काठमाडौ, पुस २५ - राष्ट्रपति रामवरण यादवले काम चलाउ सरकारद्वारा प्रस्तुत १० वटा अध्यादेश र बाधा अड्काउ फुकाउ आदेश जारी नगरी थाँती राखिरहेका बेला मन्त्रिपरिषले केही नेपाल ऐन संशोधन गर्ने थप एउटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले बाँकी थप सार्वजनिक सेवालाई समावेशी बनाउन र आरक्षण प्रतिशत बढाउन केही नेपाल ऐन संशोधन गर्न अध्यादेश स्वीकृत गरी जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी अर्थमन्त्री वर्षमान पुनले दिए ।राष्ट्रपतिको आह्वानमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि महिनादिनदेखि दलहरूबीच वार्ता जारी रहेका बेला काम चलाउ मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न सिफारिस गरेर राष्ट्राध्यक्ष र सरकारबीच द्वन्द्व बढाउन खोजेको टिप्पणी सरकारी अधिकारीले नै गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसले सहमतिको सरकार गठन गर्न भइरहेको प्रयासमा नकारात्मक प्रभाव पार्ने चिन्ता राष्ट्रपति निकट स्रोतले व्यक्त गरेको छ । काम चलाउ मन्त्रिपरिषद्ले अत्यावश्यक परेमा र दलहरूबीचको सहमतिमा संविधानसभा निर्वाचन गर्नेसम्बन्धी अध्यादेश जारी गर्नेबाहेक नियमित ऐन संशोधन नगर्ने विश्वव्यापी प्रचलन भए पनि राष्ट्रपतिसमक्ष धमाधम एकपछि अर्को अध्यादेश जारी गर्न सिफारिस गर्दै आएको छ । सरकारले दलहरूको सहमतिबिनै संसदीय सुनुवाइ नगरी संवैधानिक निकाय र राजदूत नियुक्ति गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्नसमेत राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति यादवले मन्त्रिपरिषद्द्वारा सिफारिस गरिएका संविधानसभा निर्वाचन ऐन र निर्वाचनसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश संविधानविपरीत रहेको भन्दै यसअघि नै अस्वीकृत गरी मन्त्रिपरिषद्मा फिर्ता गरिदिइसकेका छन् । मन्त्रिपरिषद् स्रोतका अनुसार मंगलबार सिफारिस अध्यादेश मा स्वास्थ्य सेवा, विश्वविद्यालय र विकास समितिमा सेवा प्रवेशमा आरक्षण व्यवस्था गरिएको छ । निजामती प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा आरक्षण व्यवस्था गरिए पनि स्वास्थ्य सेवा, विश्वविद्यालय र विकास समितिहरूको सेवा प्रवेशमा समावेशी व्यवस्था गर्न बााकी थियो । ऐन संशोधन गरी आरक्षणको व्यवस्था नगरिएकाले स्वास्थ्य सेवालगायतमा पदपूर्ति रोकिएको छ । अध्यादेश मा सरकारले सबै सरकारी सेवालाई अझ बढी समावेशी बनाउन आरक्षण सिट बढाएर ४८ प्रतिशत पुर्याउने प्रस्ताव गरेको छ । सत्तारूढ मधेसी मोर्चाको दबाबमा हालको ४५ प्रतिशतबाट बढाएर ४८ पुर्याउने प्रस्ताव गरिएको जानकारी सरकारी अधिकारीले दिए । ती अधिकारीका अनुसार सरकारले पहिलोपटक संवैधानिक आयोग तथा अन्य आयोगहरूमा हुने नियुक्तिमा समेत आरक्षण व्यवस्था लागू गर्ने व्यवस्था अध्यादेश मा गरेको छ ।
