पुरानो पार्टीको औचित्य छैनः वैद्य

VAIDYA_Maoist_National_Meetकाठमाडौं, अषाढ ३ - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले नयाँ पार्टी गठन प्रक्रियाका लागि शनिबार राजधानीमा राष्ट्रिय भेला सुरु गरेको छ । संस्थापन (अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई) ले क्रान्तिकारी सिद्धान्त छाडी संशोधनवादी बाटोमा गएको आरोप लगाउँदै नयाँ पार्टी गठनको प्रक्रिया थालेको हो ।
राजधानीको बौद्धस्थित शेर्पा सेवा समितिमा शनिबार देशभरबाट आएका कार्यकर्तामाझ वैद्यले पार्टी देश र जनताविरुद्ध गएको दाबी गर्दै अब त्यस्तो पार्टीको औचित्य नभएको बताए । 'पार्टी केका लागि ? देश र जनतालाई काम नलाग्ने पार्टीको औचित्य छैन,' वैद्य भने, 'त्यसकारण हामी नयाँ ढंगको पार्टी निर्माणको प्रक्रियामा छौं ।'
वैद्यले यति मात्र बताएनन्, संस्थापनसँग सम्बन्धविच्छेद गर्न तयार रहन कार्यकर्तालाई निर्देशनसमेत दिए । 'पार्टीभित्रको अवसरवाद (संस्थापन) विरुद्ध हामीले दृढतापूर्वक संघर्ष गर्न जरुरी छ,' उनले भने, 'अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले आवश्यक परे सम्बन्धविच्छेद गरी अघि बढ्नुपर्छ भन्ने सिकाएको छ ।'
भेलाको सुरुमै सचिव सीपी गजुरेलले पार्टी फुटको घोषणा गर्न कार्यक्रम नगरेको बताए पनि वैद्यले संस्थापन नै 'फुटवादी' भएको आरोप लगाए । 'जसले सर्वहारा वर्गको विचार र सिद्धान्तलाई सही ढंगले अघि बढाएको छ, त्यो एकतावादी हो,' उनले भने, 'जसले सिद्धान्त र जनताको हकहित छोड्छ, त्यो फुटवादी हो ।'
पछिल्लो समयमा वैद्य पक्षले पार्टीको २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलन (जसले प्रचण्डपथलाई मार्गनिर्देशक कार्यनीति बनाएको थियो), लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि कांग्रेस, एमालेसँग सहकार्य गर्ने निर्णय गरेको चुनवाङ बैठक (२०६२), त्यसपछि भएको १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, सशस्त्र युद्धको समाप्ति, जनसत्ताको विघटन र सेना समायोजन गलत भएको निष्कर्ष निकाल्दै पुनः विद्रोहमा जाने कार्यदिशा बनाएको थियो । यी विषयलाई वैद्यले भेलाको उद्घाटन समारोहमा पनि उठाए । '१२ बुँदे सहमति गरी आफूविरुद्धको संसद्लाई पुनःस्थापित गरियो, आधार इलाका ध्वस्त पारियो, जनयुद्ध अन्त्य गरियो,' वैद्यको भनाइ थियो, 'हुँदाहुँदा सत्तालिप्साका कारण संविधानसभा अलपत्र पारियो ।'
भेलामा पेस गर्न तयार पारेको राजनीतिक दस्तावेजमा वैद्यले 'क्रान्तिको तयारी गर्ने' उल्लेख गरेका छन् । 'क्रान्तिका लागि यो उपयुक्त समय हो तर क्रान्तिका लागि परिस्थिति निर्माण गर्दै जानुपर्छ,' उनले गर्न खोजेको क्रान्तिको व्याख्या नगरी भनेका छन्, 'हामीले क्रान्तिका लागि उपयुक्त परिस्थिति निर्माण गर्नुपर्ने आवश्यकता छ ।'
उनले खरिपाटी र पालुङटार बैठकले जनविद्रोहको नीति लिए पनि दाहाल र भट्टराईका कारण हुन नसकेको आरोप लगाए । 'अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भट्टराईले क्रान्तिकारी लाइन छाडेकाले परिस्थिति हुँदाहुँदै क्रान्ति हुन सकेन,' वैद्यको दस्तावेजमा उल्लेख गरिएको एक केन्द्रीय सदस्यले बताए ।
भेलामा आइतबार पेस गर्न तयार पारिएको १७ पृष्ठ लामो दस्तावेजमा दोस्रो राष्ट्रिय सम्मेलनमा 'प्रचण्डपथ' नामकरण गर्नु कमजोरी भएको उल्लेख छ । उनले संविधान बनाउन नसक्ने नेता असफल भएको भन्दै मुलुकले नयाँ नेतृत्व चाहेको जनाए । 'अध्यक्षले जातीय पहिचानका पक्षमा आत्मसमर्पण गरिसक्नुभएको थियो, अहिले जातीय पहिचानको आफूलाई मसिहा ठान्नुहुन्छ,' उनले भने, 'देशले नयाँ नेता खोजिरहेको छ ।'
उनले गोलमेच भेला तथा अन्तरिम सरकार निर्माणबाट निकास खोज्नुपर्ने प्रस्ताव राखे ।
स्थायी समिति सदस्य नेत्रविक्रम चन्द झन् आक्रोशित ढंगले प्रस्तुत भएका थिए । उनले अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईलाई संकेत गर्दै खुलामञ्चमा भाषण गर्दैमा पार्टी एकता नहुने बताए । 'खुलामञ्चमा भाषण गर्दैमा एकता हुँदैन, सातबुँदे प्रस्ताव बुझाए पनि एकता हुँदैन,' उनको भनाइ थियो, '२२ वर्ष पार्टी नेतृत्व गरेका अध्यक्ष र बाबुरामबारे प्रश्न उठेका छन् । अब दलालहरूबाट पार्टी बचाउनुपर्छ ।'
