अन्योल भयो । किरणजीले वैचारिक नेतृत्व, बादलले क्रियान्वयन गर्नु हुँदो रहेछ । तपार्इंले टाकनटुकन मात्रै गर्ने रहेछ’ भनेका थिए । त्यसपछि प्रचण्ड र बाबुरामबीचको सम्बन्ध निकै तिक्ततापूर्ण भएर गयो । प्रचण्ड वास्तविक नेता होइनन् भन्ने निष्कर्षपछि खाली स्थानमा आफूलाई तयार गर्नुपर्छ भन्ने रणनीतिमा बाबुराम भट्टराई लागेको देखिन्छ । पश्चिम नेपालकेन्द्रित तत्कालीन मशाल पार्टीमा संगठनात्मक रुपमा पनि क. किरणको पकड बलियो थियो । क. किरण गिरफ्तार नहुँदासम्म त्यो स्थिति कायम थियो । नेपालका दलहरुले चीन र भारतको कार्ड पालैपालो प्रयोग गरे झैँ प्रचण्ड भने किरण र बाबुराम कार्ड पालैपालो प्रयोग गर्दै थिए ।

नेपालको राजतन्त्र र भारतीय विस्तारवादका बीच परम्परागत रुपमै अन्तरविरोध थियो । २०४५ सालमा राजा वीरेन्द्रले चीनबाट हतियार आयात गरेर पृथ्वीनारायण शाहले सुरु गरेर (अझ अगाडि पनि जान सकिन्छ) राजा महेन्द्रले उत्कर्षमा पुर्‍याएको साम्राज्यवाद (नेपालको सन्दर्भमा भारतीय विस्तारवाद) विरोधी धारालाई निरन्तरता दिए । त्यसैको परिणाम स्वरुप राजतन्त्रको अधिकार कटौती हुने अवस्था पैदा भयो । राजा वीरेन्द्र जनताको अगाडि झुक्न तयार भए तर भारतका सामु सम्पूर्ण रुपमै झुक्न तयार भएनन् । राजालाई दरबारभित्र कैद गरेको अवस्थामा नेपाली कांग्रेस वैचारिक रुपमै भारतपरस्त थियो । त्यसबेला भौतिक शक्तिका हिसाबले मदन भण्डारी नेतृत्वको माले पार्टी (पछि एमाले पार्टी) ले देशभक्त धाराको नेतृत्व गरिरहेको थियो । मदन भण्डारीलाई आत्मसमर्पण गराउने प्रयत्न असफल भएपछि उनको हत्या गरियो । त्यसपछि तत्कालीन एमाले पनि भारतपरस्त भएर गयो । मदन भण्डारीको हत्या सम्पूर्ण देशभक्तहरुलाई धम्की थियो । मदन भण्डारी हत्याको जगमा महाकाली सन्धि भयो । दरबार संवैधानिक भएको, नेकपा (माओवादी) को संगठनात्मक आधार कमजोर रहेको र कांग्रेस एमालेलाई दिल्लीपरस्त बनाएको अवस्थामा राष्ट्रघाती सन्धि गराउन भारत सफल भएको थियो ।

२०५२ मा जनयुद्ध सुरु भयो । त्यो जनयुद्धका सामन्तवाद र साम्राज्यवादविरोधी दुई आयाम थिए । जनयुद्ध सामन्तवादभन्दा साम्राज्यवादविरोधी बढी केन्द्रित हुँदै गयो । त्यस्तो अवस्थामा राजावादीहरु, पूर्व पञ्चहरुमार्फत् नेपाली सेना र राजदरबारलाई तटस्थ बनाउने प्रयास माओवादी नेतृत्वबाट भइरहेको थियो । राजकुमार धीरेन्द्रमार्फत् राजा वीरेन्द्रसँग सम्पर्क भइरहेको र त्यसलाई राजासँग अघोषित कार्यगत एकता गरिएको भन्ने प्रचण्डको दाबीलाई क. किरण सस्तो प्रचारबाजी भन्नुहुन्छ । राजा वीरेन्द्रले जनयुद्धका विरुद्ध शाही सेना परिचालन गर्न नमान्नु र माओवादीभित्र राजा सिंहानुक बन्न चाहन्छन् भने एक पुस्ताका लागि स्थान दिनेबारे सानो घेरामा अनौपचारिक बहस चल्नुले भविष्यको राष्ट्रिय मुक्ति युद्धमा दरबार र जनयुद्धका बीच संयुक्त मोर्चा बन्ने सम्भावनालाई नकार्न सकिन्न । त्यस्तो अवस्था भारतको विदेश नीतिका दृष्टिले गम्भीर पराजय हुन्थ्यो । त्यसैले भारतले राजा वीरेन्द्रको वंशनाश गर्ने षड्यन्त्र गर्‍यो ।

