बाबुरामको जित निश्चित छ: प्रचण्ड

रुपन्देहीको बुटवलमा शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऐतिहासिक धार्मिक महत्वका लुम्बिनी र मिथिलाको विकासको लागि आफूले जनकपुर र भट्टराईले रुपन्देही क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएको उल्लेख गरे ।

prachanda and baburamरूपन्देही, कत्तिक १ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई र पहाडमा बहुमत सहित पार्टीको जित हुने अपेक्षासहित डा. बाबुराम भट्टराई र आफूले संविधानसभाको दोस्रो निर्वाचनको लागि दुई ठाउँबाट उम्मेदवारी दिएको बताएका छन् ।
उनले भने, ‘बाबुराम जी यहाँ चुनाव जित्नको लागि मात्र होइन, लुम्बिनीको विकास र तराई–पहाडको समन्वयको लागि आउनुभएको हो ।’ नेता प्रचण्डले तराई र पहाडको सन्तुलन मिलाउनु चुनावी रणनीतिको एउटा पाटो भएको तर्क गर्दै यस क्षेत्रमा भट्टराईको विजय सुनिश्चित भएको दावी गरे ।
कार्यक्रममा स्थानीय एमाले नेता तथा जनजाति अगुवा होमबहादुर गलामीलाई टिका र माला पहिराएर प्रचण्डले पार्टी प्रवेश गराए । गलामी यसअघि एमाले वडा अध्यक्ष तथा अन्य दर्जनौं सामाजिक संघसंस्थाका अगुवा थिए । त्यस्तै नेपाली कांग्रेस निकट मानिने स्थानीय व्यापारी एम.के. मिया पनि एमाओवादीमा प्रवेश गरेका छन् । उनलाई पनि प्रचण्डले पार्टी प्रवेश गराए ।
उक्त कार्यक्रममा बोल्दै डा. बाबुराम भट्टराईले राजनीतिक स्थायित्व र लुम्बिनी क्षेत्रको तीब्र आर्थिक विकासका लागि आफ्नो उम्मेदवारी दिएको भन्दै यहाँका जनताले एमाओवादीलाई बहुमतले जिताउने आशा व्यक्त गरे । कार्यक्रममा रुपन्देहीका डेढ सय अन्य पार्टीका कार्यकर्ता एमाओवादीमा प्रवेश गरेको पार्टीका रुपन्देही सेक्रेटरी यज्ञ पोखरेलले जानकारी दिए ।
प्रचण्ड र डा. भट्टराईले शुक्रबार दिनभर पार्टी कार्यकर्तालाई प्रशिक्षण दिए । कार्यक्रममा डिलाराम आचार्य, चन्द्रप्रकाश खनाल बलदेव, टंकमणी शर्मा लगायतका नेताहरुको पनि सहभागिता थियो ।
-

No comments:

Post a Comment