प्रचण्डलाई सक्ने जमिम साहको ‘प्लान’ ?


[कटवालमाथिको कारबाही, पहिलो चीन भ्रमण, किरण पक्षसँग एकता आदि प्रचण्ड हर्कतका कारण भारतले आफूहरुलाई धोका भएको ठान्न थाल्यो । अन्तिम विकल्प भनेको प्रचण्डको सफाया हो भन्नेमा ‘र’ पुग्यो । त्यसका लागि अनन्तलाई तयार गरियो । नेपालको रक्षा र गृह मन्त्रालयले त्यसका लागि सहयोग गर्नुपर्ने शर्त आएपछि तत्कालीन प्रधानमन्त्री माधव नेपालसँग ‘र’का प्रतिनिधिहरुले प्रस्ताव राखे । त्यस विषयमा माधव नेपाल, केपी ओली र झलनाथ खनालका बीचमा छलफल भयो । त्यो छलफलपछि एमाले नेताहरुले एमाले बद्नाम हुने र राजनीतिमा अपराधीकरण हुने निष्कर्षसहित प्रचण्डको सफायामा सहयोग नगर्ने भए ।]


–अनिल शर्मा ‘विरही’

पारिवारिक रुपमा प्रचण्ड उर्फ पुष्पकमल दाहाल सम्पन्न परिवारका थिएनन् । उनले नजिकका दौंतरीहरुसँग कम्युनिस्ट बनेका प्रारम्भिक दिनमा भनेका थिए– नहर तल घर भएको भए म पनि कांग्रेस पार्टीमा लाग्थेँ हुँला ।

प्रचण्ड चंख, तीव्र क्रियाशील, परिचालन–व्यवस्थापन क्षमता भएका युवाको रुपमा स्थापित हुँदै गए । छोटो समयमा नै युवा संगठनको अध्यक्षसमेत भए । २०४२ सालमा सेक्टर कारबाही असफल भएलगत्तै प्रचण्डलाई महामन्त्री बनाउँदा पहिलोपटक क. शेरसिंह (भक्तबहादुर श्रेष्ठ) ले यसबाट भविष्यमा गम्भीर गल्ती हुने बताएका थिए । उनले प्रचण्ड व्यक्तिवादी, महत्वाकांक्षी र सुधारवादी भएका कारण नेतृत्वमा ल्याउन हुँदैन भनेका थिए । क. दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने), देवप्रसाद गुरुङ, क. अडिग (खम्बसिंह कुँवर) लगायतको धारणा पनि त्यसै प्रकारको थियो ।

पार्टीको नाम ‘एकता केन्द्र’बाट ‘माओवादी’ र जनवर्गीय संगठनलाई ‘क्रान्तिकारी’ नामकरण गराउनमा क. किरणको मुख्य भूमिका थियो । जनयुद्धको तयारी भइरहेको तर कहिले सुरु गर्ने भन्ने निर्णय गर्न हिच्किचाहट भइरहेको अवस्थामा क. किरणको दबाबपछि २०५२ कात्तिकको गोरखा बैठकमा जनयुद्धमा जाने निर्णय भएको बताइन्छ । त्यो स्थिति हेरिरहेका डा. बाबुराम भट्टराईले सोही बैठकमा ‘यो पार्टीको नेता नै को हो भन्ने अन्योल भयो । किरणजीले वैचारिक नेतृत्व, बादलले क्रियान्वयन गर्नु हुँदो रहेछ । तपार्इंले टाकनटुकन मात्रै गर्ने रहेछ’ भनेका थिए । त्यसपछि प्रचण्ड र बाबुरामबीचको सम्बन्ध निकै तिक्ततापूर्ण भएर गयो । प्रचण्ड वास्तविक नेता होइनन् भन्ने निष्कर्षपछि खाली स्थानमा आफूलाई तयार गर्नुपर्छ भन्ने रणनीतिमा बाबुराम भट्टराई लागेको देखिन्छ । पश्चिम नेपालकेन्द्रित तत्कालीन मशाल पार्टीमा संगठनात्मक रुपमा पनि क. किरणको पकड बलियो थियो । क. किरण गिरफ्तार नहुँदासम्म त्यो स्थिति कायम थियो । नेपालका दलहरुले चीन र भारतको कार्ड पालैपालो प्रयोग गरे झैँ प्रचण्ड भने किरण र बाबुराम कार्ड पालैपालो प्रयोग गर्दै थिए ।

