नयाँ प्रधानमन्त्रीको खोजी अब पालो कस्को?





काठमाडौ, भदौ १३ । बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारलाई अब धेरै लामो समय निरन्तरता दिन मुस्किल हुने भएपछि भट्टराईपछि प्रधानमन्त्री बन्न सक्ने व्यक्तिको खोजी सुरु भएको छ। काङ्गे्रस, एमाले र माओवादीबीच लामो अन्तरालपछि सहमतिको निम्ति यसै साताको सुरुदेखि संवाद प्रारम्भ भएको छ। अहिले नै कुनै सहमति बन्ने स्थिति नभए पनि गत आइतबार बसेको तीन दलको बैठकले सहमति गरेर अघि बढ्ने ‘चिरपरिचित’ सहमति गरेका छन्। प्रजातान्त्रिक शक्तिविरुद्ध जातिवादी र क्षेत्रवादीसँगको मोर्चाबन्दी गर्ने एमाओवादी नेतृत्वसमेत त्यसरी संवादमा आउनुलाई सकारात्मक मानिएको छ। प्रमुख राजनीतिक दलहरूमध्ये नेपाली काङ्गे्रसमा सुशील कोइराला,
रामचन्द्र पौडेल, शेरबहादुर देउवा र डा. रामशरण महतलाई सम्भाव्य प्रधानमन्त्रीका रूपमा लिन थालिएको छ भने कतिपय सन्दर्भमा डा. शेखर कोइराला र डा. सशाङ्क कोइरालाको नामसमेत सम्भाव्य प्रधानमन्त्रीका रूपमा लिने गरिएको छ। नेकपा एमालेमा झलनाथ खनाल र माधवकुमार नेपाल पालैपालो प्रधानमन्त्री बन्नुभएपछि अब केपी शर्मा ओली मात्र प्रधानमन्त्रीका बलवान उम्मेदवारका रूपमा अगाडि आउनुभएको छ। नेकपा माओवादीमा मोहन वैद्य किरण, रामबहादुर थापा बादल र सीपी गजुरेललाई सम्भाव्य प्रधानमन्त्रीका रूपमा हेरिएको भए पनि उक्त पार्टीले मौका पाउँदा रामबहादुर थापा बादललाई नै अघि सार्ने सम्भावना बढी छ। मधेसी मोर्चामा महन्थ ठाकुर सम्मानित नेता भए पनि सम्भाव्य प्रधानमन्त्रीका रूपमा लिने गरिएको छैन। बरु ठाकुरलाई राष्ट्रपति बनाउने झाँसा दिँदै विजयकुमार गच्छदारले सम्भावित प्रधानमन्त्रीका रूपमा आफूलाई अगाडि ल्याउने प्रयास गरिरहनुभएको छ। उता एमाओवादीमा भने डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएर एक वर्ष पूरा गरिसक्दा पनि प्रचण्डले भट्टराईलाई स्वाभाविक र सहज रूपमा लिन सकिरहनुभएको छैन। अहिले प्रचण्ड आफैं प्रधानमन्त्री बन्ने तानाबाना बुन्दै हुनुहुन्छ। उहाँ भट्टराईलाई विस्थापित गरेर सहमतीय सरकार गठन गर्ने र त्यसको नेतृत्व आफैंले लिने कसरत गर्दै हुनुहुन्छ। सहमतीय सरकारको नेतृत्व नेता नारायणमान बिजुक्छेलाई दिइनु उपयुक्त हुने पनि कतिपयको धारणा छ। तर, बिजुक्छे राष्ट्रवादी चिन्तनधाराका व्यक्ति भएको र उहाँ प्रधानमन्त्री हुँदा माओवादी र अन्य कतिपय शक्तिलाई अप्ठ्यारो पर्न सक्ने भएकोले बिजुक्छेको नाममा दलहरूबीच सहमति बन्नसक्ने सम्भावना अहिलेसम्म देखिएको छैन।
यसअघि ठूला राजनीतिक दलहरूबीच बाबुराम भट्टराईपछि नेपाली काङ्गे्रसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न अनौपचारिक तवरमा सहमति भएको थियो। तर, ‘रात रह्यो अग्राख पलायो’ भनेझैं समय घर्कंदै जाँदा काङ्गे्रसलाई फेरि पनि सरकारको नेतृत्व गर्न नदिने परिस्थिति निर्माण गर्न केही व्यक्ति र शक्ति सक्रिय भएका छन्। एकथरी शक्ति र केही राजनीतिकर्मीहरू अहिले बाबुरामपछि कुनै गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न भित्रभित्रै सक्रिय भएका छन्। कुनै पूर्वन्यायाीधश वा नागरिक समाजका कसैको नेतृत्वमा सरकार गठन गर्ने प्रयास उनीहरूबाट भइरहेको छ। