‘संविधानसभा विघटनमा कसैलाई आरोप लगाउनु आवश्यक छैन’

काठमाडौं, असार १४ - प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा विघटनमा कसैलाई आरोप लगाउनु आवश्यक नभएको बताएका छन् ।
‘देश अहिले नयाँ संविधान जारी गरी गणतन्त्रलाई पूर्ण संस्थागत गर्ने र आर्थिक विकासको रणनैतिक योजना निर्माण र कार्यान्वयनको लागि तयारीमा एकजुट हुनुपर्ने थियो । तर दूर्भाग्यवस हामीले यो कार्यभार पूरागर्न सकेनौं,’ त्रिवि विशेष सभामा बिहीबार उनले भने, ‘यस विषयमा कुनै एक दल विशेष वा समूहलाई आरोपित गर्नु उपयुक्त छैन तर पनि हामी सबैले आफ्नो आत्ममूल्याङ्कन गर्नु भने जरुरी छ ।’
पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानको मुद्धामा पहिलो संविधानसभा असफल बनेको उनको भनाइ थियो । ‘उक्त ऐतिहासिक तथ्यलाई आत्मसात गर्दै नयाँ शिराबाट समस्याको समाधान गर्न सवैले योगदान गर्नै पर्छ,’ उनले भने, ‘अहिलेको राजनीतिक जटिलतालाई सम्वोधन गर्न प्राज्ञहरूको विशेष विश्लेषणसहितको अग्रगामी चिन्तनले सहयोगी भूमिका खेल्न सक्छ ।’
शैक्षिक जनशक्तिको विकास विना नयाँ र सम्वृद्ध नेपालको निर्माण सम्भव नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस अभियानमा देशको जेठो र सबभन्दा ठूलो विश्वविद्यालय त्रिविले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

No comments:

Post a Comment