तीन विकल्पबारे प्रचण्डले छलफल गर्ने


माओवादी अध्यक्ष प्रचण्ड

प्रचण्डले अन्य दलसंग छलफल गर्ने भएका छन्।
एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भोलि शनिबार देखि विपक्षी दलहरुसंग गर्ने राजनीतिक छलफलमा यस अघि चर्चामा आएकै तीनवटा विकल्प प्रस्तुत गर्ने माओवादी नेताहरुले बताएका छन्।
बिहीबार राष्ट्रपतिसंगको भेटमा प्रचण्डले नयाँ प्रस्ताव राखेको भनिए पनि त्यसमा नयाँ विषय नभएको बुझिएको छ।
कार्तिक महिना भित्र एक तृतियांश बजेट सकिने भएकाले त्यस अघिनै सहमति जुट्ने प्रधानमन्त्री निकट एक नेताले बताए।
बिहीबार राष्ट्रपति रामवरण यादवलाई भेटे पछि प्रचण्ड आशावादी सुनिएका थिए।
उनले आफुले प्रस्तुत गरेको उपायहरुले निकास निक्लने बताएका थिए।
उनले सो भेटमा राष्ट्रपति समक्ष राखेका भनिएका विकल्पहरुबारे शनिबारदेखि विपक्षी दलहरुसंग छलफल थालिने माओवादी नेताहरुले बताएका छन्।
"संविधानसभा पुनर्स्थापना, निर्वाचन र यसमा पनि सहमति न जुटे स्वतन्त्र व्यक्तिको नेतृत्वमा नयाँ सरकार गठन गरेर निर्वाचनमा जाने विकल्पमा छलफल हुन्छ"
अग्नि सापकोटा, एकीकृत माओवादी प्रवक्ता
ति तीन विकल्पबारे माओवादी प्रवक्ता अग्नि सापकोटाले भने, “संविधानसभा पुनर्स्थापना, निर्वाचन र यसमा पनि सहमति न जुटे स्वतन्त्र व्यक्तिको नेतृत्वमा नयाँ सरकार गठन गरेर निर्वाचनमा जाने विकल्पमा छलफल हुन्छ।”
लचिलो
तीनै विकल्पमा माओवादी उत्तिकै लचिलो भएको नेताहरुको भनाइ छ।
तर प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार देवेन्द्र पौडेलले संविधानसभा पुनर्स्थापनाको पक्षमा माहोल बन्न थालेको दावी गरे।
पौडेलले भने, “दलहरुबीच छलफल हुंदैछ, पूर्व सभासदहरुबीच छलफल हुदै छ र मलाई लाग्छ पुनर्स्थापनाको पक्षमा वातावरण बन्दैछ।”
पौडेलले मंसिरको पहिलो साताभित्र सहमति जुटाउन दलहरु समक्ष वाध्यकारी परिस्थिति रहेको समेत उल्लेख गरे।
उनले भने, “एक तृतियांश बजेट छिट्टै सकिने भएकोले मंसिरको पहिलो साताभित्र सहमति जुटाउनु पर्छ।”
कार्तिक मसान्तमा सकिने बजेटले उत्पन्न गर्ने आर्थिक संकटलाई हल गर्न पनि सत्तारुढ दलहरु थप लचिलो हुने र त्यसले राजनीतिक सहमतीका लागी वातावरण तयार पार्ने केही विश्लेषकहरको बुझाइ छ।

No comments:

Post a Comment