कांग्रेस नेतृत्वसँग जिल्ला सभापतिको भेला बोलाउन माग


काठमाडौँ, असार २१ - नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र भावी रणनीति बनाउन जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन पार्टी नेतृत्वसँग माग गरेका छन्। आज पार्टीका शीर्ष नेताहरुलाई भेटी उनीहरुले यस्तो माग गरेका हुन्।

बागमती अञ्चलका जिल्ला सभापतिहरुले आज पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठनेता शेरबहादुर देउवासँग अलग अलग भेट गरी अन्योलपूर्ण राजनीतिक अवस्थाको सामना गर्न भावी रणनीति कोर्न जिल्ला सभापतिहरुको भेला बोलाउन माग गरेका हुन्।

उनीहरुले गतवर्ष भएको जिल्ला सभापतिहरुको भेलाको निर्णयअनुसार यसपटक पनि जिल्ला सभापतिहरुको भेला गर्नुपर्ने माग पार्टी नेतृत्वसँग राखेको नुवाकोट जिल्लाका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान र निर्वाचनलगायतका बारेमा रणनीति बनाउन भेला बोलाउन आवश्यक रहेको सुझाव नेतृत्वलाई दिएको उल्लेख गर्दै जिल्ला सभापति केसीले भेला साउनको १५ वा १६ गतेसम्म आह्वान गर्न आग्रह गरिएको बताए।

जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन माग गर्दै काठमाडौँका जिल्ला सभापति भीमसेनदास प्रधान, ललितपुर जिल्ला सभापति मदन अमात्य, धादिङ जिल्ला सभापति रामनाथ अधिकारी, सिन्धुपाल्चोक जिल्ला सभापति मोहन बस्नेत, काभ्रे जिल्ला सभापति शिव हुमागाईं र नुवाकोट जिल्ला सभापति केसीले तीन शीर्ष नेतालाई भेट गरेका थिए। -रासस

No comments:

Post a Comment