वाग्मती संरक्षण गर्न एडीबीको साढे ४ अर्ब

काठमाडौं, जेष्ठ ३२ - एसियाली विकास बैंक (एडीबी) ले वाग्मती नदीको वातावरणीय र जैविक विविधता संरक्षणका लागि साढे चार अर्ब रुपैयाँ ऋण सहयोग दिने सहमति जनाएको छ ।
नदीको माथिल्लो तटीय क्षेत्रमा तीनवटा पानी संकलन केन्द्र (ड्याम), तल्लो तटीय क्षेत्रको वातावरण संरक्षण, जलउत्पन्न प्रकोप न्यूनीकरण र सहरी विकासका लागि ऋण सहयोग गर्न लागेको हो ।
पानी संकलनका लागि माथिल्लो धाप, वाग्मतीको मुहानमा र नागमतीमा पानी संकलनका लागि तीनवटा ड्याम निर्माण गरिनेछ । ती तीनवटा ड्याममा पानी संकलन गरी सुख्खायामका छ महिनामा प्रतिसेकेन्ड ५ सय लिटर पानीको बहाव वाग्मतीमा बगाउन सकिनेछ । यसबारे एडीबी र सरकारबीच आइतबार सहमति भएको हो ।
अधिकारसम्पन्न एकीकृत वाग्मती विकास समितिका अध्यक्ष महेशबहादुर बस्नेतले वाग्मती र यसका सहायक नदी किनारको वातावरणीय र जैविक विविधता संरक्षणका लागि एसियाली विकास बैंकले ठूलो रकम सहयोग गर्ने सैद्धान्तिक सहमति जनाएको बताए ।
बैंकले आयोजनाको अध्ययन अनुसन्धानका लागि मनिलाबाट आयोजनाको निर्माण तयारीका लागि प्राविधिक टोली पठाएको उनले बताए । 'अर्थ मन्त्रालयसँग पहिलो चरणको सैद्धान्तिक सहमति भयो,' उनले भने ।
सरकारले गरेको प्रस्तावअनुसार वाग्मतीको धाप क्षेत्रमा १८ मिटर उचाइको ड्याममा ७ लाख घनमिटर पानी संकलन गरेर प्रतिसेकेन्ड २४ लिटर पानीको बहाव बनाउने तयारी भएको छ । वाग्मतीमा ५० मिटर उचाइको बाँध निर्माण गरी ४० लाख घनमिटर जम्मा गरी गर्मीका ५ महिनामा प्रतिसेकेन्ड २ सय ३७ लिटर पानीको बहाव हुने अध्यक्ष बस्नेतले जानकारी दिए ।
वाग्मती नदीको उद्गमस्थल नजिकै ६० मिटर उचाइको बाँध निर्माण गरी ७० लाख घनमिटर पानी संकलन गरेर सुख्खयाममा २ सय लिटर प्रतिसेकेन्ड नदीमा पानीको बहाव कायम गर्न सकिने उनले बताए । 'तीन वर्षभित्र पशुपतिसम्म प्रतिसेकेन्ड ५ सय लिटर पानीको बहाव कायम गर्न सकिन्छ । आर्यघाटसम्म नै घुँडासम्म शुद्ध पानीको बहाव कायम गर्न सकिन्छ,' उनले भने ।
नयाँ आर्थिक वर्षदेखि काम सुरु भएपछि तीन वर्षभित्र आयोजना सम्पन्न हुने उनले बताए । 'मनिलाबाट आएको एडीबीको टोलीसँग पटक-पटक छलफल गरेर सैद्धान्तिक सहमति भइसकेको छ । प्राविधिक अध्ययन गर्न भने बाँकी छ,' उनले भने ।
आयोजनाले नदीको माथिल्लो क्षेत्रको सिमसार क्षेत्रको संरक्षणमा सहयोग गर्नेछ । मध्यवर्ती क्षेत्रका जनताको जीविकोपार्जनलगायत विभिन्न किसिमका आयमूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ । त्यस क्षेत्रका जनतालाई बाख्रा, गाईभैंसी पालनलगायतमा पनि सहयोग गर्ने अध्यक्ष बस्नेतले बताए । गोकर्णदेखि तिलगंगासम्म वातावरण सुधारका लागि तटबन्ध निर्माण पनि गरिनेछ । 'नदीका दुवैतर्फ हरित क्षेत्र पनि बनाइनेछ,' उनले भने ।
सुन्दरीजलदेखि गोकर्णसम्मको ८ किलोमिटर क्षेत्रमा विभिन्न किसिमका बगैंचा बनाइनेछ । मध्यवर्ती क्षेत्रमा सिँचाइको विकास पनि गरिनेछ, त्यसका लागि सिँचाइ विभागसँग समन्वय गरिने उनले बताए । 'बृहत् आयोजना छ, त्यसले वाग्मती नदीको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ,' उनले भने ।
आयोजनाले तल्लो तटीय क्षेत्रका जलउत्पन्न प्रकोप नियन्त्रण विभागसँग समन्वय गरी जलप्रकोप न्यूनीकरण गर्नेछ । साथै जल तथा शक्ति आयोगसँग पनि समन्वय गरी विभिन्न कार्य गर्नेछ । मनहरा नदीको वातावरण संरक्षणका लागि समेत एडीबीले सहयोग गर्न लागेको अध्यक्ष बस्नेतले बताए ।
वाग्मती सुधार समिति सदस्य एवं नयाँपाटी गाविसका स्थानीय बासिन्दा जनार्दन खड्काले वाग्मती नदी मानव सभ्यताको उद्गमस्थल भएकाले जोगाइ राख्नुपर्ने बताए । 'स्थानीयवासीमात्र नभएर यससँग सम्बन्धित सरोकारवालाले विभिन्न तरिकाले सहयोग गर्नुपर्छ,' उनले भने

No comments:

Post a Comment