नेपाली पासपोर्टमा भारतीय महिला

Manita-alias-Mina-Adhikariकाठमाडौं, अषाढ १ - दुई छोरा र एक छोरीकी आमा मनिता लोहार भारतीय नागरिक हुन् । सिलिगुडी बागडुग्रा घर भएकी उनी दुई वर्षअघि दिल्लीको इन्दिरा गान्धी विमानस्थल हुँदै साउदी अरेबिया उडेकी थिइन् । दुई वर्षसम्म घरेलु कामदार बनेर एक साताअघि घर फिर्ने क्रममा भने मनिता दिल्ली होइन, काठमाडौं विमानस्थलमा उत्रिइन् ।
'मसँग नेपाली पासपोर्ट छ भन्ने थाहा थियो तर मैले काठमाडौं उत्रनुपर्ला भन्ने पत्तो थिएन,' अक्षर फुटाउन नसक्ने मनिता मुस्किलसँग हिन्दीमा बोलिरहेकी थिइन् । कैलाली, बलिय-५ की मीना अधिकारीको पासपोर्टमा साउदी पुगेकी मनितालाई रियादबाट 'डिपोर्ट' गर्ने क्रममा नेपाल पठाइएको थियो ।
काठमाडौं विमानस्थलमा अलमल्ल परिरहेका बेला वैदेशिक रोजगारीमा गएर बिचल्ली बेहोर्दै फिर्ने महिलाहरूको एक उद्धारक संस्थाले मनितालाई भेटेपछि यही संस्थाको महाराजगन्ज सेल्टरमा उनी आश्रति बनेकी छिन् । २०१० को मार्च ११ मा कैलाली जिल्ला प्रशासनबाट जारी भएको मीना अधिकारीको पासपोर्टमा रहेको बाहकको हस्ताक्षरसमेत आफ्नो नभएको मनिताले बताइन् ।
मनिताकै हविगतमा काठमाडौंको अध्यागमनमा 'भारतीय नागरिक, नेपाली पासपोर्ट' को हैसियत लिएर हरेक साता कम्तीमा एक श्रमिक खाडी मुलुकबाट आउने गरेका छन् । त्यसमा पनि महिलाको संख्या अधिक छ । महिला हकहितमा काम गर्ने पौरखी नेपालमा मात्रै यो एक वर्षको अवधिमा एक दर्जनभन्दा बढी भारतीय महिलाहरू नेपाली पासपोर्टसहित बिचल्ली स्थितिमा आइपुगेका छन् । 'बिचल्ली बनेर आउने यी महिलाहरूलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने संयन्त्र पनि कतै छैन, उद्धार गर्न खोज्दा अध्यागमन र प्रहरी प्रशासन पनि असहयोगी बन्ने गरेको छ,' पौरखीकी अध्यक्ष मञ्जु गुरुङले भनिन्, 'राज्यको सम्पत्तिसरह हुने नागरिकता, पासपोर्टको दुरुपयोग भइरहेका बेला गृह, परराष्ट्र र श्रम मन्त्रालयको संयन्त्र पनि प्रभावकारी बन्न सकिरहेको छैन ।'
यात्रुको आवत-जावत र कागजातको प्रमाणित आधार अनुगमन गर्ने अध्यागमन विभाग स्वयं पासपोर्टको आधिकारिता जाँच्ने पद्धतिको अभाव बेहोरिरहेको छ । 'गन्तव्य मुलुकमा पुगेर पासपोर्ट नक्कली भएका आधारमा अथवा नेपाली पासपोर्ट बोकेर हिँड्ने २८ जना विदेशीहरू अहिले हाम्रो छानबिनमा छन्,' अध्यागमनका महानिर्देशक सुरेश अधिकारीले कान्तिपुरसँग भने, 'यसमा खाडी मुलुकबाट नेपाली पासपोर्ट लिएर फिरेका भारतीय वा बंगाली नागरिक पनि परेका छन् ।'
उनका अनुसार विशेषतः खाडीबाट 'डिपोर्ट' भएर घर फिर्ने बेलामा नेपाली पासपोर्ट भएका कारण अध्यागमनमा नियमितजसो महिला कामदार पक्राउ पर्ने गरेका छन् ।
यसअघि नेपाली पासपोर्ट प्रयोग गरेका आधारमा खाडीको कुवेतस्थित अध्यागमनमा झन्डै तीन दर्जन बंगाली कामदार पक्राउ परेका थिए । कामदारहरूको पासपोर्ट जारी भएको मुलुकको कागजी प्रमाणका आधारमा त्यही देशमा फिर्तीका लागि ट्राभल-डकुमेन्ट दिनैपर्ने नियम कुवेतमा रही आएको राजदूत मधुवन पौडेल बताउँछन् । पौरखीको सेल्टरमा गत महिना आश्रय लिन आएकी गुवाहटीकी रेसमा सौराले कुवेत दूतावासबाट उदयपुरकी निर्मलाकुमारी राईको नाममा ट्राभल डकुमेन्ट पाएकी छिन् भने सिलिगुढीकी इन्दिरा गुरुङले काठमाडौंकी मीना गुरुङको नाममा यात्रा अनुमतिपत्र हात पारेकी थिइन् । अनुमतिपत्रबाहक नेपाली नागरिक नभएको थाहा भएपछि दूतावासले त्रिभुवन विमानस्थलस्थित प्रहरी र अध्यागमनलाई त्यस्तो यात्रुबारे पूर्वजानकारी दिने गरेको छ ।
'कुवेतमा रहेका नेपाली -भनिने) महिला कामदारमध्ये ३० प्रतिशतसँग नक्कली वा चोरीका पासपोर्ट -कागजात) हुने गरेको अनुमान छ,' राजदूत पौडेलले भने, 'एमआरपीको अनिवार्य उपयोग नभइन्जेल पासपोर्ट दुरुपयोगको अवस्था निर्मूल होला भन्न मुस्किल छ ।'
२०१४ को नोभेम्बरसम्म मान्य हुने हस्तलिखित पासपोर्टमा यस्तो दुरुपयोगको अवस्था देखिएकाले जतिसक्दो चाँडो 'फेज आउट' गर्नु उपयुक्त हुने सुझाव परराष्ट्रले पाइसकेको छ । परराष्ट्रमा राहदानी महाशाखाका प्रमुख यादव खनाल पनि हस्तलिखित पासपोर्टमा थप चलखेल हुन नपाओस् भनी एमआरपीको पद्धतिलाई अनिवार्य प्रश्रय दिनु जरुरी रहेको
बताउँछन् । 'तर, निर्धारित अवधिभन्दा अगाडी फेजआउट गर्न सकिएला भन्ने लाग्दैन,' उनले भने ।
अर्कातिर एजेन्ट र दलालको फन्दामा परेर काठमाडौंमा अलपत्र बन्न आइपुगेका आफ्ना नागरिकबारेमा भारतीय दूतावासले पनि चासो राख्ने गरेको छैन । बिचल्ली परेका कामदारबारे दूतावासलाई जानकारी गराए पनि कुनै प्रकारको सहजीकरण अथवा सम्पर्कमा रहन चाहेको देखिन्न । 'बिचल्ली परेका भारतीय नागरिकबारे दूतावासलाई पत्राचार गर्ने गरेका छौं, तर सुनुवाइ हुन सकेको छैन,' पौरखी अध्यक्ष गुरुङले भनिन्

No comments:

Post a Comment