त्यो षड्यन्त्र क्रियान्वयन गर्नका लागि उसले दरबारकै एउटा महत्वाकांक्षी र आपराधिक गुटलाई प्रयोग गर्‍यो । वीरेन्द्रको हत्या माओवादी नेतृत्वलाई समेत नजिकैबाट दिइएको धम्की थियो । त्यो धम्कीबाट त्रसित भएर २०५८ मै प्रचण्ड र बाबुरामले भारतीय प्रधानमन्त्रीलाई गोप्य रुपले याचनापूर्ण पत्र लेखे । त्यसपछि शब्दमा भारतको विरोध, अन्तर्यमा साँठगाँठ चलिरह्यो । त्यसबेला क्रान्तिकारी प्रवृत्तिका किरणसहितका नेताहरु एकपछि अर्को गरी भारतमा गिरफ्तार भए । भारतले क. बादल र प्रचण्डलाई नै गिरफ्तार गर्न खोजेका सूचना आउन थाले । पटनामा २०६१ मा क. सोनाम (कुलबहादुर केसी), अनिल शर्मासहितको गिरफ्तारीपछि प्रचण्ड भारतीय भूमि छाड्ने निष्कर्षमा पुगे तर डा. बाबुराम भट्टराई र उनी पक्षधर भनिएकाहरु छाड्न तयार थिएनन् । भट्टराईले आफूलाई नेपालमा भन्दा भारतमै सुरक्षित ठान्थे । पार्टीले उनीहरुलाई घिसारेर देशभित्र लग्यो ।

भट्टराईले अनौपचारिक छलफलमा भारत र चीनमध्ये एउटाको ओत नलागी क्रान्ति सम्भव छैन भन्ने गर्थे । एउटाको आड भन्नुको बाबुरामको अर्थ भारतको भन्ने प्रष्ट थियो । भारतको आडमा, भारतकै विरुद्ध क्रान्ति हाँस्यास्पद थियो । त्यसको अर्थ उनी बुर्जुवा गणतन्त्रभन्दा पर जाँदैनन् भन्नेमा पार्टीमा कुनै भ्रम थिएन । तेस्रो शान्ति प्रक्रियापछि, मूलतः खरिपाटी भेलापछि प्रचण्ड समेतले बाबुराम भट्टराईलाई बुर्जुवा गणतन्त्रभन्दा पर जान नचाहेको भनेका थिए ।

एकातिर २०५८ मा नै भारतलाई याचनापूर्ण पत्र पठाइएको थियो । अर्कोतिर २०६१ मा भारतीय विस्तारवादका विरुद्ध सुरुङ युद्धको घोषणा भयो । उता नक्कली राजा ज्ञानेन्द्रसमेत भारतका सम्पूर्ण आदेश र अपेक्षा पूरा गर्न तयार भएनन् । भारत र दरबारका बीचमा दूरी बढ्न थाल्यो । माओवादीलाई दमन गर्न नसक्ने, भारतको अपेक्षा पनि पूरा नगर्ने भएपछि दिल्लीलाई ज्ञानेन्द्रको आवश्यकता रहेन । त्यही बीचमा सामन्तवादसँग संयुक्त मोर्चा बनाएर साम्राज्यवादसँग लड्ने कि साम्राज्यवाद र दलाल पुँजीपतिसँग संयुक्त मोर्चा कायम गरेर सामन्तवादसँग लड्ने ? भन्ने गम्भीर व्यवहारिक र सैद्धान्तिक प्रश्न आयो । प्रचण्ड दरबारसँगको संयुक्त मोर्चाको पक्षमा थिए भने डा. बाबुराम साम्राज्यवादसँग मोर्चा बनाउने पक्षमा थिए । यसरी भारतपरस्त र दरबारपरस्तको विवाद छताछुल्ल भयो ।

