मधेसमा एउटै पार्टी हुनुपर्छः तमलोपा

काठमाडौ, असार ६ - तराई मधेस लोकतान्त्रिक पार्टीले मधेसमा एउटै राजनीतिक दल निर्माणका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको जनाउँदै सबै दललाई संगठित भएर अगाडि बढ्न आह्वान गरेको छ । पार्टीको तीनदिने केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
तमलोपाले विकसित राजनीतिक परिस्थिति तथा संविधान निर्माणको अभ्यासकै क्रममा प्राप्त अनुभवले मधेसी जनताको एजेन्डा पहिचानसहितको संघीयता स्थापना गर्न सम्पूर्ण मधेसमा एउटै राजनीतिक दल आवश्यक रहेको जनाएको छ । 'हाम्रो पार्टी मधेसमा एउटै राजनीतिक दल बनाउन जस्तोसुकै त्याग गर्न तयार छ,' तमलोपाका महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले भने, 'बृहत् मधेसको वास्तविक हित हेर्ने हो भने आजको दिनमा मधेस केन्द्रित एउटा दल रहोस् भन्ने हाम्रो मान्यता छ ।'
संविधानसभाबाटै संविधान निर्माण हुनुपर्ने उसले जनाएको छ । 'संविधानसभाको निर्वाचन वा राष्ट्रिय सहमति भए संविधानसभालाई ब्युँताएरसमेत जान सकिन्छ,' शुक्लले भने ।

No comments:

Post a Comment