अनियमितताको आरोप लागेका कमान्डरहरुद्वारा राजीनामा


ladakuकाठमाडौ, श्रावण ४ - आर्थिक अनियमतिताको आरोप लागेपछि सबै लडाकुशिविरका पूर्व कमान्डर र सहायक कमान्डरहरुले बिहीबार सामूहिक राजीनामा गरेका छन् ।
पूर्व लडाकुहरुले शिविरका कमाण्डरले आर्थिक अनियमितता गरेको आरोप लगाएपछि कमान्डर र सहायक कमान्डर समेत गरी १२ जनाले पार्टी नेतृत्व समक्ष राजीनामा बुझाएका छन् ।
राजीनामा बुझाउने पूर्व कमाण्डरहरुमा एक नम्बर शिविर इलामका यमबहादुर अधिकारी, दुई नम्बर सिन्धुलीका सुकबहादुर रोक्का, तेस्रो डिभिजन चितवन शक्तिखोरका धनबहादुर मास्की, चौथो शिविर नवलपरासीका तेजबहादुर ओली, छैटौं शिविर सुर्खेतका महेन्द्रबहादुर शाही र सातौं डिभिजन कैलालीका सन्तु दराई छन् । ती ६ वटै शिविरका सहायक कमान्डरहरुले पनि राजीनामा गरेका छन् । पाँचौ शिविरमा कमान्डर लामो समयदेखि रिक्त छ ।
माओवादी लडाकुका तत्कालीन ७ मुख्य र २१ सहयाक शिविरका कमान्डरले मासिक १ हजारका दरले उठाउने, रासन र भत्ता वापतको रकममा अनियमितता गरेको आरोप छ ।  आर्थिक अनियमितताको छानविन हुनुपर्ने पूर्व लडाकुहरुले माग गरेपछि एमाओवादीको सातौं विस्तारित बैठक बुधबार स्थगित भएको थियो । यता, पार्टी स्थायी समितिले शिविर भित्रको अनियमतिता छानविनका लागि आयोग बनाउने निर्णय गरेको छ ।
यसैबीच पूर्व लडाकुको असन्तुष्टि कम गर्न उनीहरुको माग अध्यक्षको दस्तावेजमै राख्न पार्टी नेतृत्व तयार भएको छ । पूर्व लडाकुहरुसंगको छलफलपछि उक्त निर्णय गरिएको सचिव पोष्टबहादुर बोगटीले जानकारी दिए ।  
कतिपय माग अध्यक्षको दस्तावेजमै समावेश भएको र नभएका विषय समेटिने लडाकु कमान्डर नन्दकिशोर पुनले जनाए ।

No comments:

Post a Comment