२०६२–६३ मा पुग्दा नेपाली जनयुद्धले गृहयुद्धको चरणबाट राष्ट्रिय मुक्ति युद्धमा विकासको माग गरिरहेको थियो । त्यसरी मात्रै शाही नेपाली सेनामा विभाजन, संयुक्त मोर्चा निर्माण गर्ने सम्भावना हुन्थ्यो । त्यस प्रकारका चर्चा पनि भए । ज्ञानेन्द्रले संकटकाल लगाएर कास्कीको सिकलेसमा प्रचण्डसँग भेट्ने योजना बनाएको चर्चा पनि नभएको होइन । ज्ञानेन्द्रको ‘कू’, किरणको गिरफ्तारी, खारा मोर्चाको पराजय, बाबुराम भट्टराईको अन्तरध्वंशको षड्यन्त्र, रोल्पामा प्रचण्डको बासमा शाही सेनाको आक्रमण र वैचारिक अस्पष्टता, अकर्मण्यताको कारण प्रचण्डले स्वतन्त्र पहलकदमी गुमाउन पुगे । त्यसरी उनी भट्टराईको विचारमा आत्मसमर्पण गर्न पुगे । त्यसैको जगमा १२ बुँदे सहमति भयो । १२ बुँदे सहमति साम्राज्यवादसँगको लडाइँबाट हात झिक्नु र उसैसँग संयुक्त मोर्चामा जानु अर्थात् भारतीय विस्तारवादसँग आत्मसमर्पण गर्नु थियो ।

चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिका क्रममा देखिएको संशोधनवादको नयाँ विशेषता ‘सकारात्मक र क्रान्तिकारी तर्कहरुको उपयोग आफ्नो नकारात्मक र अवसरवादी उद्देश्य परिपूर्तिका लागि गर्ने’ तरिकालाई हिजोका दिनमा बाबुराम भट्टराईले गर्थे, आज त्यही बासी सूत्र प्रचण्डले अवलम्बन गरिरहेका छन् । अर्थात् क्रान्तिकारी नाराभित्रबाट दक्षिणपन्थी यात्रा गरिरहेका छन् । जसलाई नवसंशोधनवाद भनिन्छ ।

पार्टीमा निजी प्रवक्ता बनाएर विरोधीलाई हमला बोल्ने प्रचण्डको जारी परम्परा हो । उनले शुरुमा क. आलोकलाई अगाडि सारे । त्यसपछि रविन्द्र श्रेष्ठलाई उभ्याए । रविन्द्र श्रेष्ठलाई उत्तराधिकारी बनाउने आश्वासन दिएको मानिन्छ । त्यही कारणले बाबुराम भट्टराईका विरुद्ध सम्झौता गर्नै नसक्ने गरी रविन्द्र श्रेष्ठ र बाबुरामको सम्बन्ध विकास भएर गयो । चुनवाङ बैठकसम्म पुग्दा भारतीय गुप्तचर सञ्जालसँग मात्र होइन, वैचारिक रुपले नयाँ जनवादी कार्यक्रम परित्याग गरेर बुर्जुवा गणतन्त्रमा सीमित हुने सहमतिमा प्रचण्ड पनि पुगिसकेका थिए । व्यावहारिक रुपमा भट्टराई र प्रचण्डको गुप्तचर संस्थाहरुसँगको सहकार्य र वैचारिक रुपमा बाबुरामको कार्यदिशामा पतन भइसकेका प्रचण्डले निर्णायक स्तरमा बाबुरामसँग लड्न सम्भव थिएन । चुनवाङको आसपासमा उत्तराधिकार घोषणाको अपेक्षा गरेका रविन्द्र श्रेष्ठ प्रचण्ड–बाबुराम एकताबाट चिढिएका थिए । प्रचण्डले उपत्यकाको नेतृत्व दिएर रविन्द्रलाई  थामथुम गर्न खोजे । उता अनन्तले वैचारिक रुपमा अबको नेता बाबुराम हुन् भन्ने बुझिसकेका र प्रचण्डले रवीन्द्रलाई च्यापेका कारण भट्टराईको शरणमा पुगे । बाबुरामको दबावमा अनन्तलाई उपत्यकाको जिम्मेवारी दिएपछि रविन्द्र भड्किएका थिए ।

