बाबुरामको धुन्धुकारि अवतार


शक्तिमा भएको व्यक्ति सबैको प्रिय हुन सक्दैन। मानिसले सबैभन्दा बढी शत्रु कमाउने भनेकै 'पावर'मा हुँदा हो। प्रधानमन्त्री डा. बाबुराम भट्टराई जति बेला पार्टीको नेतामात्र थिए, उनी धेरैका 'डार्लिङ' थिए। कतिपयका त 'आइडल नेता' थिए उनी। विद्वान नेताको विशेषणले विभूषित थिए उनी। शहरमा उनी किंवदन्तीका पात्रजस्ता थिए। कुनै आकर्षक भवन ठडियो भने यो डा. बाबुराम भट्टराईले डिजाइन गरेको रे भन्दै चिया गफ चुट्नेहरू थुप्रै भेटिन्थे। हरेक एसएलसी परीक्षामा उनको स्मरण हुन्थ्यो। उनी एसएलसीका बोर्ड फर्स्ट थिए। भट्टराईले देश चलाउने सिटमा बस्न पाए त रातारात यो देशको भाग्योदय गरिदिन्छन् भन्ने विश्वास धेरैलाई थियो।
तर, धेरैले आशा गरेका उही व्यक्ति अहिले धुन्धुकारि पो बन्ने हुन् कि भन्ने भयपूर्ण शंका बढेर गएको छ। जतिबेला डा. भट्टराई शपथ खाएर प्रधानमन्त्रीको कुर्सीमा बस्दै थिए, उनको अनुहारमा गम्भीरता थियो। उतिबेला उनले भनेका थिए, 'शान्ति र संविधानको काम अघि बढेन भने हनिमुन पिरियड त के ४५ दिनमै कुर्सी छोड्छु।' तर, उनले संविधान नलेखी संविधानसभा भंग हुने अवस्था आउँदासम्म कुर्सी छोडेनन्। केही सय माओवादी लडाकुलाई सेनामा भर्ना गर्न सफल भए पनि दिगो शान्तिको आधार संविधान, संघीयता, राज्यको पुनःसंरचनालगायत थुप्रै विषयको बिस्कुन फिँजाएर डा. भट्टराई सत्ताको टिम्बा सिरकमा गुटमुटिएका छन्।
प्रधानमन्त्री डा. भट्टराईले बेलाबेलामा व्यक्त गरेका विचारहरू स्मरण गर्ने हो भने उनी त्यति सजिला छैनन् भन्ने बुझ्न सकिन्छ। उनी कहिले भीमसेन थापा हुन तयार छु भन्थे भने कहिले गोली खान्छु तर बालुवाटार छोड्दिन भन्थे। अहिले जंगबहादुर बन्ने लालसा पनि पलाएको हो कि भन्ने शंका उनकै प्रतिक्रियाले उब्जाएको छ। सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले दलहरूलाई दिएको गृहकार्य बुझाउने बेलामा प्रधानमन्त्री डा. भट्टराईले कुर्सी नछाड्ने अड्डी लिएपछि सहमतिको प्रहसन अझै केही समय लम्बिने भएको छ। पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग भएको सहमति अनुसार कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने बाटो खोल्न गरेको आग्रहलाई डा. भट्टराईले ठाडै अस्वीकार गरिदिएका छन्। जनवादी केन्द्रीयताको सिद्धान्त घोकेर हुर्किएका भट्टराईले पार्टी नेतृत्वप्रति देखाएको कडा रबैयाले एकीकृत नेकपा माओवादीभित्रको विगतको फलामे अनुशासन छिन्नभिन्न भइसकेको प्रस्ट भएको छ। अध्यक्ष प्रचण्डले 'मैले सकिनँ तपाईंहरूले मनाउनुपर्‍यो' भन्दै कांग्रेस-एमाले गुहार्नुपर्ने अवस्था आउनु निश्चय पनि एमाओवादीका लागि शुभ संकेत होइन।
