संविधानमा सहमतिपछिमात्रै सत्ता साझेदारी : प्रधानमन्त्री



काठमाडौ, असार १६ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा सहमति गरेपछि मात्रै सत्ता साझेदारी हुनुपर्ने बताउनुभएको छ । सरकारी निवास बालुवाटारमा शनिवार पत्रकारसँग प्रधानमन्त्री भट्टराईले पहिले सरकार छोड्नुपर्ने दलहरुको कुरा गलत भन्दै पहिले संविधानका अन्तवस्र्तुमा सहमतिमा हुनुपर्ने जिकिर गर्नुभएको हो ।

संविधानमा जहाँ विवाद भएर रोकिएको छ... त्यहीबाट समझदारी गरी त्यसलाई अनुमोदन गर्ने विधि तय गरेपछि मात्रै सत्ता साझेदारीमा छलफल गर्नुपर्ने प्रधानमन्त्रीको तर्क छ । प्रधानमन्त्रीले संविधान बनाउनका लागि सबैभन्दा उपयुक्त विधि चुनावबाट संविधान सभा गठन गर्नु नै भएपनि दलहरुबीच सहमति भए आफू विघटित संविधान सभा पुनस्थापनाको विपक्षमा नजाने बताउनुभयो ।

सहमति प्रधानमन्त्री र राष्ट्रपतिले खोज्ने भन्ने कुरा गलत भन्दै प्रधानमन्त्रीले सहमति गर्ने जिम्मेवारी दलहरुकै भएको बताउनुभयो । दलहरुबीच सहमति भएपछि सरकारले अनुमोदन गरेर राष्ट्रपतिले जारी गर्ने प्रक्रियामा गएर संविधान सभा पुनस्थापनाको काम हुन सक्ने प्रधानमन्त्रीको तर्क छ ।

संविधान निर्माण, संविधान जारी गर्ने निकाय टुंगो लागेपछि सत्ता साझेदारीका लागि जानुपर्ने र त्यतिबेला आफू बाधक नबन्ने प्रधानमन्त्रीले बताउनुभयो । अहिले केही अन्यौल भएपनि शान्ति, संविधान र लोकतन्त्रको बाटो सुरक्षित रहेको र यसबाट कोही विमुख नभएको बताउनुभयो । नवगठित नेकपा माओवादी पनि यो बाटोबाट विमुख नभएको प्रधानमन्त्रीले दावी गर्नुभयो ।

आफू नेतृत्वको सरकार काम चलाउ नभएर चुनावी सरकार भन्दै प्रधानमन्त्री भट्टराईले पूर्ण बजेट ल्याउन छलफल चलिरहेको जानकारी दिनुभयो । पूर्ण बजेटका लागि सहमति हुने र पूर्ण बजेट नै आउने दावी गर्नुभयो । प्राविधिक कारणले मल आउन नसकेको र छिटै १२ सय टन मल आउने र किसानले मल पाउने प्रधानमन्त्रीको दावी छ ।

No comments:

Post a Comment