पत्नीको दबाबमा प्रचण्ड


prachandaकाठमाडौ, कार्तिक ४ - दसैँको केही दिनअघि संविधानसभा निर्वाचनका लागि काठमाडौँ-४ का उम्मेदवार तथा पूर्वलडाकू कमान्डर नन्दकिशोर पुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास लाजिम्पाट पुगे। उनी त्यहाँ छिर्नुको कारण थियो, 'पार्टी हेडक्वार्टर'ले उम्मेदवारलाई उपलब्ध गराउने भनिएको आर्थिक सहयोग प्राप्त गर्नु। तर, उनको त्यो उद्देश्य पूरा भएन । रकम उठिनसकेकाले पछि दिने भन्दै प्रचण्डले उनलाई फर्काइदिए। त्यसै दिन निर्वाचन प्रचारप्रसारका लागि प्रचण्डकी माइली छोरी रेणु दाहाल, जो काठमाडौँ-१ बाट उम्मेदवार हुन्, लाई भने दुई लाख रुपियाँ दिइएको सूचना पुनको कानमा पुग्यो। खासमा पार्टीको केन्द्रीय सल्लाहकारसमेत रहेकी पत्नी सीताको दबाबसामु टिक्न नसकेर प्रचण्डले पुनलाई रित्तै हात फर्काएर छोरीलाई 'निर्वाचन खर्च' दिएका थिए।
केही अपवादबाहेक पत्नी सीताका कुरा काट्नै नसक्ने प्रचण्ड चुनावी टिकट वितरणको सन्दर्भमा पनि त्यसै गरी दबाबमा परेको स्रोतको दाबी छ। सुरुमा आफूले काठमाडौँ-१० र छोरी रेणुले काठमाडौँ-१ बाट निर्वाचन लड्दा परिवारवाद हावी भएको, सुगम निर्वाचन क्षेत्र रोजेको जस्ता आरोप लाग्न सक्ने र विरोधीका लागि यो राम्रै मसला बन्न सक्ने आकलन गर्दै प्रचण्ड रेणुलाई टिकट दिन आनाकानी गररिहेका थिए। यद्यपि, पत्नी सीताका अघि उनको आनाकानी निम्छरो बन्यो।
२ असार ०६३ मा प्रधानमन्त्री निवास बालुवाटारबाट सार्वजनिक नहुन्जेल एमाओवादी अध्यक्ष प्रचण्डकी पत्नी सीताका बारेमा आममानिसलाई कुनै जानकारी र चासो थिएन। एक वर्षअघि प्रचण्ड-सीताका एक्ला छोरा प्रकाश बिना मगरसँग कुलेलम ठोकेपछि सीताका बारेमा अनेक टिप्पणी भइरहेका छन्। अझ सीताकै चाहनामा भित्र्याइएकी बुहारी अर्थात् प्रकाशकी दोस्री पत्नी सिर्जना त्रिपाठीले त पाँच महिनाअघि एक मासिक पत्रिकामा सासूका बारेमा तीतो नै पोखिन्। साँच्चै २२ वर्षसम्म एकलौटी रूपमा पार्टी प्रमुख र मुलुकका प्रधानमन्त्रीसमेत रहिसकेका प्रचण्डकी पत्नी सीता को हुन् र कस्ती छिन् त? उनका बारेमा गरिएका टिप्पणी यथार्थ हुन् या हल्ला मात्र ?
मुलुकको राजनीतिमा प्रचण्डकै खटनपटन चल्ने भए पनि परिवारमा भने सीता नै सर्वेसर्वा हुन्। कुनै पनि विषयमा सीताले अड्डी लिएपछि प्रचण्ड त्यसलाई अस्वीकार गर्न सक्तैनन्। कराएर, चिच्याएर वा रोएर जसरी भए पनि आफ्ना कुरा लागू गरेरै छाड्ने हठी स्वभाव छ सीताको। त्यसैको परिणाम, छोराछोरीमाथि सीता नै हावी भएको एक एमाओवादी नेताको अनुभव छ।
उमेरमा प्रचण्डभन्दा सीता सात महिना जेठी छिन्। त्यसैले पनि विवाहलगत्तै सीताले प्रचण्डलाई 'डोमिनेट' गर्न थालेको उनलाई जान्ने/बुझ्नेहरू सुनाउँछन्। औपचारकि पढाइका हिसाबले सीता साक्षर मात्र हुन्। उनका भाइ केदार पौडेल नै भन्छन्, "दिदीको पढाइ भएन। हामीले पनि अलिअलि मात्र पढ्यौँ।"
पहाडको घर कास्की होस् वा मधेसको चितवन, प्रचण्ड र सीताका घर निकट थिए। प्रचण्डको कास्कीको ढिकुरपोखरी, सीताको हेम्जा। संयोग, प्रचण्डका पिता र सीताका पिता एकै वर्ष ०१९ सालमा चितवन बसाइँ सरेका थिए। चितवनमा प्रचण्डका पिताले भीमसेननगर र सीताका पिताले पटियानी, सुन्दरबस्तीमा बसोवास सुरु गरे। यी दुई बस्तीबीचको पैदल दूरी १५ मिनेटजतिको मात्र छ।
वैशाख ०२६ मा उनीहरूबीच मागी विवाह भएको थियो। जनयुद्धका नायक पुस्तकमा लेखक राजेन्द्र महर्जनसँग सीताले भनेकी छन्, 'वास्तवमा हाम्रो विवाह भएको लामो समयपछि मात्र बोलचाल भयो। उहाँ पनि केटाकेटी लाज मान्ने, म झन् महिला। ...बिहेपछि केटाकेटीदेखि नै सँगै जन्मेको, सँगै हुर्केको जस्तो भयो। सानैमा विवाह भएकाले हामी साथी र दिदीभाइजस्ता थियौँ।'
सीताका बाल्यकालका साथी नपिया पावेका अनुसार उनको माइतीको प्रशस्त जमिन थियो। २० भन्दा बढी त भैँसी थिए। घरमा कामदार थिए। धनी परविार भएकाले विवाहअघि उनले काम गर्नुपर्ने बाध्यता थिएन। उनका मामा केशव गौतमले शिवनगरका पुष्पकमल अर्थात् प्रचण्डसँग सीताको लगन जुराइदिएका थिए। पौडेल परिवारले पढेको केटो भनेर छोरी दिन खोजे। दाहाल परिवारले पनि धनीकी छोरी भित्र्याउन खोजे। "धनीकी छोरी, काम गर्न गाह्रो मान्थिन्," प्रचण्डका कान्छा काका धनपति दाहाल भन्छन्, "त्यसले परिवारमा कुरो मिलेन।"

No comments:

Post a Comment