बजेटले राजनीतिक गतिरोधको ढोका खोल्योः पुन


ठमाडौ, श्रावण १ - अर्थमन्त्री वर्षमान पुनले सरकारले आइतबार सार्वजनिक गरेको एक तृतियांश बजेटले राजनीतिक गतिरोध अन्त्यकोलागि सहमतिको ढोका खोलेको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले सरकारले पूर्ण बजेटकोलागि तयारी गरे पनि राजनीतिक दलहरुबीच सहमतिको ढोका खोल्ने उद्देश्यले पूर्ण बजेटको आवश्यकता हुँदा–हुँदै पनि सरकारले एक तृतियांश बजेट ल्याएको बताए ।
अर्थमन्त्री पुनले विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँगको छलफलपछि सरकारले तृतियांश बजेट ल्याएकोले बजेटमा विरोध गर्ने ठाँउ नभएको दावी गरे ।
उनले भने,‘बजेट सहमति गरेर ल्याएका हांै । न्यूनतम कार्यक्रममा सहमति बनेको छ । त्यसैले यसमा कसैले विरोध गर्ने ठाँउ छैन । अहिलेको बजेट पनि विगतका अर्थमन्त्री रामशरण महत र सुरेन्द्र पाण्डेले ल्याएको विशेष बजेट जस्तै छ । नयाँ केही गरेका छैनौं ।’
बजेटकै कारण राष्ट्रपति र सरकार त्यस्तै सरकार र प्रतिपक्षी दलहरुबीच द्वन्द्व नबढोस भन्ने सोचेर सरकारले आंशिक बजेट ल्याएको भन्दै यसले सहमतिको ढोका खोलेको र छिट्टै सहमति बन्ने विश्वास पनि व्यक्त गरे ।
अर्थमन्त्री पुनले संविधानसभाको निर्वाचन वा संविधानसभाको पुर्नस्थापना लगायतका विषयमा दलहरुबीच सहमति बन्नासाथ सरकारले पूर्ण बजेट ल्याउने गरी तयारी गरिसकेको जानकारी पनि साक्षात्कारमा दिए ।
बजेट अघिल्लो वर्षको खर्चको एक तृतियांश भन्दा पनि ४ हजार रुपैयाँ कमै रहेकोले नबुझेर विरोध गरिएको दावी गर्दै निर्वाचन, समायोजनका लागि महानिर्देशनालय गठन, स्वेच्छिक अवकासमा जाने लडाकुलाई रकम र नयाँ मन्त्रालयका लागि खर्चको व्यवस्था गर्नु परेकोले बजेट केही ठूलो जस्तो देखिएको बताए ।
सबै खर्च एक तृतियांश भित्र रहे पनि राष्ट्रपति, उपराष्ट्रपति सहित संवैधानिक निकायको खर्च भने वर्ष दिनकै लागि छुट्याईएकाले पनि बजेट ठूलो जस्तो देखिएको उनको तर्क थियो ।
निर्वाचन आयोगले सात अर्व माग गरेकोमा बाँकी चार अर्व रुपैयाँ शान्ति कोषबाट उपलब्ध गराउने तयारी भएको जानकारी दिदै सन्चीत कोषबाट खर्च हुने रकम संसदमा प्रस्तुत गर्न नपर्ने भएकोले त्यसलाई लिएर बढी भयो भन्नु नबुझेर तर्क गर्नु मात्रै भएको पुनले बताए ।
उनले पूर्ण बजेट आउन नसक्दा नीजि क्षेत्र हतोत्साहित भएको भए पनि हतोत्साहित नहुन आग्रह गर्दै सरकारले लगानी प्रभावित हुन नदिने विश्वास व्यक्त गरे ।
पुनले भने,‘लगानी मैत्रि बातावरण बनाउन, रोजगारी सृजना गर्न र उत्पादन बढाउन र यस वर्षको आर्थिक सुचांक राम्रो भएकाले अझै राम्रो बनाउन सरकार लागि पर्छ । आर्थिक नीतिहरु पुरानै छ । त्यसैले नीजि क्षेत्रले हतोत्साही हुनु पर्दैन ।’
यस्तै साक्षात्कारमा पूर्व अर्थमन्त्री डा भेषबहादुर थापाले राजनैतिक र संवैधानिक हिसावमा बजेट ठिक ढंगले आएपनि आंशिक बजेटले मुलुकको अर्थतन्त्रमा राम्रो प्रभाव भने पार्न नसक्ने बताए ।
उनले बजेट आर्थिक प्रक्रियामात्रै नभई राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै काम चलाउ सरकारले ल्याएको कामचलाउ बजेट भए पनि पुराना राष्ट्रिय महत्वका योजनाहरुलाई भने निरन्तरता दिनु पर्ने धारणा राखे । 

No comments:

Post a Comment