राष्ट्रपति-प्रधानमन्त्री 'मिलेर जाने' सहमति




काठमाडौं, कात्तिक १ (नागरिक)- राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच आन्दोलनका उपलब्धि संस्थागत गर्न 'मिलेर अघि बढ्ने' सहमति भएको छ।
पछिल्ला दिनमा राष्ट्रप्रमुख र सरकार प्रमुखबीच सार्वजनिक समारोहबाट नै आरोप-प्रत्यारोप चलिरहेका बेला मंगलबार बिहान साढे दुई घन्टा लामो भेटमा दुईजनाबीच यस्तो सहमति भएको हो।
राष्ट्रपतिको आग्रहमा बिहान ९ बजे राष्ट्रपति कायर्कालय शीतल निवास पुगेका प्रधानमन्त्री भट्टराई साढे ११ बजेमात्र बाहिरिएका थिए। राष्ट्रपति यादवले संविधानको पालक र रक्षक भएको दोहोर्‍याउँदै संविधानको दायरा नाघेर आफूले कुनै अभिव्यक्ति नदिएको प्रधानमन्त्रीलाई प्रस्ट पारेका थिए।
'अभिभावकको रुपमा आफूले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भन्ने नै भए,' राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'शुक्रबार पनि विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएको छु राष्ट्रिय सहमतिको सरकार बनाएर छिटो मुलुकलाई निकास दिन भन्छु नै।'
राष्ट्रपतिले संविधान र त्यसले दिएको अधिकारका विषयमा आफू जानकार रहेको पनि प्रधानमन्त्रीलाई स्मरण गराए। 'संविधानले राष्ट्रपतिलाई के, कति अधिकार दिएको छ भन्ने मलाई राम्रो जानकारी छ,' राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'मैले संविधानको दायरा नाघेको छैन, नाघ्दा पनि नाघ्दिनँ।'
राष्ट्रपतिले नेपाली जनताको छ दशक लामो बलिदानीपछि मुलुकमा गणतन्त्र स्थापना भएको स्मरण गराउँदै राष्ट्रपति र त्यस संस्थाको गरिमा जोगाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। 'म त किसानको छोरा हुँ, आज यहाँ छु, भोलि हुन्नँ तर जनताको बलिदानीबाट भएको उपलब्धि जोगाउनु सबैको दायित्व हुन्छ कि हुँदैन?' प्रधानमन्त्रीसँग राष्ट्रपतिले सोधका थिए।
प्रधानमन्त्रीले राष्ट्रपतिबारे आफ्नो भनाइ सञ्चारमाध्यमले बंग्याएको भन्दै दुई संस्थाबीच पछिल्लो समय बढेको अविश्वास हटाएर जानुपर्ने धारणा राखेका थिए।
दुई संस्थाबीचको विवादले मुलुकलाई निकास दिन नसक्ने भन्दै उनले आपसी अविश्वास हटाएर प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने धारणा राखेका थिए।
'संविधानसभाले नयाँ संविधान दिन नसकेको अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीमात्र दुई वैधानिक संस्था हुन्,' निकट स्रोतले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भन्यो, 'दुई संस्थाका तर्फबाट एउटै भनाइ बाहिर जानुपर्छ।'
प्रधानमन्त्रीले निकासका लागि आफूले प्रयास जारी राखेको दाबी गर्दै एउटा संस्थाको प्रयासले मात्र सहमति जुट्न नसक्ने बताए। 'तपाईं (राष्ट्रपति) वा मैले (प्रधानमन्त्री) एक्लैले गर्ने कुरा भएन,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'सबै मिलेर निकास दिनुपर्छ।'
भेटमा राष्ट्रपति र प्रधानमन्त्रीबीच राजनीतिक निकाससम्बन्धी आफ्ना पछिल्ला अभिव्यक्तिबारे खुलेर छलफल भएको प्रधानमन्त्री भट्टराईले बाहिरिने क्रममा सञ्चारकर्मीलाई जानकारी दिए।
'पहिलो कुरा राष्ट्रपतिज्यूलाई दसैं, दीपावली, छठसहित चाडपर्वको शुभकामना दिन यहा" आएको थिएँ,' भट्टराईले भने, 'भेटमा हामीबीच राजनीतिक गतिरोध चिर्नका निम्ति कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे बृहत छलफल भएको छ।'
भट्टराईले दुई संस्थाबीच राम्रो समझदारी कायम गरेरमात्र निकास निस्कने विÈयमा छलफल भएको जानकारी दिँदै दुई संस्थाबीचको सकारात्मक छलफलबाट मात्र प्राप्त उपलब्धि जोगाउन सकिने मतैक्य रहेको जनाए।
उनले राष्ट्रपति र आफूबीच सम्बन्ध नचिसिएको दाबी गर्दै दुई संस्थाबीच दूरी बढाउने गरी आएका टीकाटिप्पणीको भ्रममा नपर्ने विषयमा छलफल भएको पनि जानकारी दिए। 'राष्ट्रपतिसँग सौहार्दपूण छलफल भएको छ,' उनले भने।
तीन दिनअघि राष्ट्रपति यादवले दलहरुबीच सहमति नजुटाई सरकारले संविधानसभाको मिति तोकेकोमा असन्तुष्टि जनाउँदै तत्काल चुनावको मिति, सिट संख्या, प्रक्रिया र सहमतिको सरकार जनतालाई चाहिएको धारणा राखेका थिए। राष्ट्रपतिका पछिल्ला अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले आइतबार सप्तरीको एक कार्यक्रममा राष्ट्रपतिलाई निर्वाचनको तिथि माग्ने अधिकार नभएको धारणा राखेका थिए।
असोज मसान्तभित्र सहमति जुटाउने समय सीमा लिएका राजनीतिक दलहरुले सहमति जुटाउन नसकेपछि राष्ट्रपतिले कात्तिक ३ गते बिहान ९ बजे फेरि सबै दलका शीर्È नेतालाई छलफलका लागि शीतल निवास डाकेका छन्।

No comments:

Post a Comment