जब एनेकपा माओवादी एक ढिक्का थियो, त्यतिबेला अध्यक्ष प्रचण्ड आफ्ना राजनीतिक गुरु मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईको बीचमा बसेर बहुत सन्तुलित तरिकाले राजनीतिक डुंगामा सयर गर्थे। जता बढी आड लाग्दा फाइदा हुन्छ, उतै अडेस लाग्दै प्रचण्डले सशस्त्र विद्रोहदेखि शान्तिपूर्ण राजनीतिको तलाउमा पौडिएका थिए। धेरै पटक उनले पौडी पोखरीमा आफूलाई कुशल स्विमरका रूपमा प्रमाणित गर्न पनि सफल भएका थिए। तर, उनको सन्तुलनको 'लेबल' बिग्रन थालेपछि वैद्य पाखा लागे। धोबीघाटमा प्रचण्ड धुलाइ गरेपछि बाबुराम सत्ताको 'हट सिट'मा पुगे तर त्यहाँ पुर्‍याउनेहरू सत्ताको न्यानोतिर नलाग्दै बाहिरिए। कुर्सीमा पुग्ने बित्तिकै बाबुराम धोबीघाटका मित्रहरूको 'डार्लिङ' बन्न सकेन। उनी प्रचण्डका भए।
कुर्सी नछोड्ने डा. भट्टराईको अड्डीलाई लिएर उनको चौतर्फी आलोचना भइरहेको छ। तर, यसको भित्री पाटोको बारेमा भने कमै चर्चा छ। अध्यक्ष प्रचण्डले पटक-पटक भन्दै आएका थिए, 'बाबुरामजी त इमोसनमा आएर छोड्दिउँ भन्नुहुन्छ तर म हुँदैन भन्छु। सबै कुरा नमिल्दासम्म बाबुरामजीले छोड्दा प्राप्त उपलब्धि संस्थागत नहुँदै खतम हुन्छ कि भन्ने डर हामीलाई छ।' प्रचण्डले धेरै फोरमहरूमा यसो भनेका थिए। सुशील कोइराला प्रधानमन्त्री हुने हो भने संघीयता, राज्यको स्वरूप लगायत विषयमा अग्रिम सहमति हुनुपर्ने प्रस्ताव गर्ने पनि प्रचण्डै हुन्। यी विषयमा सहमति नहुँदै सुशीललाई प्रधानमन्त्री दिन नहुने डा. भट्टराईको तर्क छ। जे भए पनि प्रधानमन्त्रीको पछिल्लो अडानले सहमति नजिक पुगेको राजनीति फेरि बिथोलिने अवस्थामा आइपुगेको छ।
दलहरूले जति घाँटी निमोठ्न खोजे पनि जनता लोकतान्त्रिक पद्धतिको पक्षमा छ। आजको खुला दुनियाँमा कसैले पनि जनतालाई बाइपास गरेर शासन चलाउँछु भनेर सोच्नु व्यर्थ छ। राष्ट्रपति डा. रामवरण यादव हुन् या प्रधानमन्त्री भट्टराई कसैले पनि सत्ताको डाडुपन्युँ जनताको अनुमतिबिना एक्लै चलाउन सक्दैनन्। प्रधानमन्त्री भट्टराईले यी कुरा बुझेकै हुनुपर्छ। अहिले कांग्रेस र एमालेलाई परिवर्तनविरोधीका रूपमा हेर्न थालिएको छ। यी दुई दलले यसलाई 'क्लियर' गर्नुपर्ने देखिन्छ। जनताले खोजेको परिवर्तनको एजेन्डालाई पाखा लगाएर अब कोही पनि टिक्न सक्ने अवस्था छैन। संघीयता, राज्यको पुनःसंरचना, धर्मनिरपक्षेता जस्ता विषयमा कांग्रेस एमालेले जिब्रो चपाउन पाउँदैनन्। 'भैँसीसँग जोगी डरा, जोगीसँग भैँसी डरा'को स्थितिबाट दलहरू बाहिर आउनुपर्छ। नयाँ निर्वाचनका लागि मसक्कै आँटेर अघि बढ्ने हो भने प्रधानमन्त्रीको कुर्सीका लागि यतिबिघ्न रडाको मच्चिने नै थिएन। बाबुरामले सम्मानजनक 'एक्जिट' भनिरहेका छन्। मधेसी मोर्चा पनि त्यसै भनिरहेका छन् भने निर्वाचनको नयाँ मितिमा सहमति गरेर उनलाई कुर्सीबाट हटाउँदा आकाशै खसिहाल्दैन। तर, प्रधानमन्त्रीको व्यवहारले विपक्षीहरू तर्सेका छन्। सबै काम गरिसकेपछि पनि बाबुरामले छोडेनन् भने के गर्ने? वास्तवमा प्रतिपक्षको दम अर्थात् 'गोलीगाँठो' हेरेर नै प्रधानमन्त्रीले अड्डी लिएका हुन्। प्रतिपक्ष साँच्चै कसिने हो भने कामचलाउ भइसकेका बाबुरामलाई कामबाट अवकाश दिन गाह्रो छैन। प्रतिपक्ष पालो र भाग खोज्ने प्रवृत्ति नत्यागेकाले नै अलमलमा परिरहेका छन्।

No comments:

Post a Comment