नेपालको राजतन्त्र र भारतीय विस्तारवादका बीच परम्परागत रुपमै अन्तरविरोध थियो । २०४५ सालमा राजा वीरेन्द्रले चीनबाट हतियार आयात गरेर पृथ्वीनारायण शाहले सुरु गरेर (अझ अगाडि पनि जान सकिन्छ) राजा महेन्द्रले उत्कर्षमा पुर्‍याएको साम्राज्यवाद (नेपालको सन्दर्भमा भारतीय विस्तारवाद) विरोधी धारालाई निरन्तरता दिए । त्यसैको परिणाम स्वरुप राजतन्त्रको अधिकार कटौती हुने अवस्था पैदा भयो । राजा वीरेन्द्र जनताको अगाडि झुक्न तयार भए तर भारतका सामु सम्पूर्ण रुपमै झुक्न तयार भएनन् । राजालाई दरबारभित्र कैद गरेको अवस्थामा नेपाली कांग्रेस वैचारिक रुपमै भारतपरस्त थियो । त्यसबेला भौतिक शक्तिका हिसाबले मदन भण्डारी नेतृत्वको माले पार्टी (पछि एमाले पार्टी) ले देशभक्त धाराको नेतृत्व गरिरहेको थियो । मदन भण्डारीलाई आत्मसमर्पण गराउने प्रयत्न असफल भएपछि उनको हत्या गरियो । त्यसपछि तत्कालीन एमाले पनि भारतपरस्त भएर गयो । मदन भण्डारीको हत्या सम्पूर्ण देशभक्तहरुलाई धम्की थियो । मदन भण्डारी हत्याको जगमा महाकाली सन्धि भयो । दरबार संवैधानिक भएको, नेकपा (माओवादी) को संगठनात्मक आधार कमजोर रहेको र कांग्रेस एमालेलाई दिल्लीपरस्त बनाएको अवस्थामा राष्ट्रघाती सन्धि गराउन भारत सफल भएको थियो ।

२०५२ मा जनयुद्ध सुरु भयो । त्यो जनयुद्धका सामन्तवाद र साम्राज्यवादविरोधी दुई आयाम थिए । जनयुद्ध सामन्तवादभन्दा साम्राज्यवादविरोधी बढी केन्द्रित हुँदै गयो । त्यस्तो अवस्थामा राजावादीहरु, पूर्व पञ्चहरुमार्फत् नेपाली सेना र राजदरबारलाई तटस्थ बनाउने प्रयास माओवादी नेतृत्वबाट भइरहेको थियो । राजकुमार धीरेन्द्रमार्फत् राजा वीरेन्द्रसँग सम्पर्क भइरहेको र त्यसलाई राजासँग अघोषित कार्यगत एकता गरिएको भन्ने प्रचण्डको दाबीलाई क. किरण सस्तो प्रचारबाजी भन्नुहुन्छ । राजा वीरेन्द्रले जनयुद्धका विरुद्ध शाही सेना परिचालन गर्न नमान्नु र माओवादीभित्र राजा सिंहानुक बन्न चाहन्छन् भने एक पुस्ताका लागि स्थान दिनेबारे सानो घेरामा अनौपचारिक बहस चल्नुले भविष्यको राष्ट्रिय मुक्ति युद्धमा दरबार र जनयुद्धका बीच संयुक्त मोर्चा बन्ने सम्भावनालाई नकार्न सकिन्न । त्यस्तो अवस्था भारतको विदेश नीतिका दृष्टिले गम्भीर पराजय हुन्थ्यो । त्यसैले भारतले राजा वीरेन्द्रको वंशनाश गर्ने षड्यन्त्र गर्‍यो ।

