विस्तारित सडकमा साइलक लेन बनाउ


काठमाडौं, श्रावण २ - स्वच्छ उर्जा नेपाल (सिईएन) ले राजधानीमा भइरहेको सडक विस्तारका क्रममा साइकल लेन र साइकल यात्रीलाई सहज हुने किसिमको संरचना निर्माण गर्न प्रधानमन्त्री बाबुराम भट्टराईको ध्यानाकर्षण गराएको छ । सिईएनले सोमवार हेलो सरकारलाई ज्ञापन पत्र बुझाउँदै राजधानीमा साइकल लेन र आवश्यक पूर्वाधारको व्यवस्था गरी राजधानीलाई साइकल मैत्री सहर बनाउन प्रधानमन्त्री र सम्वद्ध निकायहरुको ध्यानाकर्षण गराएको हो ।
सिईएनका कार्यक्रम निर्देशक मञ्जित ढकालले सहरी विकास योजनामा यातायात प्रणाली व्यवस्थापनको पक्षमा महत्व नदिईएकाले सडक विस्तारका क्रममा साइकल लेन र साइकल प्रयोग गर्नेलाईसमेत सहज हुने गरि बाटो बनाउन ध्यानाकर्षण गराएको उल्लेख गरे । 'भौगोलिक, जलवायु र आकारका हिसाबले काठमाडौं पैदलयात्रा र साइकल प्रयोग अनुकुल छ' वातावरणकर्मी ढकालले भने, 'तर, कहिल्यै पनि साइकल मैत्री सहर बनाउनेतर्फ ध्यान दिईएन ।'
सिईएनले यसअघि पनि प्रधानमन्त्री कार्यालय, महानगरीय ट्राफिक प्रभाग, काठमाडौं उपत्यका नगर विकास समिति, सडक विभाग र काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराईसकेको छ । ज्ञापनपत्रमा राजधानीका सबै सडक पैदयात्री, अपांग मैत्री र साइकलमैत्री बनाउन माग गरिएको छ । साइकल यात्री बढावा गर्न र साइकल मैत्री सडक र लेन माग गर्दै गत २४ चैतमा 'साइकल सिटि २०२०', 'क्लिन एयर नेटवर्क नेपाल' र सिईएनलगायतका सरोकारवाला निकायको पहलमा वृहत साइकल र्‍यालीसमेत गरेका थिए ।
साइकल लेन निर्माणकालागि ध्यानाकर्षण गराउन त्यसक्रममा सयौं साइकलयात्रीको स्वेच्छाबाट जम्मा भएको रकमबाट साइकल किनेर वातावरण दिवस २३ जेठमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई उपहारसमेत दिईएको थियो ।
सडक विभागले १४ मिटर भन्दा चौडा सडकमा साइकल लेनसहितको डिलाईन गरेकाले त्यसलाई तदारुकतासाथ लागु गर्नसमेत ज्ञापन पत्रमार्फत् पुनः ध्यानाकर्षण गराईएको ढकालले जनाए । 'अहिले राजधानीमा विस्तार भएका हरेक सडकमा साइकललेन हुनुपर्छ' उनले भने ।
साइकल लेन नहुँदा वर्षेनी सडक दुर्घटना बढ्नुका साथै घण्टौं सडक अस्तव्यस्त हुने गरेकोसमेत औंल्याईएको छ । सडक विभाग र जापानी सहयोग नियोग -जाईका) ले गरेको एक अध्ययन अनुसार १९९१ को तुलनामा २०१२ मा साईलक यात्रीको संख्या ६.६ बाट १.५ प्रतिशतले घटेको देखाएको छ ।

No comments:

Post a Comment