‘दस दिनभित्र राष्ट्रिय सहमति बन्छ’

काठमाडौं, असार २५ - कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दस दिनभित्र राष्ट्रिय सहमति बन्ने खुलासा गरेका छन् । रिपोर्टर्स क्लबमा बोल्दै उनले सहमतिको खाका कोरिइरहेको भन्दै देश नयाँ ढंगले अघि बढ्ने बताए ।
'दस दिनभित्र देशमा नयाँ राष्ट्रिय सहमति बन्छ,' सिटौलाले भने 'राष्ट्रिय सहमतिको सरकार निर्माण भई विद्यमान गतिरोध अन्त हुन्छ ।' उनले सहमतिको विकल्प नभएको भन्दै त्यसका लागि सबै जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए । कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गर्दै त्यसका लागि जोडतोडका साथ छलफल चलिरहेको उनको भनाइ थियो । सरकारको नेतृत्वबारे उठेको जिज्ञासामा भने, 'कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको एक घण्टाभित्र सर्वसम्मतबाट साझा उम्मेदवार दिन्छौं ।' उनले हाल चर्चामा आएका नामहरू हचुवाका भरमा ल्याइएको बताए । माओवादी, एमाले, मधेशवादी दललगायत सबै दलसँग नयाँ सहमति र सरकारबारे आफूहरूले कुराकानी गरिरहेको बताए । प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार परिवर्तन गरी नयाँ सरकार गठन गर्नुको विकल्प नभएको उनको तर्क थियो । भट्टराईलाई सरकारबाट हटी सहमतिको ढोका खोल्न उनले आग्रह गरे ।
चुनाव या संविधानसभा पुनःस्थापनाबाहेकको विकल्प नभएको भन्दै त्यसैलाई केन्द्रबिन्दुमा राखेर छलफल चलिरहेको उनको खुलासा थियो । सिटौलाले संविधानसभा पुनःस्थापनाबारे पार्टीभित्र बहस उठेको बताए । सहमतिका लागि विकल्पहरूबारे छलफल चले पनि विद्यमान वाधाअड्चन फुकाउन राष्ट्रिय सहमतिको नयाँ सरकार बन्नैपर्नेमा उनको जोड थियो । वर्तमान सरकारले तोकेको समयमा चुनाव हुननसक्ने ठोकुवा गर्दै राष्ट्रिय सहमतिको नयाँ सरकारले मात्र चुनाव गर्नसक्ने उनले बताए ।
पूर्ण बजेट ल्याउन कानुनी अड्चन भएको भन्दै एक तृतीयांश बजेट आउने सिटौलाले बताए । उनले भने, 'कानुन कुल्चेर जरबजस्ती बजेट ल्याउन मिल्दैन ।' अब बन्ने सरकारले सहमतिबाट पूर्ण बजेट ल्याउने उनको भनाइ थियो ।
माओवादी इमान्दार नहुँदा मुलुकले ठूलो मूल्य चुकाउनुपरेको समेत उलने बताए । उनले भने, 'माओवादी इमान्दार भएका भए सेना समायोजन धेरै पहिल्यै भएर देशले उहिल्यै निकास पाउँथ्यो ।' आजसम्म भएका समस्याको दोषी माओवादी भएकाले उसले जिम्मेवार ढंगले आफूलाई प्रस्तुत गर्नुपर्ने बताए । १२ बुँदे समझदारीबाट सुरु भएको शान्ति प्रक्रियाअनुरुप काम भएको भए देशले काँचुली फेरिसक्थ्यो भन्दै देशलाई पुनः सही ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिए ।
‘लिखित सहमति भए पूर्वराजाले देखाउन्
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको चर्को आलोचना गर्दै सरकारले दिइआएको सुविधा खोस्नुपर्ने बताए । नागरिकका रुपमा चुपचाप नबसी राजनीतिक अभिव्यक्ति दिँदै हिँड्नुलाई आपत्तिजनक भने । सिटौलाले भने, 'पूर्व राजाले विगतमा संवैधानिक राजसंस्था कायमै राखेर २०४७ सालकै संविधानबसेर अघि बढ्ने लिखित सम्झौता भएको अभिव्यक्ति झूट हो । सम्झौता भएको छैन, भएको छ भने देखाउन चुनौती दिन्छु । 'नभएको सहमति छ भन्दै सफेद झूट बोल्दै हिँड्नु पूर्व राष्ट्रप्रमुखलाई सुहाउँदैन । सरकारले दिइआएको सुविधा बिर्सेर जनतामा भ्रम छर्दै हिँड्नु गलत हो । ज्ञानेन्द्र शाहले हुँदै नभएको कुरा बोल्दै हिँड्नुका पछाडि पुनः राजा बन्ने सपना लुकेको हुनसक्ने बताए । शाहको राजतन्त्र फर्काउने सपनालाई नेपाली जनताले कहिल्यै स्वीकार्न नसक्ने भन्दै प्रतिगामी प्रवृत्तिको सामना नेपाली जनता आफैले गर्ने र गतिलो जवाफ दिने बताए ।
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले दिइआएको सुविधाबारे तत्काल निर्णय गर्नुपर्ने बताए । माघ १९ ल्याउन उक्साउनेहरूले नै पूर्वराजालाई पछिल्लो अभिव्यक्ति दिँदै हिँड्न उक्साइरहेको बताए । नेपालमा राजतन्त्र फर्कन नसक्ने ठोकुवा गर्दै उनले भने, 'देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ, अब फेरि राजतन्त्र आउँछ भन्नु कोरा कल्पना मात्र हो । कसैले राजतन्त्र फर्काउँछु भन्नु मनको लड्डु घ्यूसित खानुबराबर हो ।'

No comments:

Post a Comment