भारतको कुम्भ मेलामा भएको भागदडौडमा ३६को मृत्यु



इलाहाबाद (भारत), २९ माघ । भारतको धार्मिक उत्सव कुम्भमेलाबाट तीर्थयात्रीहरू घर फर्कदै गरेको अवस्थामा भएको भागदौडमा कम्तीमा ३६ व्यक्तिको मृत्युभएको समाचार प्राप्त भएको छ । आइतबारको दिन गङ्गाको किनारामा तीन करोड तीर्थयात्री भेला भएको र यो कीर्तिमान भएको बताइएको छ ।

आइतबार भएको भागदौडमा दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ । दुर्घटना ५५ दिने यस मेलाको सबैभन्दा महत्वपूर्ण दिन एक रेलबिसौनीमा भएको बताइएको छ । यस हिन्दू मेलालाई विश्वमा सबैभन्दा ठूलो मानव भेलाको रूपमा लिइन्छ ।

एक रेल बिसौनीको पुलको रेलिङ भीडको दबाब खप्न नसक्दा भाँचिएको स्थानीय अधिकारीहरूले बताए भने प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज गरेको एक प्रत्यक्षदर्शीले बताए ।

घाइते व्यक्तिलाई इलाहाबाद विसौनीमा एम्बुलेन्समा लगिएको थियो भने उनीहरूका आफन्तले आपत्कालीन सेवा घटनास्थल पुग्न घण्टौँ लागेको बताए । घटनास्थलमा सेतो कपडाले ढाकेका शवहरू निकै समय रहेको देखिएको थियो ।

उत्तरी तथा केन्द्रीय रेलसेवाका प्रवक्ता अमित माल्भियाले २० शवको पहिचान भएको र १६ शवको आफन्त फेला पार्न बाँकी रहेको जानकारी दिए ।

मर्नेमा १४ महिला छ पुरुष परेको बताइएको छ । मर्नेमा सबैभन्दा कान्छी आठ वर्षीया एक बालिका परेकी छन् भने सबैभन्दा प्रौढमा ७५ वर्षीय एक पुरुष परेका छन् ।

यस दिन गङ्गामा स्नान गर्दा पाप पखालिन्छ भन्ने विश्वास गरिन्छ र यस वर्ष यस मेला अवधिमा १४७ वर्षमा एक पटक ग्रहहरू एकै रेखामा पुग्ने अवस्था पनि देखिने छ । केहीका लागि यो दिन अझै महत्वपूर्ण हुनेछ ।

स्थानीय अधिकारी देवेश चतुर्वेदीले मध्यान्हसम्म दुई करोड व्यक्तिले गङ्गामा स्नान गरेको तथा साँझ त्यो सङ्ख्या तीन करोड पुगेको जानकारी दिए ।

भागदौडपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले एक विज्ञप्ति जारी गर्दै आफू यस दुर्भाग्यपूर्ण दुर्घटनाबाट स्तब्ध भएको बताउनुभएको छ । रेलमार्गमन्त्री पवन कुमार वंसल अनुसन्धानका लागि इलाहाबाद जानुभएको छ ।

उत्तर प्रदेशको स्थानीय वासिन्दा अशोक शर्माले मानिसहरूले उक्त रेलिङमा आराम गरिरहेको समयमा त्यसले भार वहन गर्न नसकेको र त्यसको जेडाइ टुटेको जानकारी दिए ।

रेलमार्गमन्त्री वंसलले यस कुरालाई अस्वीकार गर्नुभयो र उहाँले रेल विसौनीमा अति भीडका कारण भागदौड भएको हुनसक्ने बताउनुभयो । पीडितका आफन्तले प्रहरीले सन्त्रासको वातावरण फैलाएकाले यो दुर्घटना भएको आरोप  लगाए ।

भारतको उत्तरी नगर इलाहाबादमा १२ वर्षमा कुम्भ मेला लाग्छ र यो गत महिना आरम्भ भएको थियो भने मार्च महिनामा सम्पन्न हुन्छ । यस्ता साना मेला भारतका अन्यत्र हरेक तीन वर्षमा लाग्ने गर्छ ।

सन् २००३ मा पश्चिमी नगर नासिक भएको मेलामा भागदौडमा ४५ व्यक्तिको मृत्युभएको थियो । सन् २००८ मा उत्तरी नगर जोधपुरमा एक मन्दिरभित्र २२० व्यक्तिको मृत्युभएको थियो ।

आइतबार यस मेलामा ३० हजार स्वयंसेवी तथा सात हजार प्रहरी तैनाथ थिए । भारतमा अमृतको थोपा खसेका इलाहाबाद, नासिक, उज्जैन तथा हरिद्वारमा यस प्रकारको मेला लाग्ने गर्छ । एएफपी

No comments:

Post a Comment