ज्ञानेन्द्र फर्कन सक्छन्: हिसिला


काठमाडौं, असार २६ - एमाओवादीकी पोलिटब्युरो सदस्य हिसिला यमीले पूर्व राजा ज्ञानेन्द्र शाह फर्कन सक्ने बताएकी छन् । रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै दलीय प्रणाली असफलतातिर बढेकाले ज्ञानेन्द्र फर्कन सक्ने भन्दै सतर्क हुन आग्रह गरिन् ।
'दलीय प्रणाली असफलतातिर बढ्दैछ, असफल भए ज्ञानेन्द्र फर्कनसक्छन्, 'प्रधानमन्त्री पत्नी हिसिलाले भनिन्, 'बूढी मरीभन्दा काल पल्केला भन्ने डर भइसक्यो ।' दलहरू सत्ताको लुछाचुडी गर्दा पूर्वराजालाई फाइदा पुगिरहेको उनको टिप्पणी थियो । कांग्रेस र एमाले सत्तामामात्र केन्द्रित भइरहकोमा आलोचना गर्दै सहमतिका लागि लचिलो नभए ठूलो क्षति भोग्नुपर्ने औंल्याइन् ।
'ज्ञानेन्द्रबाट चेतावनी आइसक्यो, अझै सचेत हुनुभएन भने फर्कन्छन् ।' प्रधानमन्त्री भट्टराई तानाशाह आउनसक्ने खतरालाई रोक्न जिम्मेवारीका साथ प्रस्तुत भइरहको बताइन् ।
यमीले प्रधानमन्त्री भट्टराई राजीनामा दिन तयार भएको बताइन् । शान्ति र संविधानका विषयमा प्याकेजमा सहमति भए तत्काल पद छाड्न तयार भइसकको बताएकी हुन् । 'बाबुराम भट्टराई जेठ १४ मै राजीनामा दिन ठिक्क परिसक्नुभएको थियो, 'उनले भनिन्, 'प्याकेजमा सहमतिमात्र होस् एक मिनेट पनि पदमा बस्नुहुन्न । 'प्रधानमन्त्री भट्टराई माथि पदलोलुप भनी लागेको आरोपको खण्डन गर्दै देशलाई दुर्गतिमा जानबाट रोक्न जिम्मेवारी पूर्वक काम गरिरहेको बताइन् ।
शान्तिको काम ९० प्रतिशत र संविधानको काम ७५ प्रतिशत पूरा भइसकेको भन्दै वर्तमान सरकारले शान्ति र संविधानका काम पूरा भएको हेर्न चाहेको बताइन् । राष्ट्रिय सहमति निर्माणका लागि सर्वदलीय बैठक डाक्दा कांग्रेस, एमाले लगायतका दलले बहिष्कार गरेकोमा आलोचना गर्दै भनिन्, 'उहाँहरू बाबुरामले डाकेको बैठक बहिष्कार गर्नुहुन्छ, हाम्रै पार्टी अध्यक्ष प्रचण्डले डाकेको बैठकमा जानुहुन्छ । 'बाबुराम र प्रचण्डबीच अन्तर्द्वन्द्व बढाएर फाइदा लिन कांग्रेस र एमाले सक्रिय रहेको आरोप लगाइन् ।
पूर्ण बजेट ल्याउन सरकार दृढ रहेको भन्दै यमीले कुनै पनि चुनौतीका सामु नझुक्ने बताइन् । विपक्षी दलहरूलाई आंशिक बजेटको मुद्दा लिएर सडकमा जान चुनौती समेत दिइन् । 'सकभर सहमतिको वातावरण तय गर्छौं, नभए पूर्ण बजेट ल्याएरै छाड्छौं ।'
नेकपा-माओवादीलाई जनयुद्धमा गएर देखाउन चुनौती दिइन् । नेकपा-माओवादी जनयुद्धमा जान्छ भन्ने प्रश्नमा उनले भनिन्, 'माइनस माओवादी जनयुद्धमा गएर मात्र देखाउन् ।'
कांग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता छाडेर सहमतिको ढोका खोल्नुपर्ने बताए । 'बाबुरामजी नेपालीजनताले भन्दा विदेशीले प्रधानमन्त्री बनाइ दिएको जस्तो व्यहोरा गरिरहनुभएको छ, 'उनले थपे, 'अत्तो थापेर सत्ता टिकाउने प्रवृत्ति छाड्नुपर्छ ।' सहमतिको विकल्प नभएको भन्दै त्यसका लागि माओवादी पछि हट्नैपर्ने बताए ।
वर्तमान संविधानलाई जीवित बनाउने प्रमुख चुनौती रहेकाले सहमतिमै जानुपर्ने उनको भनाइ थियो । जबरजस्ती गरेर बढ्न खोजे गम्भीर परिणाम भोग्नुपर्ने चतावनी समेत दिए । पूर्ण बजेट ल्याउन सम्भवन भएको भन्दै एक तृतीयांश बजेट ल्याउनआग्रह गरे ।
नेकपा एमालेका केन्द्रीय सदस्यगंगालाल तुलाधरले प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग नगरे सडक तताउने चेतावनी दिए । 'माओवादीले सत्ताकब्जा गरेको छ, 'उनले भने, 'पद त्याग नगरे सडक कब्जा गर्छौं ।' प्रधानमन्त्रीले देशलाई भयावह खाडलमा धकेल्न खोजिरहेको आरोप लगाउँदै सम्भावित रक्तपातको खतरा मडारिएको बताए । देशलाई मुठभेड र रक्तपातबाट जोगाउन प्रधानमन्त्रीका सामु पद त्याग बाहेकको विकल्प नभएकाले राष्ट्रिय सहमतिका लागि मार्ग खोल्न आग्रह गरे ।
बजेटभन्दा प्राथमिक विषय राष्ट्रिय सहमति भएको उल्लेख गर्दै भने, 'प्रधानमन्त्रीले राजिनामा दिएपछि सहमतिको बाटो खुल्छ, बजेट पनि सहमतिमै आउँछ ।' जबरजस्ती गर्ने प्रवृत्ति माओवादीको रहेको आरोप लगाउँदै आफूहरू फरक ढंगले बढ्ने उनको भनाइ थियो । विगतमा आफूहरू सरकारमा रहँदा बजेट ल्याउँदा माओवादी सभासदहरूले ब्रिफकेश खोसेको प्रसंग उठाउँदै भने, 'हामी त्यस्तो व्यहोरा गर्दैनौं, तर जबरजस्ती गर्छन् भने सडकबाटै कडा प्रतिकार गर्छौं ।' सस्तो ढंगले अध्यारा कोठाहरुमा बजेट बनिरहेको सूचना पाएको भन्दै सरकारको नियत जनविरोधी रहेको आरोप लगाए ।

No comments:

Post a Comment