अमेरिकी निर्णयले शान्तिपूर्ण मार्गलाई बल पुग्छः प्रधानमन्त्री





एकीकृत नेकपा माओवादीलाई अमेरिकाले आठ बर्षपछि आतंककारीको सूचीबाट हटाएको खवर बिहीवार सार्वजनिक गरेको छ । सो सूचीबाट हटाउने बिषयमा निरन्तर पहल गरिरहनुभएका माओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सरकारको निर्णयबारे बिहीवार साँझ अनलाइनखबरसँग कुरा गर्दै औपचारिक धारणा सार्वजनिक गर्नुभएको छ । प्रस्तुत छ, उहाँसँगको छोटो कुराकानी ।
अमेरिकाले तपाईहरुको पार्टीलाई आतंककारीको सूचीबाट हटाएछ नि ?
माओवादी पार्टीले हिजो संचालन गरेको जनयुद्ध, क्रान्तिकारी आन्दोलन, देश र जनताको निम्ति गरेको थियो, त्यो आतंककारी गतिविधि थिएन । तैपनि आफ्नो सोचअनुसार अमेरिकी सरकारले हाम्रो पार्टीलाई आतंककारीको सूचीमा रोखेको थियो । हामी शान्ति प्रक्रियामा आइसकेपछि अमेरिकी सरकारका प्रतिनिधिहरुसँग पटक-पटक कुरा हुँदा सूचीबाट हटाउनेतर्फ सकारात्मक पहल भइरहेको छ तर, प्रक्रियाका कारण मात्र ढिलो भएको भन्ने भनाई थियो । आज मात्र उहाँहरुले औपचारिक रुपमा सूचना दिनुभो । यसलाई हामी सकारात्मक ढंगले लिन्छौं । माओवादी पार्टी शान्ति, संविधानको बाटो हुँदै नेपालमा आमुल परिर्वतनको मौलिक मार्ग अनुसारण गर्दै आएको छ, त्यसको पुष्टि गरेको छ र त्यसलाई थप बल दिन्छ । त्यसैले यो सकारात्मक छ र यसलाई हामी स्वागत गर्छौं ।
माओवादी र उसको नेतृत्वको सरकारका लागि चाँही यो कति ठूलो उपलब्धी हो ?
हामीले जुन बाटो अंगिकार गर्दै आएका थियौं, हामीमाथि जुन अनावश्यक आशंका र भ्रम फैलाउने गरिएको थियो त्यसलाई यो निर्णयले खण्डन गर्छ । त्यस अर्थमा हाम्रो भनाई र गराईहरुलाई अन्तराष्ट्रिय समुदायले स्वीकार गरेको र हाम्रो विचार र राजनीतिक प्रतिवद्धताहरु स्थापित भएको भन्ने अर्थमा लिएका छौं । यसले हामीलाई हामीले रोजेको बाटोमा अघि बढ्न बल प्रदान गर्छ ।
सूचीबाट हटेपछि माओवादीले के पाउँछ र नहटाउँदा के अप्ठेरो थियो ?
व्यवहारिक रुपमा ठूलो असर पर्दैन । किनकी हाम्रो अमेरिकामा आर्थिक सम्पत्ति रोक्का भएको तथा लेनदेन थिएन । तैपनि राजनीतिक रुपमा विश्वको महाशक्तिले नेपालको सरकारको नेतृत्व गरिरहेको पार्टीलाई आतंकवादी भन्दा कता कता नमिलेको जस्तो भइरहेको थियो । त्यसको अन्त्य भएको छ र यसले माओवादी पार्टी रुपान्तरित पार्टी हो, शान्तिको वाटोमा प्रतिवद्ध पार्टी हो भन्ने कुरा अन्तराष्ट्रिय रुपमा स्थापित भएको छ ।
यसमा यहाँको पहल कत्तिको रहृयो ?
खासगरी म सरकार प्रमुख भएपछि अमेरिकी सरकारका प्रतिनिधिहरुसँग अमेरिकामा भेट हुँदा होस या यहाँ सकारात्मक ढंगले नै कुराकानी भइरहेको थियो । समग्रमा पार्टीकै भूमिका र योगदान हो । तैपनी व्यक्तिगत रुपमा मसँग कुराकानी गर्दा पनि अमेरिकी सरकारका प्रतिनिधीहरुसँग मेरो सकारात्मक सम्वन्ध बनेको थियो । त्यसअर्थमा आजको जून निर्णय छ, त्यो श्रृखलाको एउटा कडी हो ।
नेपालमा अमेरिकी लगानी भित्राउने सवालमा माओवादी आतंककारीको सूचीमा रहनु वा हट्नुले कुनै अर्थ राख्छ ?
अर्थ राख्छ । सरकारको नेतृत्व गरिरहेको पार्टीलाई नै अमेरिकी सरकारले आतंककारी भनेर त्यहाँका लगानीकर्ता, व्यवसायी र पर्यटकहरु आउँदा अलिकति हिचकिचाहट हुन्थ्यो । तर, हामी आतंकवादी हैनौं भने घोषणा भएपछि अब लगानीकर्ताहरुलाई यहाँ भित्र्याउन र आहृवान गर्न सहज वातावरण बनेको छ ।

No comments:

Post a Comment