कोठा नपाएर लाजिम्पाटको घर छाड्न सकिएन : प्रचण्ड



हेटौंडा, माघ २५ – हेटौंडामा चलिरहेको सातौं राष्ट्रिय महाधिवेशनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उपयुक्त कोठा नपाएका कारण अहिले बसिरहेको लाजिम्पाटको घर छोड्न नपाएको जिकिर गर्नुभयो ।

महाधिवेशनमा प्रतिनिधिहरुले लाजिम्पाट महल नछोडेको भन्दै आफुप्रति गरेको ब्यंग्य र विरोधको जवाफमा प्रचण्डले यस्तो बताउनुभएको हो । समग्र माओवादी नेतृत्व विलाशी बन्दै गएको भन्दै महाधिवेशनमा त्यसको चर्को विरोध भएको थियो ।

महाधिवेशनमा आफू पक्षीय प्रतिनिधिले निक्कै जोडतोडका साथ उठाएको धोवीघाट प्रकरणमा अध्यक्ष प्रचण्डले उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको समर्थन गर्नुभएको छ । प्रचण्डले धोविघाट प्रकरणमा दुवै निर्दोष रहेको भन्दै भट्टराई र श्रेष्ठको बचाउ गर्नुभएको थियो ।

उहाँले तत्कालीन उपाध्यक्ष मोहन वैद्य किरणनै धोविघाट प्रकरणको मुख्य दोषी रहेको दावी गर्नुभयो । यसअघि महाधिवेशन प्रतिनिधिले नेतृत्वलाई एक्ल्याएर घेराबन्दी गरिएको भन्दै धोविघाट प्रकरणलाई कालो इतिहासका रुपमा लेख्नुपर्ने माग गरेका थिए ।

महाधिवेशनमा उठेका प्रश्नको जवाफ दिंदै प्रचण्डले सीमा विवाद जनमत संग्रहबाट टुंग्याउने कुरा प्रतिवेदनमा त्रुटीबस परेको भन्दै हटाउने प्रतिवद्धता जनाएको र भारतसंग गरिएको विप्पा सम्झौतालाई आफ्नो अनुकुलमा ढाल्न सक्नुपर्ने बताएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिबेदन सामान्य परिमार्जन सहित पारित भएको छ । प्रवक्ता अग्नि सापकोटाका अनुसार प्रचण्डपथलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदन पारित भएको छ ।

No comments:

Post a Comment