अनन्त बागमती उपत्यकाको जिम्मा लिएर आए । उनलाई गोप्य रुपमा उत्तर र दक्षिणसँग सूत्रको काम गर्ने जिम्मा पनि दिइएको थियो । तर अनन्तले उत्तरसँग भएका सारा सूचना दिल्ली पुर्‍याउने गरेको भरपर्दो सूचना चिनियाँहरुले पाए । अनन्तले बाबुराम भट्टराईको प्रतिनिधिका रुपमा ‘र’को काम गरिरहेको सूचना सार्वजनिक हुन थाल्यो । औपचारिक रुपमा प्रचण्डतिर भए पनि सारमा बाबुरामको आधार शिविरका रुपमा अनन्त रहेका छन् । तर बाबुराम पक्षमा खुलेर लाग्दा प्रचण्डको समर्थन नपाउने र भारत परस्तको आरोप लाग्ने भएका कारण अनन्तले बेलाबेलामा क्यामोफ्लाज (वास्तबिक रंग लुकाएर अर्कै देखाउने) को प्रयास गरेका छन् । । जसका कारण अनन्त र भट्टराईका बीचमा नक्कली द्वन्द्व हुन्छ भन्ने सञ्चारमा पाकिस्तानी गुप्तचर सञ्जालबाट परिचालन भएर भारतका विरुद्ध काम गरिरहेको प्रचार प्रायोजित गर्ने गरिन्छ । पूर्वतिर आक्रमणको हल्ला गरेर पश्चिमतिर आक्रमण गर्ने युद्ध नीति जस्तै भारत र बाबुरामसँग दूरी बढेको चर्चा गरेर चीन र प्रचण्डका विरुद्ध गतिविधि गरिन्छ ।

पालुङटार भेलासम्म पुग्दा पार्टी अन्तरसंघर्ष पेचिलो बन्दै थियो । गम्भीर, अकल्पनीय घात–प्रतिघातका आशंकाहरु थिए । पार्टी फुटको उत्कर्षमा पुगेका बेला अर्थात् गत माघको केन्द्रीय समिति बैठकताका प्रचण्डले किरण पक्षका नेताहरुसँग किरण समर्थक पिएलएले आफ्नो हत्या गर्ने षड्यन्त्र रचेको हल्ला गरेका थिए । त्यो हल्ला किन गरे ? आशंका भएको थियो । प्रचण्डमाथि हमला किरण पक्षबाट नभएर उनीहरुकै पंक्तिबाट रहेछ । धोका, विश्वासघात र षड्यन्त्र बाहिरबाट होइन, भित्रैबाट हुन्छ । किरण पक्षका कतिपय नेता मूलतः क. विप्लवमाथि हमला हुनसक्ने भनी हामीले उच्च सतर्कता अपनाउन सल्लाह दिइरहेका थियौँ । कटवालमाथिको कारबाही, पहिलो चीन भ्रमण, किरण पक्षसँग एकता आदि प्रचण्ड हर्कतका कारण भारतले आफूहरुलाई धोका भएको ठान्न थाल्यो । अन्तिम विकल्प भनेको प्रचण्डको सफाया हो भन्नेमा ‘र’ पुग्यो । त्यसका लागि अनन्तलाई तयार गरियो । नेपालको रक्षा र गृह मन्त्रालयले त्यसका लागि सहयोग गर्नुपर्ने शर्त आएपछि तत्कालीन प्रधानमन्त्री माधव नेपालसँग ‘र’का प्रतिनिधिहरुले प्रस्ताव राखे । त्यस विषयमा माधव नेपाल, केपी ओली र झलनाथ खनालका बीचमा छलफल भयो । त्यो छलफलपछि एमाले नेताहरुले एमाले बद्नाम हुने र राजनीतिमा अपराधीकरण हुने निष्कर्षसहित प्रचण्डको सफायामा सहयोग नगर्ने भए । त्यस प्रकारको सूचना माधव नेपालले प्रचण्डलाई दिएको पनि बताइन्छ ।

रोल्पामा आफू बसेको बासमा शाही सेनाको ८१ को निशाना सोझियो । उनी चौतर्फी घेराबन्दीमा थिए । अन्तरंग छलफलहरुमा आत्तिएको, तर्सिएको देखिन्थे र ‘मार्छ, मार्छ’ भन्ने गरेका थिए । क. विप्लवले सार्वजनिक कार्यक्रममै ‘मार्छ भन्दै भारतको पाउमा लम्पसार पर्दै गरेर सुरक्षा हुन्छ ?’ भन्ने गरेका थिए । त्यस्तो स्थितिमा प्रचण्ड जनसेना बुझाउने, राजनीतिक रुपमा बुर्जुवा गणतन्त्र मान्ने र वैचारिक रुपमा क्रान्तिकारी माक्र्सवाद परित्याग गर्न निष्कर्षमा पुगे ।

