नेकपा-माओवादी अर्धमूमिगत रूपमा


ल्पा, श्रावण १ - माओवादीको उद्गमस्थल मानिएको रोल्पामा एमाओवादीबाट विभाजित नेकपा-माओवादीले आफ्ना गतिविधि अर्धभूमिगत रूपमा सञ्चालन गर्ने जनाएको छ । पार्टी स्रोतका अनुसार जिल्लामा जिम्मेवारी बाँडफाट गर्दै सबै नेताहरूको छद्म नाम समेत सार्वजनिक गरिएको छ ।
एमाओवादी संशोधनवादमा फसेकाले आफूहरूले त्यो पार्टी त्यागेर पार्टी पुनर्गठन गर्नुपरेको जनाउँदै नेताहरुले पार्टीले खुला र भूमिगत मोर्चा खडा गरेको बताएका छन् । जिल्लामा भएको पहिलो भेलाले विभिन्न विभागीय समिति निर्माण गरेको र कमाण्ड परिचालन गरिएको सार्वजनिक गरिएको हो । विज्ञप्तिमार्फत् विभिन्न १७ प्रकारका विभाग बनाइएको जिल्ला सचिव केशबहादुर बाठा सुवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
केही दिन अघि सकिएको भेलाबाट एकीकृत माओवादीमा भएका ७० क्षेत्रीय व्युरो सदस्यमध्ये ४० जना आफ्नो पार्टीमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आफ्नो वास्तविक नाम लुकाउँदै इलाका, क्षेत्र, मोर्चा, किसान, विद्यार्थी, शिक्षक, महिला, संयुक्त संघर्ष समिति, जनस्वयंसेवक, अनुशासन, स्कुलिङ, सञ्चार, सांस्कृति विभाग लगायतका संयोजकको चयन गरिएको हो । मोर्चालाई थप प्रभावकारी बनाउन हरेक विभागका इन्चार्ज, सह इन्चार्ज, सेक्रेटरी तथा सह सेक्रेटरीको नामावली सार्वजनिक गरिएको हो । जिल्लास्तरीय एक नेताका अनुसार पार्टीले खुला र अर्धभूमिगत मोर्चा सञ्चालन गरेकाले सबैको छद्म नाम राखिएको हो । अधिकांशले एमाओवादीमा हुँदाको छद्म नाम पनि परिवर्तन गरेका छन् ।
लिबाङ इलाका इन्चार्ज रत्न महराले पार्टी भूमिगत हुने वा खुला हुने सम्बन्धमा छलफल जारी रहेको बताए । पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने अवस्था आएमा सीपी गजुरेलको अगुवाईमा दर्ता गरिने तयारी भएको उनले बताए ।
एमाओवादीको मूल नेतृत्वले जनतालाई धोका दिएको निष्कर्ष निकाल्दै विज्ञप्तिमा अबको पार्टीले देशको रक्षा र अपूर्ण क्रान्तिको अभिभारालाई पूरा गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको हो । नव गठित मोर्चाहरूका प्रमुखहरूमा पूर्व लडाकुहरूको सहभागिता रहेको छ । शिविरबाट स्वैच्छिक अवकाशमा निस्केका उनीहरूले दुवै पार्टीमा सहभागी भई राजनीति गर्ने इच्छा जनाइसकेका छन् ।
केही दिन अघि प्रशिक्षणमा आएका पार्टी सचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीले आवश्यक परे हतियार उठाउने बताएका थिए । एकीकृत माओवादीसहित अन्य दलले बाध्य पारे हतियार उठाई विद्रोह थाल्ने बताउँदै उनले आमूल परिवर्तन गर्न विद्रोह वा सशस्त्र युद्धको औचित्य अझै आवश्यक भएको घोषणा गरेका थिए । 'जनदमन भएमा पुनः हतियार उठाउने वा राजनीतिक विद्रोह गर्न सकिन्छ,' उनले भने । पुनः युद्ध सुरु गर्नु परेमा फागुन १ नै पर्खनु नपर्ने उनले बताए । उनले कार्यकर्तालाई संगठन विस्तार गर्न र विद्रोह, जनयुद्ध गर्न जुनसुकै बेला पनि तयार रहने निर्देशन पनि दिए ।

No comments:

Post a Comment