सरकारले विधेयकमा आरक्षित सिटमा उम्मेदवार हुनेहरूलाई नियुक्ति र अवकाशका लागि प्रचलित कानुनमा व्यवस्था गरिएको उमेर हदमा समेत ५ वर्ष सहुलियत दिने भएको छ । यो अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएमा आरक्षित सिटबाट उम्मेदवार हुनेहरू ४५ वर्षसम्ममा सेवा प्रवेश गर्न तथा ६३ वर्षमा सेवाबाट अनिवार्य अवकाश हुन पाउने छन् । जबकि खुल्ला प्रतिस्पर्धाका उम्मेदवारले ३५ वर्षसम्ममा सेवा प्रवेश र ५८ वर्षमा अनिवार्य अवकाश पाउँछन् । शिक्षकको हकमा आरक्षण कोटाबाट सेवा प्रवेश गर्नेहरूले ६५ वर्षमा अवकाश पाउने छन् । सुरक्षा संगठनमा यस्तो सहुलियत दिने/नदिने अध्यादेश मौन छ । सरकारले बढुवामा समेत आरक्षण व्यवस्था लागू गर्ने प्रावधान अध्यादेश मा राखेको छ । हालसम्म सेवा प्रवेशमा मात्र आरक्षण व्यवस्था लागू गरिएको छ । विश्वमा कहीं पनि बढुवामा आरक्षण व्यवस्था छैन । 'विभिन्न कारणले पछाडि परेको समुदायलाई निश्चित अवधिका लागि सरकारी सेवामा प्रवेश र पहुँच दिन विश्वका विभिन्न मुलुकमा आरक्षणको व्यवस्था प्रचलनमा छ,' उनले भने, 'तर आरक्षणलाई स्थायी रूपमा कायम राख्ने र बढुवामा समेत आरक्षण दिने प्रचलन अरू कुनै पनि मुलुकमा छैन ।' 'पदपूर्तिका लागि विज्ञापन हुने सम्पूर्ण रिक्त पदको ४८ प्रतिशत पद समावेशी कोटाका लागि आरक्षित हुनेछ,' अध्यादेश मा छ । ४८ प्रतिशत सिटलाई सय प्रतिशत मानी त्यसमा महिलालाई ३३, आदिवासी जनजातिलाई २७, मधेसीलाई २२, दलितलाई ९ र पिछडिएको नौ जिल्लाका लागि ४, शारीरिक असक्तता भएकालाई ५ प्रतिशत आरक्षण गरिएको छ । सुरक्षा निकायमा शारीरिक असक्तता भएकालाई आरक्षणको व्यवस्था छैन ।
आरक्षण प्रतिशत बढाइएपछि ५२ प्रतिशत पदमा मात्र खुला प्रतिस्पर्धा हुनेछ । आरक्षणका कारण योग्यता र दक्षताले कम प्राथमिकता पाउने भएकाले मुलुकको सार्वजनिक सेवाको प्रभावकारितामा ह्रास आउने चिन्ता सरकारी अधिकारीको छ । सरकारले पहिलोपटक महिलालाई आरक्षित सिटमा समेत अध्यादेश मार्फत थप आरक्षण लागू गर्न लागेको छ । महिलालाई आरक्षित ३३ प्रतिशत सिटभित्र पनि मुलुकभित्र बसोबास गर्ने विभिन्न सम्प्रदायलाई ५ वर्गमा बाँडेर छुट्टाछुट्टै आरक्षण गरिएको छ । महिलालाई आरक्षित सिटमा बाहुन/छेत्री महिला बढी उत्तीर्ण भएको भन्दै मधेसी मन्त्रीहरूको दबाबमा महिलाभित्र पनि आरक्षण प्रावधान राखिएको हो । महिलाका लागि छुट्याइएको ३३ प्रतिशत सिटलाई शतप्रतिशत मानी आदिवासी/ जनजातिलाई २८, तराई मधेसमा बस्ने आदिवासी जनजाति, दलित पिछडा वर्ग र अल्प संख्यक मुस्लिम समुदायलाई २९, दलितलाई ९, पिछडिएको क्षेत्रलाई ४ र अन्य -बाहुन/छेत्री/दशनामी) लाई ३० प्रतिशत सिट आरक्षण गरिएको छ । विधेयकको यो व्यवस्थाले महिलालाई राजनीति र सबै सरकारी सेवामा आरक्षण बढाउन एकजुट भएर आवाज उठाइरहेका महिलाहरूबीच तीक्तता बढाउने स्रोतले उल्लेख गर्यो ।
No comments:
Post a Comment