प्रचण्डमाथिको षड्यन्त्र नखुलोस्, विश्वास कायम रहोस् र भारतको विश्वास पनि बढोस् भन्ने मनशायले अनन्तले अर्को षड्यन्त्र रच्न थाले । त्यसपछि जमिम साहमार्फत् पाकिस्तानले प्रचण्डको हत्या गर्दै छ भन्न थालियो । भारतपरस्त भएका कारण चीन पनि चिढिएको र जनयुद्धका कारण काश्मिरीहरुमार्फत् पाकिस्तानले पैसा र हतियार दिन खोजेको सार्वजनिक अभिव्यक्तिका कारण पाकिस्तानीहरु चिढिएको बताइयो । त्यसपछि जमिम साहको हत्याको योजना बन्यो । जनसेनाको एउटा टोली काठमाडौं आयो तर टोलीले आफैँले अनुसन्धान नगरी काम नगर्ने बतायो । लगातार १५ दिनसम्म जमिम साहको पिछा गर्दा पनि उनले प्रचण्डको पिछा गरेको, षड्यन्त्रमा लागेको कुनै हर्कत भेटिएन । त्यसपछि अनन्तको भक्त भनी छानिएको सो टोली जमिम साहको हत्या गर्न अस्वीकार गरेर फर्कियो ।

त्यसबेला क. विविधको निवास रामहरि श्रेष्ठको घरमा थियो । रक्तचन्दन तस्करी, यार्सागुम्बा तस्करी, जालीनोट कारोबार, जमिम साहको हत्या प्रयास यी सबै कुकर्महरु रामहरि श्रेष्ठको घरमा भएका थिए । रामहरिलाई ती सबै थाहा थियो । पूर्व एमाले कार्यकर्ता श्रेष्ठ धेरैजसो षड्यन्त्रमा सहभागी थिए । अब रामहरि अनन्तका लागि खतरा भए । त्यसपछि ‘न रहे बाँस, न बजे बाँसुरी’ भने झैँ उनी रामहरिलाई सफाया गर्ने सोचमा पुगे । उनले प्रचण्डसमक्ष ‘हतियार र नगद चोरेको’ आरोप लगाए । त्यसपछि प्रचण्डसँग सिफारिस लिएर रामहरिलाई सोधपुछका लागि गिरफ्तार गर्ने भन्दै विविधलाई चितवन पुर्‍याउन लगाए । त्यहीँ यातना दिएर रामहरिको हत्या भयो । अनन्त, विविधलगायत मुठ्ठीभर व्यक्तिहरुको शंकास्पद हर्कतका कारण एमाले नेताहरुले जनसेनालाई ‘अपराधी झुण्ड’ भन्दा पनि प्रचण्डहरु मौन बसे । जबकि खरिपाटी भेलामा सामान्य छलफल भएकै आधारमा अनिल विरहीको आलोचना र इश्वरचन्द्र ज्ञवालीलाई मञ्चबाटै आत्मालोचना गर्न लगाइएको थियो ।

एउटा उखानको स्मरण हुन्छ– एकादेशमा दुई आमाछोरी बस्थे । एकदिन छोरीले ‘आमा, तपाईंलाई गाम्लेहरुले बोक्सी बूढी भन्छन्’ भनिछ । बुढीले ‘भन्न दे नानी, जस्तो देख्छन् उस्तै भन्छन्’ भनिछन् । अर्कोतिर ठूलो रकम सरकार बनाउन र ढाल्न प्रयोग गरियो । त्यो रकमको स्रोत गुप्तचर एजेन्सीहरुबाट लुक्ने कुरा भएन । आर्थिक कोणबाट पनि प्रचण्डमाथि दबाव बढाउने योजनाबद्ध हर्कतहरु देखिन्छन् । वैचारिक विचलनका ती अनिवार्य परिणाम हुन् ।

विचार निर्माणमा भौतिक वातावरण निर्णायक हुन्छ । ‘माटोको भर ढुंगा, ढुंगाको भर माटो’ भने झैँ सामुहिक प्रयत्न, सहयोग, परिस्थिति, वस्तुगत यथार्थसहित नेताहरुले इतिहासको निर्माणमा भूमिका खेल्छन् । हरेक व्यक्ति आफैँमा विभिन्न प्रवृत्तिहरुको योग हुन्छ र ऊ आफैँसँग द्वन्द्वरत रहन्छ । भौतिक जगतमा जुन प्रवृत्ति हावी रहन्छ, व्यक्तिमा पनि त्यही प्रवृत्ति मौलाउने अवसर या अनुकूलता पैदा हुन्छ । तसर्थ हरेक व्यक्तिलाई स्थिर होइन, गतिमा हेर्नुपर्दछ ।