त्यो षड्यन्त्र क्रियान्वयन गर्नका लागि उसले दरबारकै एउटा महत्वाकांक्षी र आपराधिक गुटलाई प्रयोग गर्‍यो । वीरेन्द्रको हत्या माओवादी नेतृत्वलाई समेत नजिकैबाट दिइएको धम्की थियो । त्यो धम्कीबाट त्रसित भएर २०५८ मै प्रचण्ड र बाबुरामले भारतीय प्रधानमन्त्रीलाई गोप्य रुपले याचनापूर्ण पत्र लेखे । त्यसपछि शब्दमा भारतको विरोध, अन्तर्यमा साँठगाँठ चलिरह्यो । त्यसबेला क्रान्तिकारी प्रवृत्तिका किरणसहितका नेताहरु एकपछि अर्को गरी भारतमा गिरफ्तार भए । भारतले क. बादल र प्रचण्डलाई नै गिरफ्तार गर्न खोजेका सूचना आउन थाले । पटनामा २०६१ मा क. सोनाम (कुलबहादुर केसी), अनिल शर्मासहितको गिरफ्तारीपछि प्रचण्ड भारतीय भूमि छाड्ने निष्कर्षमा पुगे तर डा. बाबुराम भट्टराई र उनी पक्षधर भनिएकाहरु छाड्न तयार थिएनन् । भट्टराईले आफूलाई नेपालमा भन्दा भारतमै सुरक्षित ठान्थे । पार्टीले उनीहरुलाई घिसारेर देशभित्र लग्यो ।

भट्टराईले अनौपचारिक छलफलमा भारत र चीनमध्ये एउटाको ओत नलागी क्रान्ति सम्भव छैन भन्ने गर्थे । एउटाको आड भन्नुको बाबुरामको अर्थ भारतको भन्ने प्रष्ट थियो । भारतको आडमा, भारतकै विरुद्ध क्रान्ति हाँस्यास्पद थियो । त्यसको अर्थ उनी बुर्जुवा गणतन्त्रभन्दा पर जाँदैनन् भन्नेमा पार्टीमा कुनै भ्रम थिएन । तेस्रो शान्ति प्रक्रियापछि, मूलतः खरिपाटी भेलापछि प्रचण्ड समेतले बाबुराम भट्टराईलाई बुर्जुवा गणतन्त्रभन्दा पर जान नचाहेको भनेका थिए ।

एकातिर २०५८ मा नै भारतलाई याचनापूर्ण पत्र पठाइएको थियो । अर्कोतिर २०६१ मा भारतीय विस्तारवादका विरुद्ध सुरुङ युद्धको घोषणा भयो । उता नक्कली राजा ज्ञानेन्द्रसमेत भारतका सम्पूर्ण आदेश र अपेक्षा पूरा गर्न तयार भएनन् । भारत र दरबारका बीचमा दूरी बढ्न थाल्यो । माओवादीलाई दमन गर्न नसक्ने, भारतको अपेक्षा पनि पूरा नगर्ने भएपछि दिल्लीलाई ज्ञानेन्द्रको आवश्यकता रहेन । त्यही बीचमा सामन्तवादसँग संयुक्त मोर्चा बनाएर साम्राज्यवादसँग लड्ने कि साम्राज्यवाद र दलाल पुँजीपतिसँग संयुक्त मोर्चा कायम गरेर सामन्तवादसँग लड्ने ? भन्ने गम्भीर व्यवहारिक र सैद्धान्तिक प्रश्न आयो । प्रचण्ड दरबारसँगको संयुक्त मोर्चाको पक्षमा थिए भने डा. बाबुराम साम्राज्यवादसँग मोर्चा बनाउने पक्षमा थिए । यसरी भारतपरस्त र दरबारपरस्तको विवाद छताछुल्ल भयो ।

