राजतन्त्रवादी र रिमले पार्टी फुटाएको होः गजुरेल

काठमाडौं, असार ५ - माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले १२ बुँदे सम्झौताको विरोध गर्ने राजतन्त्रवादी र रिमसहित देशभित्र र बाहिरका शक्तिहरूले पार्टी फुटाएको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबमा मंगलबार उनले वैद्य समूहले १२ बुँदे सम्झौतालाई नै गलत भनेकाले राजसंस्थासहितका शक्तिहरूसँगको साँठगाँठ पुष्टि भएको बताए ।
उनले भने- ‘रिम पार्टी एकताभन्दा पार्टी फुटाउनै लाग्ने गरेको विगतको इतिहास छ । वैद्यजीको समूहसँग रिमको सम्बन्धका कारणले पनि त्यस्तो कुरा पुष्टि हुन्छ ।
१२ बुँदे सम्झौता गलतभन्दा राजतन्त्र विरुद्धको आन्दोलन र गणतन्त्र नै ठिक थिएन भन्न चुनौती दिँदै गजुरेलले १२ बुँदे सम्झौता र त्यसका हस्ताक्षरकारी दलहरूबीचको सहकार्य अझै पनि आवश्यक रहेको तर्क गरे । उनले भने- १२ बुँदे सम्झौता हुँदा भारतसँग सहकार्य भएकै हो । अन्तर्राष्ट्रिय समर्थनविना कुनै पनि परिवर्तन संस्थागत गर्न सकिँदैन । लक्ष्य प्राप्त गर्न सबैसँग सम्बन्ध राख्नु पर्छ । त्यसैले भारत, चीन, अमेरिकासहितका सबै मुलुकसँग हाम्रो राम्रो सम्बन्ध छ ।
उनले शान्ति र संविधानको कोर्स नै बाँकी रहेकोले भारतसँगको सहकार्य जारी नै रहेको स्विकार्दै यो कोर्स नसकिदासम्म भारत परस्तताको आरोपमा कुनै तुक नहुने दावी गरे ।
उनले भने- ‘यथास्थितिमा चुनाव हुन सक्दैन । दलहरूबीच अहिले आक्रोश छ, एक अर्का प्रति त्यो शान्त भएपछि फेरि सहमति बन्छ र मुलुक अघि बढ्छ ।’
उनले भोलिका दिनमा जनताबीचमा गएपछि आफ्नो हैसियत थाहा पाउने भन्दै त्यसपछि आफूले अहिले सोचे अनुसार नभएपछि उनीहरू फेरि मिल्न आउने ठोकुवा गरे । उनले भने- परम्परागत ढंगले क्रान्ति अगाडि बढाउन सकिँदैन । सोचे अनुसार नभए पछि, जनतामा गएपछि उहाँहरु एकतमा आउनै पर्छ । त्यसो नभए वैद्यसमूहको पार्टी विघठन हुन्छ । उनले मौलिक क्रान्तिले मात्रै क्रान्तिलाई अगाडि बढाउने भएकोले प्रचण्डको मौलिक कार्यनीति नै सही भएको बताए ।
उनले वैद्य समूहको पार्टी विभाजनमा कुनै सैद्धान्तिक आधार नभई केवल प्रचण्डप्रतिको आक्रोस मात्रै भएको भन्दै पार्टी फुटे पनि मिलेका विषयमा दुई पार्टीबीच कार्यगत एकता हुन सक्ने सम्भावना औंल्याए । गजुरेलले भने- सहमति भएका विषयमा मिलेर जान तयार हुनुपर्छ । विवाद मेटिएपछि फेरि पार्टी एकता हुन्छ । तर अब दुई पार्टीबीचको सम्बन्ध पहिला जस्तो नभई नयाँ सिराबाट हुन्छ ।
पार्टीको आगामी विस्तारित बैठकले वैद्य समूहको आरोपलाई चिर्दै अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठवीच ठोस एकता हुने भन्दै अब पार्टी झनै स्पष्ट योजनाका साथ अगाडि बढ्ने बताए । उनले भने- ‘यसले पार्टीलाई केही क्षति हुँदैन । हिजो पनि दोस्रो महाधिवेशन र चुङवाङ बैठकपछि पार्टी झनै सशक्त भएर अगाडि बढेको थियो । अब पनि विस्तारित बैठकपछि शसक्त ढंगले अघि बढ्छ ।’
शान्ति र संविधान निर्माणको काम बाँकी नै रहेको अवस्थामा ठूला पार्टी विभाजन दुखद भएको भन्दै उनले प्रचण्डले पद त्याग गर्छु र गल्ती सच्याउँछु भन्दा पनि नमानेकाले वैद्य समूह पहिलादेखि नै पार्टी विभाजनको तयारीमा रहेको पुष्टि समेत भएको दाबी गरे । उनले भने- पहिलानै पार्टी फुटाउने विषयमा विभिन्न पक्षसँग सहमति गरिसकेकाले अहिले सबै कुरा मान्छुभन्दा पनि उनीहरू पार्टी फुटाउन पुगेका हुन् ।

No comments:

Post a Comment