२५ भ्रातृ संगठनद्वारा संस्थापनलाई समर्थन

काठमाडौ, असार १० - एमाओवादीका २५ जनवर्गीय संगठनहरूले संस्थापन पक्षको कार्यदिशालाई समर्थन गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार पत्रकार सम्मेलन गरी उनीहरूले मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीले लिएको कार्यदिशा विसर्जनवादी भएको आरोप लगाएका छन् ।
'विभाजनकारी कदम पार्टीको क्रान्तिकारी विचार र जनताप्रतिको उत्तरदायित्वबाट विचलित भएर गरिएको घोर मनोगतवादी निर्णय हो भन्ने हाम्रो ठम्याइ छ,' उनीहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ, 'अर्कोतिर गोलमेचसभाको नारा अगाडि सारेर घुमाउरो पाराले जनयुद्ध र जनआन्दोलनको उपलब्धि र भावनामाथि प्रहार गर्ने काम भएको छ । यसरी पार्टीको विकसित कार्यदिशाका मूलभूत कडीहरूसहित ऐतिहासिक राजनीतिक उपलब्धिलाई समेत निषेध गर्ने र भविष्यको मार्गचित्र सम्बन्धमा पनि देखिने अस्पष्टता र अकर्मण्यताले उहाँहरूको विसर्जनवादी सोचलाई व्यक्त गर्दछ । विसर्जनवादी सोचले अन्ततः क्रान्तिलाई हैन प्रतिक्रान्तिलाई सेवा पुर्‍याउने निश्चित छ ।'
संस्थापनलाई समर्थन गर्ने भ्रातृ संगठनहरूमा पूर्वजनमुक्ति सेना नेपाल, अखिल नेपाल टे्रड युनियन महासंघ, अखिल क्रान्तिकारी, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन, राष्ट्रिय उद्योग व्यापार महासंघ, गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसनलगायत छन् । उनीहरूले आफ्नो पक्षमा बहुमत सदस्य आएको दाबीसमेत गरेका छन् ।

No comments:

Post a Comment