२०६२–६३ मा पुग्दा नेपाली जनयुद्धले गृहयुद्धको चरणबाट राष्ट्रिय मुक्ति युद्धमा विकासको माग गरिरहेको थियो । त्यसरी मात्रै शाही नेपाली सेनामा विभाजन, संयुक्त मोर्चा निर्माण गर्ने सम्भावना हुन्थ्यो । त्यस प्रकारका चर्चा पनि भए । ज्ञानेन्द्रले संकटकाल लगाएर कास्कीको सिकलेसमा प्रचण्डसँग भेट्ने योजना बनाएको चर्चा पनि नभएको होइन । ज्ञानेन्द्रको ‘कू’, किरणको गिरफ्तारी, खारा मोर्चाको पराजय, बाबुराम भट्टराईको अन्तरध्वंशको षड्यन्त्र, रोल्पामा प्रचण्डको बासमा शाही सेनाको आक्रमण र वैचारिक अस्पष्टता, अकर्मण्यताको कारण प्रचण्डले स्वतन्त्र पहलकदमी गुमाउन पुगे । त्यसरी उनी भट्टराईको विचारमा आत्मसमर्पण गर्न पुगे । त्यसैको जगमा १२ बुँदे सहमति भयो । १२ बुँदे सहमति साम्राज्यवादसँगको लडाइँबाट हात झिक्नु र उसैसँग संयुक्त मोर्चामा जानु अर्थात् भारतीय विस्तारवादसँग आत्मसमर्पण गर्नु थियो ।

चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिका क्रममा देखिएको संशोधनवादको नयाँ विशेषता ‘सकारात्मक र क्रान्तिकारी तर्कहरुको उपयोग आफ्नो नकारात्मक र अवसरवादी उद्देश्य परिपूर्तिका लागि गर्ने’ तरिकालाई हिजोका दिनमा बाबुराम भट्टराईले गर्थे, आज त्यही बासी सूत्र प्रचण्डले अवलम्बन गरिरहेका छन् । अर्थात् क्रान्तिकारी नाराभित्रबाट दक्षिणपन्थी यात्रा गरिरहेका छन् । जसलाई नवसंशोधनवाद भनिन्छ ।

पार्टीमा निजी प्रवक्ता बनाएर विरोधीलाई हमला बोल्ने प्रचण्डको जारी परम्परा हो । उनले शुरुमा क. आलोकलाई अगाडि सारे । त्यसपछि रविन्द्र श्रेष्ठलाई उभ्याए । रविन्द्र श्रेष्ठलाई उत्तराधिकारी बनाउने आश्वासन दिएको मानिन्छ । त्यही कारणले बाबुराम भट्टराईका विरुद्ध सम्झौता गर्नै नसक्ने गरी रविन्द्र श्रेष्ठ र बाबुरामको सम्बन्ध विकास भएर गयो । चुनवाङ बैठकसम्म पुग्दा भारतीय गुप्तचर सञ्जालसँग मात्र होइन, वैचारिक रुपले नयाँ जनवादी कार्यक्रम परित्याग गरेर बुर्जुवा गणतन्त्रमा सीमित हुने सहमतिमा प्रचण्ड पनि पुगिसकेका थिए । व्यावहारिक रुपमा भट्टराई र प्रचण्डको गुप्तचर संस्थाहरुसँगको सहकार्य र वैचारिक रुपमा बाबुरामको कार्यदिशामा पतन भइसकेका प्रचण्डले निर्णायक स्तरमा बाबुरामसँग लड्न सम्भव थिएन । चुनवाङको आसपासमा उत्तराधिकार घोषणाको अपेक्षा गरेका रविन्द्र श्रेष्ठ प्रचण्ड–बाबुराम एकताबाट चिढिएका थिए । प्रचण्डले उपत्यकाको नेतृत्व दिएर रविन्द्रलाई  थामथुम गर्न खोजे । उता अनन्तले वैचारिक रुपमा अबको नेता बाबुराम हुन् भन्ने बुझिसकेका र प्रचण्डले रवीन्द्रलाई च्यापेका कारण भट्टराईको शरणमा पुगे । बाबुरामको दबावमा अनन्तलाई उपत्यकाको जिम्मेवारी दिएपछि रविन्द्र भड्किएका थिए ।

