किन वैद्य चीन जाँदैछन् ?

काठमाडौ, असार ३१ - नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य आइतबार १० दिने चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी जान लागेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
नयाँ दल गठनपछि वैद्य विदेश विभाग प्रमुख इन्द्रमोहन सिग्देलसँग पहिलो भ्रमणका रूपमा चीन जान लागेका हुन् । भारतले हस्तक्षेप गरेको भन्दै राष्ट्रिय स्वाधीनताको आन्दोलन चर्काउने घोषणा गरेका उनको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । हालैको उच्चस्तरीय चिनियाँ टोलीले नेपाल भ्रमणका क्रममा वैद्यसँग भेटवार्ता गरेको थियो । एमाओवादी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईसँग भने नभेटीकनै फर्किएको थियो । त्यही क्रममा टोलीले वैद्यलाई चीन भ्रमणको निम्तो पनि दिएको थियो ।
भ्रमणका क्रममा दुई पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल गर्ने जानकारी प्रवक्ता भुसालले दिइन् । 'भ्रमणका क्रममा दुई पार्टीको सम्बन्धलगायत विषयमा कुराकानी हुनेछ,' उनले भनिन्, 'त्यसबाहेक दुई देशको सम्बन्धका विषयमा पनि छलफल हुन्छ ।' भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँग छलफल गर्नेछन् ।
वैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई भारतको इसारामा चलेको आरोप लगाउँदै आएका छन् । पार्टी विभाजन हुनु ठीकअघि सचिव नेत्रविक्रम चन्दले चीन भ्रमण गरी आफ्नो पक्षलाई चीनको सद्भाव रहेको बताएका थिए ।

No comments:

Post a Comment