कोस्टा रिकामा सात नेपाली हिरासतमा


पनामासित सीमा जोडिएको कोस्टा रिकाको भूमिबाट अधिकारीहरुले सात जना नेपालीलाई नियन्त्रणमा लिएका छन्। स्पेनी वेबसाइट लाइन्फरमेसियनका अनुसार सात नेपाली चढेको गाडीलाई प्रहरीले रोकेर गत आइतबार हिरासतमा लिएको हो। गाडी चलाउने कोस्टा रिकाका नागरिकलाई पनि पक्राउ गरिएको छ।

कोस्टा रिकामा गिरफ्तार भएका नेपालीहरु पनि मानव तस्करीका लागि लगिएको हुनसक्ने त्यहाँको सुरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ। मन्त्रालयले नेपालीहरुलाई दक्षिणी कोस्टा रिकाको एउटा प्रहरी चौकीमा राखेको उल्लेख गरेको छ। अध्यागमन सम्बन्धी ऐन अनुसारका कागजात नमिलेसम्म उनीहरुलाई त्यहीँ राखिने मन्त्रालयले जनाएको छ।

गाडी चालक कोस्टा रिकाका नागरिकलाई मानव तस्करको अभियोग लगाउने बारे अनुसन्धान भइरहेको छ। अभियोग प्रमाणित भए आठ वर्षसम्मको जेल सजाय हुनसक्छ।  हिरासतमा परेका नेपालीहरुको परिचय खुल्न सकेको छैन।

मन्त्रालयका अनुसार दक्षिण अमेरिकी देशबाट आएका ती नेपालीहरु कोस्टा रिकाको राजधानी सान जोसे जाँदै थिए।

यसरी ओसारिन्छ मान्छे पनामाबाट कोस्टा रिकामा। फोटो सौजन्यः कोस्टारिकान्युज



कोस्टा रिका वैदेशिक रोजगारका लागि गन्तव्य नभए पनि मानव तस्करहरुले अवैध रुपमा अमेरिका पुर्‍याउन प्रयोग गर्ने रुटमा कोस्टा रिका पनि पर्छ। काठमाडौँदेखि कतार हुँदै ब्राजिलबाट बोलिभियासम्म विमानबाट लगे पनि बोलिभियादेखि मेक्सिकोसम्मको यात्रामा पर्ने आठ देशका लागि सडक मार्ग प्रयोग गरिन्छ।

बोलिभियाबाट पेरु, इक्वेडर, कोलम्बिया हुँदै पनामा र त्यहाँबाट कोस्टारिका पुग्ने गरिन्छ। कोस्टारिकाबाट पनि निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदैमात्र अमेरिका पुर्‍याइन्छ। दलालले अमेरिका लान लागेका हजारभन्दा बढी नेपाली  बोलिभिया, ब्राजिल, चिली र इक्वेडर जस्ता देशहरुमा अलपत्र परेको खुलासा आजकोनागरिक दैनिकले गरेको छ।

No comments:

Post a Comment