असारभित्रै सहमतिको सरकार बन्छः डा.महत


असारभित्रै सहमतिको सरकार बन्छः डा.महत

Ram saran Mahatकाठमाडौ, जेष्ठ ३० - कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले असार भित्रमै सहमतिको राष्ट्रिय सरकार गठन हुने दाबी गर्दै प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले असंवैधानिक रूपमा अध्यादेशमार्फत ल्याउन लागेको बजेट राष्ट्रपति डा रामवरण यादवले रोक्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा डा महतले संविधानत काम चलाउ भइसकेको सरकारले बजेट ल्याउन नसक्ने ठोकुवा गर्दै सहमतिको सरकार बनेपछि मात्रै बजेट सार्वजनिक गर्ने बताए ।
उनले राष्ट्रपतिले अन्तरिम संविधानको धारा ४३ बमोजिम सहमतिको सरकार गठनका लागि तत्काल आह्वान गर्नुपर्ने भन्दै त्यसपछि मात्रै मुलुकले निकास पाउने दाबी गरे ।
उपयुक्त विकल्प हुँदा हुँदै जानाजान सत्तामा टिकिरहन संविधानसभा विघठन गरेको आरोप लगाउँदै डा महतले पदमुक्त भइसकेको सरकारले बजेट ल्याउने जस्ता कुनै पनि महत्वपूर्ण कार्य गर्नै नसक्ने ठोकुवा गरे । उनले निर्वाचन आयोगले निर्वाचन गर्न सक्दिन भनेको अवस्थामा प्रधानमन्त्रीले निर्वाचन गराई छाड्ने दाबी गरेर जनता झुक्याउने काम भएको बताए ।
माओवादी अध्यक्षले नेपाली सेना आफ्नो पक्षमा रहेको र ५ सय वर्ष शासन गर्ने भनी दिएको अभिव्यक्तिलाई गैरजिम्मेवारी पनको परकाष्टाको संज्ञा दिँदै उनले प्रचण्ड मुर्खहरूको स्वर्गमा रमाइरहेको टिप्पणी गरे ।
उनले भने- नेपालको राष्ट्रिय सेना नेपालको सुरक्षामा प्रतिबद्ध छ । त्यो पार्टीको नियन्त्रणमा छ भन्नु हास्यास्पद र गैर जिम्मेवार भनाइ हो ।
साक्षात्कारमा शान्ति तथा पुनः निर्माणमन्त्री टोपबहादुर रायमाझीले पाँच बुँदे सहमति कांग्रेस र एमाले लगायतका दलहरूले कार्यान्वयन गरे प्रधानमन्त्रीले पद छाड्ने स्पष्ट पार्दै कसैले सडकबाट माग्दैमा अहिले प्रधानमन्त्रीको राजिनामा कुनै पनि हालतमा नआउने बताए ।
उनले भने- १०२ दल भएको मुलुकमा शतप्रतिशत सहमतिको सरकार बन्नै सक्दैन । कांग्रेस र एमालेले दिमाग सम्हालेर सहमतिमा जानुपर्छ ।
उनले वर्तमान सरकार कार्यकारी अधिकार सम्पन्न भएको दाबी गर्दै राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन नसक्ने ठोकुवा गरे । उनले भने- राष्ट्रपति संविधान अनुसार नै चल्नु पर्छ ।
उनले संसद नभएको अवस्थामा अध्यादेशबाट बजेट नल्याए कहाँबाट ल्याउने भनी प्रश्न गर्दै सरकारले अध्यादेशबाट ल्याउने बजेट राष्ट्रपतिले रोक्नै नमिल्ने दाबी गरे । उनले भने- अहिले बजेट ल्याउन हुँदैन भन्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो ।
उनले अब युद्धको र पुरानै सत्ताको धङधङी बोकेर मुलुक चल्न नसक्ने भन्दै मुलुकमा खतरनाक ध्रुवीकरणको आशंका व्यक्त गरे ।
उनले साक्षात्कारमा माओवादी पार्टीभित्र अन्तरविरोध भए पनि पार्टी भने फुटी नहाल्ने दाबी गरे ।
साक्षात्कारमा नेकपा एमालेका पोलिटब्युरो सदस्य भीम रावलले राष्ट्रपतिले कामचलाउ भनेर सहमतिका लागि पहल गर्न निर्देशन दिइसकेको अवस्थामा त्यसलाई बेवास्ता गरेर हिँड्ने प्रधानमन्त्रीलाई सचेत गराउनु पर्ने उल्लेख गर्दै निर्देशन अवज्ञा गर्ने प्रधानमन्त्रीले ल्याएको कुनै पनि अध्यादेशमा राष्ट्रपतिले लालमोहर लगाउन नमिल्ने दाबी गरे ।
उनले अब राष्ट्रपतिले छिटो अन्तरिम संविधानको धारा ४३ र १५८ बमोजिम सर्वदलीय सरकार गठन गर्न प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने धारणा पनि राखे । उनले भने- ‘सबैले राष्ट्रपतिसँग आग्रह गरेर मुलुकलाई निकास दिनुपर्छ ।’
शान्ति र संविधानका लागि नेतृत्व गरेका प्रधानमन्त्रीको औचित्य संविधानसभा विघठनपछि समाप्त भएको उल्लेख गर्दै उनले अध्यादेश ल्याउने सरकारको योजना संविधान विपरीत भएको दाबी गरे । उनले भने- पहिला अध्यादेश ल्याएको अवस्थामा संसद थियो । अहिले छैन । अवस्थै फरक छ ।
साक्षात्कारमा राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकासचन्द्र लोहनीले अब राष्ट्रपतिले नै सहमतिको सरकार गठनका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रधानमन्त्रीले तत्काल पद त्याग गरेर सहमतिको बाटो खोल्नुपर्ने बताए ।
आफ्नै पार्टी र एमाले कांग्रेससहितको दलहरुको समर्थन नरहेको सरकारले बजेट ल्याउनै नसक्ने भन्दै सर्वदलीय सरकार गठन गरेर मात्रै बजेट ल्याउन सकिने धारणा राखे ।
उनले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार इतिहासकै सर्वाधिक नलायक सरकार भएको दाबी गर्दै सरकारले जथाभावी गर्न नछाडे नेपालमा स्पेन र ग्रिसको भन्दा खतरनाक अवस्था आउने चेतावनी दिए ।

No comments:

Post a Comment