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, पूर्वन्यायाधीश कृष्णजंग रायमाझी, पूर्वसभामुख दमननाथ ढुंगाना, अर्थविद् एवम्् पूर्वमन्त्री देवेन्द्रराज पाण्डे, पूर्वनिर्वाचन आयुक्त प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र, प्रा.डा केदारभक्त माथेमा र जातिवादी नेता पद्मरत्न तुलाधरमध्ये एकजनालाई प्रधानमन्त्री बनाउन सकिने उनीहरूको भनाइ छ। तर, सत्तालाई केन्द्रबिन्दुमा राखेर राजनीति गर्दै आएका राजनीतिक दलहरूले गैरराजनीतिक या हाल प्रत्यक्ष रूपले राजनीतिमा सक्रिय नरहेका व्यक्तिलाई प्रधानमन्त्री स्वीकार गर्नसक्ने सम्भावना ज्यादै कम मात्र छ। त्यसैले जे–जस्ता अभ्यास भइरहेका भए पनि दलहरू अन्ततः दलका नेताहरूमध्ये नै कोही एकलाई प्रधानमन्त्री चयन गर्न राजी हुनसक्ने सम्भावना बढी छ।
को प्रधानमन्त्री बन्ने भन्ने कुरा बाबुराम भट्टराईको सत्ताबाट बहिर्गमन कुन रूपमा हुन्छ भन्ने कुराले निर्धारण गर्ने देखिन्छ। दलहरूबीच सहमति भएमा सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा वा प्रचण्डमध्ये एकले प्रधानमन्त्री बन्ने अवसर पाउनसक्ने देखिएको छ भने एकले अर्कोलाई निषेध गर्दै नयाँ सहमति बनेको अवस्थामा पूर्वन्यायाधीश या अन्य कोही गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार बन्ने सम्भावना छ। यदि दलहरूबीच कुनै प्रकारको सहमति बन्न सकेन र राष्ट्रपति डा. रामवरण यादवले नै विशेष अग्रसरता लिनुपर्‍यो भने त्यस्तो अवस्थामा गैरमाओवादी कित्ताका कुनै पनि नेताले सरकारको नेतृत्व गर्न पाउने सम्भावना रहन्छ। सरकारको नेतृत्व राष्ट्रपति आफूले लिनुपर्छ भन्ने आवाज जोडदार रूपमा उठिरहेको भए पनि राष्ट्रपति यादव स्वयम् सरकारको नेतृत्व लिन अनिच्छुक हुनुहुन्छ। माओवादीसँग भिडेर अगाडि जानुपर्ने आवश्यकता राज्यले महसुस गरेमा नेकपा एमालेका नेता केपी ओली अगाडि आउनुहुने सम्भावना बढी देखिन्छ। माओवादीले सहज सत्ता परित्याग नगरी बलजफ्ती सत्तामा रहिरहन प्रयास गरेमा ओली या नारायणमानमध्ये एकले सरकारको नेतृत्व पाउने सम्भावना छ।
प्रधानमन्त्री बाबुराम भट्टराई विभिन्न अध्यादेशहरू जारी गराई सरकारलाई निरन्तरता दिने प्रयासमा हुनुहुन्छ। उहाँ अहिलेसम्म पदत्याग गरेर सहमतीय सरकार गठन गर्न बाध्यात्मक स्थिति सिर्जना गर्ने पक्षमा देखिनुभएको छैन। डा. भट्टराईले जतिसुकै बल गरे पनि उहाँ नेतृत्वको सरकारले आगामी कात्तिक मसान्त पार गर्न सक्ने सम्भावना अत्यन्त न्यून छ। कात्तिक मसान्तमा बजेटको चारमहिने अवधि पूरा हुनेछ र पुनः बजेट अध्यादेश आउन दलहरूबीच सहमति बन्नुपर्ने हुन्छ। बाबुरामलाई प्रधानमन्त्रीमा यथावत् राखेर अघि बढ्ने सहमति दलहरूबीच हुन असम्भव छ। त्यसर्थमा वर्तमान सरकारको आयु बढीमा अढाई महिना मात्र छ भन्न सकिन्छ। कात्तिकपछि पनि आफैं पदमा रहिरहन खोजे बाबुराम भट्टराई बेइज्जतीपूर्वक सरकारबाट हट्नुपर्ने अवस्था आउन सक्छ। वर्तमान सरकार कामचलाउ भइसकेको हुनाले अब कुनै पनि दिन राष्ट्रपतिबाट संविधानको धारा ३८(१) अनुसार राष्ट्रिय सहमतिको सरकार निर्माणको निम्ति आह्वान हुन सक्नेछ। राष्ट्रपतिले दिएको समयसीमाभित्र दलहरूबीच सहमति बन्न सकेन भने राष्ट्रपतिकै विशेष अग्रसरतामा नयाँ सरकार गठनको पहल हुने निश्चित छ। त्यस्तो अवस्था आएमा को प्रधानमन्त्री बन्ने भन्ने कुरा तात्कालिक परिस्थितिले निर्धारण गर्ने विश्वास गरिएको छ।

No comments:

Post a Comment