चन्दले संस्थापनतर्फ संकेत गर्दै 'टुपीदेखि पैतालासम्म फोहरमा डुबेका, आलिसान महलमा सुतेका नेताका लागि फुट' भएको ठोकुवा गरे । 'संविधान बनाउन नसकेकामा पश्चाताप र क्षमा माग्नु नाटक हो,' उनले भने, 'कुर्सीमा लुटपुटिएकासँग कुनै दम छैन ।' उनले संस्थापनलाई 'जल्लाद' को संज्ञासमेत दिए ।
सचिव गजुरेलले सेना समायोजन गरी संस्थापनले गद्दारी गरेको आरोप लगाउँदै पार्टी एकताको आधार समाप्त हुन थालेको बताए ।
माइक बिग्रिँदा सभा स्थगित
भेलाको उद्घाटन सत्रमा उपाध्यक्ष वैद्य र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द लगायतले बोलिसकेका थिए भने बोल्ने पालो महासचिव रामबहादुर थापाको थियो । बीचमा माइक बिग्रिएपछि लामो समय सभा अवरुद्ध भयो । त्यसपछि वैद्य, थापा र गजुरेलको सल्लाहमा स्थगित गरियो । अचानक सभा विसर्जन गरेपछि थापाको भाषण सुन्न पर्खेका कार्यकर्ताहरू यताउता लागेका थिए ।
भेलाले के गर्ला ?
वैद्य पक्षले नयाँ पार्टी गठन प्रक्रियामा भएको बताए पनि तुरुन्त घोषणा गर्ने/नगर्नेमा एकमत छैन । देशभरबाट करिब दुई हजार पाच सय नेता तथा कार्यकर्ता भेला गरी नयाँ पार्टी गठन गर्ने उपयुक्त मौका भएको निष्कर्ष निकाले पनि पार्टी फुटाएको आरोप लाग्ने उसको ठम्याइ छ । त्यसबाट बच्न उसले भेलाबाट 'पार्टी एकताका लागि कडा बटमलाइन' पारित गर्ने र संस्थापनसँग त्यसबारे वार्ता गर्ने भनाइ एकथरीको छ । अर्कोथरी संविधानसभा भंग भएको अवस्थामा विद्रोह गरी नयाँ पार्टी बनाउँदा फाइदा हुने बताउँछ ।
वैद्य पक्षीय वरिष्ठ पोलिटब्युरो सदस्य नारायण शर्माले नयाँ पार्टी गठनबारे भेलाको निर्णय महत्त्वपूर्ण हुने बताए । 'भेलाको निर्णय महत्त्वपूर्ण हुन्छ,' उनले भने, 'एकताका आधार र प्रक्रिया तय गरी बटमलाइन बनाएर संस्थापनसँग छलफल गर्ने पनि हुन सक्छ । त्यति गर्दा संस्थापनले मानेन भने विद्रोह गर्ने कुरा हुन्छ ।'
संस्थापनले एकताको कुरा गरिरहेका बेला तत्काल पार्टी फुटाउँदा राम्रो नहुने धारणा राख्नेहरू पनि उक्त समूहमा छन् । त्यसकारण यो भेलाले एकताको बटमलाइन संस्थापनसमक्ष राख्ने सम्भावना पनि छ । अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व छाड्नुपर्ने, वैद्यको जनविद्रोहको कार्यदिशा मान्नुपर्ने, शान्ति र संविधानको कार्यदिशा गलत भएको महसुस गरी आत्मालोचना गर्नुपर्ने कुरा संस्थापनले मानेमा मात्र पार्टी एकता गर्ने प्रस्ताव भेलाले पारित गर्ने सम्भावना छ ।
भेलामा वैद्य, सचिव गजुरेल र स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले नयाँ पार्टी गठन गर्ने भाषण गर्दा कार्यकर्ताको गडगडाहट ताली पाएकाले पार्टी फुटाउने कार्यकर्ताको संख्या अत्यधिक रहेको देखिन्छ ।
तत्काल नयाँ पार्टी गठनमा एकमत भयो भने दुईवटा नाम 'क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी (माओवादी)' र 'नेपाल कम्युनिस्ट पार्टी माओवादी (क्रान्तिकारी)' प्रस्तावमा छलफल हुनेछ । नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा टुंगो लागेको छैन ।
गुम्बामा भेला
वैद्य पक्षको राष्ट्रिय भेला पहिले प्रज्ञा प्रतिष्ठानको हलमा हुने बताइए पनि अन्तिममा बौद्धस्थित शेर्पा सेवा समितिको गुम्बामा गर्ने तय भएको थियो । शेर्पा समुदायका सबै कार्यक्रम यही गुम्बामा हुने गर्छन् ।
वैद्यपक्षीय काठमाडौँ जिल्ला इञ्चार्ज झकबहादुर मल्लका अनुसार भेलामा २ हजार ८ सय ५० राज्य समिति सदस्य आएका छन् । उनीहरूको खानाको व्यवस्था समितिको हलमा गरिएको छ । बस्ने व्यवस्था भने नजिकैका चारवटा पार्टी प्यालेसमा समेत गरिएको छ ।
राज्य समितिबाहेक अन्य नेताले भेला हलभित्र जान चाहेमा दुई हजार रुपैयाँ तिर्नुपर्ने छ । गुम्बा वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

No comments:

Post a Comment