नेपालको गृहयुद्धले राष्ट्रिय मुक्ति युद्धको माग गरिरहेको थियो । त्यसका लागि वैचारिक, राजनीतिक र फौजी रणनीतिमा विकास आवश्यक थियो । राष्ट्रिय मुक्तियुद्धको आवश्यकता भइरहेको बेला गृहयुद्धको निरन्तरता आफैँमा अकर्मण्यता थियो । क. किरणसहितको वैचारिक नेतृत्वको अभाव र दक्षिणपन्थी घेराबन्दीका कारण केही समय ढुलमुल, अन्योल, अकर्मण्य हुँदै अन्ततः प्रचण्ड पछाडि फर्किए । शिखरबाट तल झरेपछि फेदीमै झर्नु अनिवार्य थियो । त्यही भयो । नेपाली क्रान्तिलाई फेरि गृहयुद्धको चरण हुँदै राष्ट्रिय मुक्ति युद्धमा प्रवेश गराएर सामन्तवाद–साम्राज्यवाद मूलतः साम्राज्यवादी चंगुलबाट मुक्त गराउन सम्भव छ ? प्रचण्डले गृहयुद्धको नेतृत्व त गरे तर राष्ट्रिय मुक्तियुद्धको तयारी र नेतृत्व गर्न सकेनन् । के नयाँ पुस्ता या शक्तिले त्यसका लागि आवश्यक वैचारिक, राजनीतिक र फौजी रणनीतिको विकास गर्न सक्छ ?

(आज २०६९ साल कार्तिक  २२ गते बुधबारको जनआस्था साप्ताहिकबाट साभार)

पूर्ण बजेटमा विपक्षि लचिलो




१९ कात्तिक, काठमाण्डौं । कामचलाउ सरकारले ल्याउने तृतीयांश -एक तिहाइ) बजेट सकिन लाग्दासमेत सहमति जुट्न नसक्दा आर्थिक संकट आउन सक्ने भन्दै विपक्षीहरुले बजेटप्रति लचिलो हुने संकेत गरेका छन् ।

सरकार परिवर्तनलाई मुख्य मुद्दा बनाएका कांग्रेस र एमालेले पछिल्लो समयमा बजेटलाई राजनीतिक समस्यासँग सौदाबाजी गर्न नहुने भन्दै लचिलो बन्ने संकेत गरे हुन् ।

उनीहरुले सहमतिमा बजेट ल्याउने विषयलाई सरकारले लत्याएर राजनीतिक संवेदनशीलतासँग खेल्न खोजेको आरोपसमेत लगाएका छन् । ‘बजेटलाई तरल र जटिल राजनीतिक समस्यासँग जोडेर सौदाबाजी गर्ने सरकारको कार्यशैली मुलुकलाई हराएर व्यक्ति जित्ने षड्यन्त्रमात्र हो’ कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री महेश आचार्यले बताउनुभएको खबर राजधानी दैनिकले छापेको छ ।

त्यस्तै एमाले पोलिटव्युरो सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि सहमतिमै बजेट आउने विश्वास व्यक्त गर्नुभयो । विगतमा एक तिहाइ बजेट सहमतिमै आएको जनाउँदै उहाँले भोली पनि बजेट ल्याउनै पर्ने स्थिति आए सहमतिमै आउन सक्ने बताउनुभएको हो ।

पूर्वअर्थमन्त्री रहेका कांग्रेस नेता डा. रामशरण महतले मुलुक अस्तव्यस्त बनोस् भन्ने चाहाना आफूहरुमा नभएकाले विगतकै कार्यक्रमलाई निरन्तरता दिनेगरी बजेट आउनुपर्ने बताउनुभयो । तर, अव बजेट आउँदा पूरक हुनुपर्ने र सहमतिमै आउनुपर्ने महतको भनाई छ

यसरी असफल भयो ‘कु’ गर्ने राष्ट्रपतिको योजना


काठमाण्डौ,१९ कात्तिक । प्रधानमन्त्रीलाई बर्खास्त गरेर सेनाका बलमा आफैले शासन चलाउने राष्ट्रपतिको प्रयत्न बिफल भएको छ ।

