काठमाडौ, श्रावण २७ - प्रधानमन्त्री बाबुराम भट्टराईले मुख्यसचिव बढुवामा असन्तुष्ट ६ बहालवाला वरिष्ठ सचिवलाई शुक्रबार दिउँसो कार्यकक्षमा बोलाएर मुख्यसचिव लीलामणि पौडेललाई असहयोग नगर्न चेतावनी दिएका छन् । प्रधानमन्त्रीले उनीहरूको असहयोग जारी रहे सह्य नहुने भन्दै कारबाही गर्ने चेतावनीसमेत दिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जनाए ।सचिवमा पदोन्नति हुँदा नवौं वरीयतामा रहेका पौडेललाई मुख्यसचिवमा बढुवा गरिएपछि पाँच वरिष्ठ सचिवले राजीनामा दिइसकेका छन् । पदमा बहालै रहेका ६ वरिष्ठ सचिवले पनि गम्भीर असन्तुष्टि प्रकट गर्दै मुख्यसचिवले बोलाएको बैठक बहिष्कार गरेपछि गम्भीर भएका प्रधानमन्त्रीले उनीहरूलाई बोलाएर निजामती प्रशासनको अनुशासन र मर्यादामा बस्न चेतावनी दिएका हुन् ।
प्रधानमन्त्रीले असन्तुष्ट सचिवहरू भगवतीकुमार काफ्ले, ताना गौतम, वामनप्रसाद न्यौपाने, बालानन्द पौडेल, वृन्दा हाडालाई बोलाएर असन्तुष्टि प्रकट गरेका हुन् । मुख्यसचिवले बोलाएको बैठक बहिष्कार गरेका सचिव उमाकान्त झा भने बिदामा रहेकाले प्रधानमन्त्रीको बोलावटमा अनुपस्थित थिए ।
प्रधानमन्त्रीले उनीहरूलाई निजामती सेवा ऐनअनुसार कार्यकुशलताका आधारमा बढुवा भएका मुख्यसचिव पौडेलको नेतृत्व स्वीकार्न र उनका प्रशासनिक सुधारका कार्यक्रममा सघाउन आग्रह गर्दै सहयोग नगरेमा नराम्रो हुने चेतावनी दिएको स्रोतले जनायो ।
प्रधानमन्त्रीले बहालवाला सचिवहरूले समेत मुख्यसचिव बढुवालाई लिएर असन्तुष्टि सञ्चार माध्यममा प्रकट गरेकामा आपत्ति प्रकट गर्दै त्यस्ता अनुशासनहीन कार्य नगर्न चेतावनी दिए ।
प्रधानमन्त्रीले मुख्यसचिव पौडेलले मंगलबार बोलाएको पहिलो बैठक काफ्ले, गौतम, न्यौपाने, पौडेल, झा र हाडाले बहिष्कार गरेकामा आपत्ति प्रकट गरेका थिए । 'तपाईंहरूले मुख्यसचिवले बोलाएको बैठक किन बहिष्कार गर्नुभयो ? सचिवहरूले नै अनुशासनहीन भई मुख्यसचिवले बोलाएको बैठक बहिष्कार गर्दा नराम्रो सन्देश गएको छ । तपाईंहरूका यस्ता क्रियाकलाप जारी रह्यो भने सरकारलाई सह्य हुन्न,' प्रधानमन्त्रीले सचिवहरूलाई दिएको चेतावनी उद्धृत गर्दै छलफलमा सहभागी एक अधिकारीले भने । यी ६ सचिवले प्रधानमन्त्री कार्यालयमा आयोजित तत्कालीन मुख्यसचिव माधव घिमिरको बिदाइ कार्यक्रमसमेत बहिष्कार गरेका थिए ।
प्रधानमन्त्रीले असन्तुष्ट सचिवहरूलाई पटक-पटक त्यस प्रकारका गल्ती नदोहोर्याउन र प्रशासनिक सुधार, सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउने कार्यमा मुख्यसचिवसहित सरकारलाई पूर्ण सहयोग गर्न आग्रह गरेका थिए । असन्तुष्टि व्यक्त गर्दै पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका लोकसेवा आयोगका तत्कालीन सचिव श्याम मैनालीलाई सरकारले कारबाहीको तयारी गरेको छ । मन्त्रिपरिषद्ले मैनालीलाई कारबाही गर्न उनको राजीनामा अस्वीकृत गरिएको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए । उनको दरबन्दी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सारिएको छ । प्रधानमन्त्री भट्टराईले पत्रकार सम्मेलन गरी मैनालीले निजामती प्रशासनको अनुशासन र मर्यादा उल्लंघन गरेकामा निजामती सेवा ऐन तथा नियमावलीअनुसार के कारबाही गर्न सकिन्छ भनेर सरसल्लाह गरिरहेको जानकारी स्रोतले दियो । सरकारका कतिपय उच्च अधिकारीले मैनालीलाई कारबाही गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई दबाब दिइरहेको पनि स्रोतले जनायो ।
मुख्यसचिव बढुवामा वरिष्ठता मिचिएकामा असन्तुष्टि प्रकट गर्दै अरू चार सचिव शंकर कोइराला, अवनीन्द्र श्रेष्ठ, सुशीलजंग राणा र त्रिलोचन उप्रेतीले दिएको राजीनामा भने सरकारले स्वीकृत गरिसकेको छ । उनीहरूले आफ्नो राजीनामापत्र सार्वजनिक गरे पनि मैनालीले जस्तो पत्रकार सम्मेलन गरेका थिएनन् ।
'मेरो राजीनामा स्वीकृत भयो कि भएन भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मलाई हालसम्म कुनै जानकारी दिएको छैन,' मैनालीले भने । मैनालीले अवकाश पाउन १० दिन बाँकी छ । उनले भदौ ३ मा ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकाश पाउँदै छन्
No comments:
Post a Comment