प्रचण्डकै अगाडि कामरेडहरु घुँक्क घुँक्क




एकिक्रित नेकपा माओवादीको बेल्जियमस्थित भात्री संगठन जनप्रगतिशिल मञ्चको अधिबेशनका क्रममा माओवादी कामरेडहरु अध्यक्ष प्रचण्डलाई साक्षी राखेर घुँक्क घुँक रोए । एकछिन रुवाबासीनै चल्यो । प्रचण्डस्वयं मलिन अनुहार लगाएर टोलाइराखे ।

मञ्चले अक्टोबर १४ का दिन अधिबेशन राखेको थियो । अधिबेशनमा को को नेत्रित्वमा आउने ? कसरि पार्टी सञ्चालन गर्ने ? कार्यकर्ता कसरि परिचालन गर्ने ? युरोपमा नेकपा माओवादीको सञ्जाल कसरि निर्माण गर्ने ? यस्तै आन्तरिक छलफलकालागि चित्र सुबेदीको घरमा आन्तरिक बैठक थियो ।

अधिबेशनकालागि बिभिन्न मुलुकबाट आएका कामरेडहरु प्रचण्डलाई साक्षी राखेर घुरुप्प बसे । देशको समसामयिक विषयमा छलफल चल्यो । धेरै कामरेडहरुले पार्टी फुटको कारण सोधे । पार्टीमा नेता सोखिन भएको, मधेशी दललाई साथमा लिएर सरकार चलाउँदा पार्टीको बदनाम भएको, पार्टीका त्यागि कार्यकर्ताहरुको बिजोक भएको । यस्ता गुनासा राखे । सबैभन्दा बढि गुनासो उठ्यो, नेपाली सेनाका राजु बस्नेत जो माओवादी नेताको हत्यामा संल्ग्न र यातना दिने हुन्, उनैलाई किन पदोन्नती गरियो ? यसपछि कामरेडहरुको रुवाबसी चल्यो ।

यस विषयलाई सबैभन्दा बढि सोध्ने थिए, डेनमार्क निवासी उदय गौतम । उनले ‘कामरेड के यस्तो गर्नु भो ? हाम्रा कामरेडहरुकै हत्या गर्नेलाई किन पदोन्नती गर्नु भो ? पहिले त हाम्रो सरकार आएपछि कारवाही गर्छ पार्टीले पो भन्नुहुन्थ्यो । अहिले हाम्रै सरकारले जनताका हत्यारालाई पदोन्नती गर्ने ? जनताको रगतको उपहास भो कामरेड ।’ यति भन्दाभन्दै उनी घुँक्क घुँक्क रोए । उनी शहिद परिवारका सदस्य हुन् । गौतमका सहोदर भाइ क्रिष्ण गौतम जनयुद्दका क्रममा सेनाको कारबाहीमा वागलुङमा मारिएका थिए । क्रिष्ण माओवादीको जन आदलतका न्यायधिश थिए । उनी रोएपछि केहि बेर हल स्तब्ध बनेको बैठकमा सहभागि जनप्रगतिशिल मञ्चका एक कार्यकर्ताले सुनाए । आन्तरिक बैठकमा सबैभन्दा बढि यहि विषयमा प्रश्न उठाएका थिए ।

त्यसपछि प्रचण्ड आफैंले गौतमलाई सम्झाए । प्रचण्डले यो जिज्ञासाको जवाफ दिन थाले । प्रचण्डको भनाई थियो, हामीले नेपाली सेनालाई जनयुद्दमा यातना दिएको र हत्यामा संलग्न भनेर कारवाही गर्‍यौं भने सेना बिच्किन्छ । सेनाले हामीलाई साथ दिँदैन । हामीले त्यो रिसिबी साँध्यौं भने हामीलाईपनि युद्दकालका अनेकैं घटना उरालेर हत्याराको रुपमा दर्ता गराउँछन् । हाम्रा थुप्रै मुद्दा अहिलेसम्म ज्युँका त्युँ छन् । हामीले सेनामाथि कारबाही गरे हामीलाईपनि अन्तर्राष्ट्रिय अदालतमा हत्याराका रुपमा उभ्याउँछन् । म, बाबुरामजी लगायत थुप्रै कामरेडहरु हेगमा उपस्थित हुनुपर्ने हुनसक्छ ।”

प्रचण्डलाई तत्कालै जवाफ दिन त सकेनन् उनका कार्यकर्ताले । तर आन्तरिक बैठकमा सहभागि एक कार्यकर्ताले भने ‘ए जनताका छोराछोरीलाई युद्दमा होम्ने । अर्काका छोराछोरीको चाहिँ हत्या गराउने । आफुहरु चाहिँ अदालतमा उभिनुपर्ला भनेर त्यत्रो पिर रैछ प्रचण्ड र बाबुरामलाई । जहाँपनि नेताले जनताका छोराछोरीलाई प्रयोग मात्रै पो गर्ने रैछन् ।”

अहिले नेपाली कांग्रेस र एमालेले जसरिपनि माओवादीलाई सरकारबाट हटाउने, आफ्नो सरकार बनाउने, संविधानपनि नबनाउने र निर्वाचनपनि नगर्ने योजना बनाएकाले अहिलेको अवस्थामा पार्टीले कुनैपनि हालतमा सरकार नछोड्ने प्रचण्डले बताएका थिए । उनले नेपाली सेनालाइ बिच्काएर, रिसिबी साँधेर भन्दा सरकारमै बसेर प्रयोग गर्नुपर्ने तर्क राखेका थिए । चितवनको माओवादी सैन्य क्याम्पबाट प्रचण्डको भिडियो टेप सार्वजनिक भएको द्रिष्टान्त दिँदै त्यस साँझ कसैलाईपनि फोटो खिच्न र रेकर्ड गर्न दिईएको थिएन । गेटमा कडाईका साथ जाँच गरेर भित्र छिराइएको थियो । पार्टी कार्यकर्ताहरुलाई पार्टीका आन्तरिक छलफलहरु बाहिर सार्वजनिक नगर्न आग्रह निर्देशनसमेत दिईएको थियो ।

No comments:

Post a Comment