राष्ट्रपतिले राजनीति गर्न मिल्दैनः पौडेल

devendra paudelप्रधानमन्त्री हटाउन सक्छन्ः यादव
काठमाडौ, अषाढ ३ - प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सेरोमोनियल राष्ट्रपतिले सरकार गठन विघटनको नाममा राजनीतिक गर्न नमिल्ने बताएका छन् ।
रिपोर्टर्स क्लबमा आइतबार पौडेलले राष्ट्रपतिलाई उक्साएर सरकार कु गर्ने प्रयास भइरहेको दाबी गर्दै सेरेमोनियल राष्ट्रपतिले त्यस्तो गर्न नमिल्ने ठोकुवा गरे ।
उनले भने- ‘राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन उक्साएर स्वयम राष्ट्रपति, लोकतन्त्र र दलहरुको हित हुँदैन बरु मुलुक झन् ठूलो अस्थिरता र अराजकता तिर जान्छ । दलका नेताहरुलाई भेटेर राष्ट्रपतिले सरकार परिवर्तन कुरा गर्नु संविधान विपरीत हो । त्यो गरे मुलुक द्वन्द्वमा जान्छ ।
उनले राजनीतिक दलको सहमति भएर प्रधानमन्त्रीले पद छाडेको अवस्थाबाहेक फेरि बहुमतको अर्को सरकार गठन गर्न नसकिने भन्दै अहिले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कसैले पनि हटाउन नसक्ने ठोकुवा गरे ।
उनले भने- दलहरुबीच सहमति भए प्रधानमन्त्रीले पद छाड्नु हुन्छ वा निर्वाचन भएर अर्को शक्ति आए प्रधानमन्त्री परिवर्त हुन्छ । अन्तरिम संविधान र अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रधानमन्त्री कसैले पनि हटाउन सक्दैन ।
संविधानसभा रहँदै वैधानिक सरकारले घोषणा गरेको निर्वाचन अवैधानिक हुनै नसक्ने समेत उनले स्पष्ट पारे । तर उनले निर्वाचन गर्ने समयको विषयमा भने दलहरूबीच कुराकानी गर्ने अवस्था भने खुला रहेको बताए । निर्वाचनका लागि सहमति र लोकतन्त्रका लागि निर्वाचनको विकल्प नरहेको भन्दै संसद पुनःस्थापना विकल्प हुनै नसक्ने उनको तर्क थियो ।
साक्षात्कारमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरीत काम गर्ने प्रधानमन्त्रीलाई राष्ट्र प्रमुख र संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले हटाउन सक्ने जिकिर गरे । उनले भने- सरकारले संविधानको उल्लघन गर्दा राष्ट्रपति अगाडि आउन सक्छन् । सहमति र विधि टेकेर राष्ट्रपति अगाडि बढ्नु पर्छ ।
यादवले संविधान उल्लघन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको हैसियतमा काम गर्न नसक्ने दाबी गर्दै संविधान निर्माणको वातावरण बनाउनै नसक्ने सरकारको हैसियत नै नभएको बताए ।
उनले राष्ट्रपतिले संविधानको धारा १५८ बमोजिम अहिलेको बाधा अडकाउन फुकाएर मुलुकलाई निकास दिन अग्रसरता लिनु पर्नेमा जोड दिए ।

No comments:

Post a Comment