एमालेका असन्तुष्टहरुले तत्काल पार्टी नछाड्ने

काभ्रे, असार ७ - एकल जातीय पहिचानसहितको संघीयता पार्टीले अस्विकार गरेपछि असन्तुष्ट एमालेका केही जनजाति तथा मधेशी नेताहरूले पार्टी भित्र आफ्नो विचारको पक्षमा संघर्ष गर्ने भएका छन् । तत्काल पार्टी नछाडी आफ्नो विचारका पक्षमा मत बढाउने निष्कर्षमा ती नेताहरू पुगेका छन् ।
बुधबारदेखि धुलिखेलमा बसेको असन्तुष्ट नेताहरूको बैठकले पार्टीमै रहेर आफ्ना विचारका पक्षमा संघर्ष गर्दै शक्ति संचय गर्ने रणनीति बनाएका छन् । पार्टीले आफ्ना विचारको कदर नगरे अन्त्यमा पार्टी छाड्ने उनीहरूको तयारी छ । बैठकमा सहभागी अधिकांशले पार्टी भित्र अन्तरसंघर्ष गर्नुभन्दा नयाँ पार्टी खोल्नुपर्ने पक्षमा मत राखे पनि तत्काल अन्तरसंघर्षमै जाने र संविधानसभा पुनःस्थापनाका लागि सडक संघर्षमा जाने निर्णय गरेको छ ।
बैठकपछि एमाले उपाध्यक्ष अशोक राईले पार्टी भित्र आफूहरूको छुट्टै विचारधारा भएकाले छुट्टै बैठक बसेको बताए । उनले संविधान बन्नका लागि संविधानसभा पुनःस्थापनाका लागि त्यसका पक्षमा उभिने सबैसँग सहकार्य गरेर सडक संघर्ष गरिने जनाए । उनले पार्टीले एकल जातीय राज्य नमाने पनि आफूहरू जातीय पहिचानसहितको संघीय संरचनामै रहेको र त्यसका लागि पार्टी भित्र संघर्ष गर्ने उल्लेख गरे ।
अर्का नेता राजेन्द्र श्रेष्ठले पार्टीको राष्ट्रिय भेलाले गरेको निर्णय यथास्थितिवादी र प्रतिगामी रहेको आरोप लगाए । उनले संविधानसभा बाहेक कुनै बाटोबाट ल्याइने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी दिए ।
धुलिखेलको बैठकमा उपाध्यक्ष अशोक राई, पोलिटब्युरो सदस्य रामचन्द्र झा, पृथ्बीसुब्बा गुरुङ, केन्द्रीय सदस्यहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, शत्रुघन महतो, किरण गुरुङ, दलबहादुर रानामगर, रिजवान अन्सारी, हेमराज राई र गोपाल ठाकुर लगायत २२ जना सहभागी थिए ।

No comments:

Post a Comment