करिव दुई साताअघि जतिबेला राष्ट्रपति सार्वजनिकरुपमा चर्का राजनीतिक भाषण गरिरहेका थिए, त्यतिबेलै ‘कु’को आन्तरिक तयारी तिब्र पारिएको उच्च राजनीतिक स्रोतको दावी छ । तर राष्ट्रपतिले कु का लागि जसजसको सहयोग लिने प्रयत्न गरेका थिए उनीहरुले रातो बत्ति बालिदिएपछि राष्ट्रपति यादवको योजना तत्कालका लागि तुहिएको छ । राष्ट्रपति यादवले आफ्नो प्रयत्न सफल नभएको र हुनुपर्ने नियकाबाट ‘साथ नमिलेको’ सन्देश कांग्रेस-एमालेका नेताहरुलाई दिइसकेका छन् ।

बिश्वस्त सुत्रका अनुसार राष्ट्रपति यादवले सवैभन्दा पहिले नेपाली सेनाको साथ लिन खोजेका थिए । माओवादीप्रति गरम ठानिएका सेनापति गौरवशमसेरले आफ्नो कदममा मौन समर्थन जनाउने बिश्वासका साथ सेनापतिलाई शितलनिवास बोलाएरै राष्ट्रपतिले ‘मैले लिनुपर्ने भयो, अब सहयोग गर्नुपर्योत’ भन्ने प्रस्ताव राखेका थिए । तर सेनापति राणाले अहिलेको अबस्थामा सवै दलको सहमतिबिना कुनै पनि कदम घातक हुनसक्ने भन्दै सेना राजनीतिमा तानिने कुनै योजनामा नरहेको जवाफ दिएका थिए । अहिलेको स्थीति राजनीतिक कदमका लागि परिपक्क नभएको दवाफ दिंदै राणाले सेना सहयोग नहुने प्रष्ट पारेका थिए ।

त्यसपछि राष्ट्रपति यादवले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर ‘लिनैपर्ने अबस्था आएको नत्र माओवादीले सत्ता कब्जा गर्ने’ बेलिविस्तार लगाएका थिए । प्रधानमन्त्रीलाई हटाउनैपर्ने अबस्थामा आफु पुगेको भन्दै यादवले भारतले साथ दिए मुलुकभित्रको स्थीति आफ्नो नियन्त्रणमा हुने बताएका थिए ।

भारतीय राष्ट्रपति प्रवण मुखर्जीसँग ब्यक्तिगत सम्बन्ध भएपनि सरकारी तहमा सम्बन्ध नभएका कारण राष्ट्रपतिले राजदूतलाई भूमिका खेलिदिन आग्रह गरेका थिए । आफु पनि मधेसी भएका कारण मधेसमा समस्या नहुने, पहाडी क्षेत्रको सेन्टिमेन्ट आफ्नो पक्षमा रहेको, माओवादीबाहेक सवै दलको राजनीतिक समर्थन पनि आफुलाई हुने भन्दै राष्ट्रपतिले सहयोगका लागि आग्रह गरेका थिए । तर भारतीय राजदूतले पनि राष्ट्रपति सक्रिय हुने कुरालाई सर्मथन गर्न नसकिने कुटनीतिक जवाफ दिएका थिए ।

सेना र भारतकै साथ नपाएपछि राष्ट्रपति यादव तत्कालका लागि हच्चिएको स्रोतको दावी छ । राष्ट्रपति सक्रिय हुन खोजेको र बिभिन्न क्षेत्रमा हारगुहार गरेको खवर माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि पुगिसकेको बताइएको छ । पछिल्लो स्थायी समिति वैठकमा राष्ट्रपतिले कु गर्ने प्रयत्नका साथ को-कोसँग के-के कुरा गरे भन्ने फेहरिस्त पेश गरिएको थियो ।

एक माओवादी नेताले अनलाइनखबरसँग भने-’राष्ट्रपतिको कु गर्ने प्रयत्न बिफल भएको, सेना र बिदेशीलाई हात लिएर सासन चलाउने उनको भित्री मनसाय छरप्रष्ट भइसक्यो ।’ कु को योजना असफल भएपछि मात्र राष्ट्रपतिले दलहरुको छलफलमा नरम कुरा गरेको उनले दावी गरे ।