अनन्त बागमती उपत्यकाको जिम्मा लिएर आए । उनलाई गोप्य रुपमा उत्तर र दक्षिणसँग सूत्रको काम गर्ने जिम्मा पनि दिइएको थियो । तर अनन्तले उत्तरसँग भएका सारा सूचना दिल्ली पुर्‍याउने गरेको भरपर्दो सूचना चिनियाँहरुले पाए । अनन्तले बाबुराम भट्टराईको प्रतिनिधिका रुपमा ‘र’को काम गरिरहेको सूचना सार्वजनिक हुन थाल्यो । औपचारिक रुपमा प्रचण्डतिर भए पनि सारमा बाबुरामको आधार शिविरका रुपमा अनन्त रहेका छन् । तर बाबुराम पक्षमा खुलेर लाग्दा प्रचण्डको समर्थन नपाउने र भारत परस्तको आरोप लाग्ने भएका कारण अनन्तले बेलाबेलामा क्यामोफ्लाज (वास्तबिक रंग लुकाएर अर्कै देखाउने) को प्रयास गरेका छन् । । जसका कारण अनन्त र भट्टराईका बीचमा नक्कली द्वन्द्व हुन्छ भन्ने सञ्चारमा पाकिस्तानी गुप्तचर सञ्जालबाट परिचालन भएर भारतका विरुद्ध काम गरिरहेको प्रचार प्रायोजित गर्ने गरिन्छ । पूर्वतिर आक्रमणको हल्ला गरेर पश्चिमतिर आक्रमण गर्ने युद्ध नीति जस्तै भारत र बाबुरामसँग दूरी बढेको चर्चा गरेर चीन र प्रचण्डका विरुद्ध गतिविधि गरिन्छ ।

पालुङटार भेलासम्म पुग्दा पार्टी अन्तरसंघर्ष पेचिलो बन्दै थियो । गम्भीर, अकल्पनीय घात–प्रतिघातका आशंकाहरु थिए । पार्टी फुटको उत्कर्षमा पुगेका बेला अर्थात् गत माघको केन्द्रीय समिति बैठकताका प्रचण्डले किरण पक्षका नेताहरुसँग किरण समर्थक पिएलएले आफ्नो हत्या गर्ने षड्यन्त्र रचेको हल्ला गरेका थिए । त्यो हल्ला किन गरे ? आशंका भएको थियो । प्रचण्डमाथि हमला किरण पक्षबाट नभएर उनीहरुकै पंक्तिबाट रहेछ । धोका, विश्वासघात र षड्यन्त्र बाहिरबाट होइन, भित्रैबाट हुन्छ । किरण पक्षका कतिपय नेता मूलतः क. विप्लवमाथि हमला हुनसक्ने भनी हामीले उच्च सतर्कता अपनाउन सल्लाह दिइरहेका थियौँ । कटवालमाथिको कारबाही, पहिलो चीन भ्रमण, किरण पक्षसँग एकता आदि प्रचण्ड हर्कतका कारण भारतले आफूहरुलाई धोका भएको ठान्न थाल्यो । अन्तिम विकल्प भनेको प्रचण्डको सफाया हो भन्नेमा ‘र’ पुग्यो । त्यसका लागि अनन्तलाई तयार गरियो । नेपालको रक्षा र गृह मन्त्रालयले त्यसका लागि सहयोग गर्नुपर्ने शर्त आएपछि तत्कालीन प्रधानमन्त्री माधव नेपालसँग ‘र’का प्रतिनिधिहरुले प्रस्ताव राखे । त्यस विषयमा माधव नेपाल, केपी ओली र झलनाथ खनालका बीचमा छलफल भयो । त्यो छलफलपछि एमाले नेताहरुले एमाले बद्नाम हुने र राजनीतिमा अपराधीकरण हुने निष्कर्षसहित प्रचण्डको सफायामा सहयोग नगर्ने भए । त्यस प्रकारको सूचना माधव नेपालले प्रचण्डलाई दिएको पनि बताइन्छ ।

रोल्पामा आफू बसेको बासमा शाही सेनाको ८१ को निशाना सोझियो । उनी चौतर्फी घेराबन्दीमा थिए । अन्तरंग छलफलहरुमा आत्तिएको, तर्सिएको देखिन्थे र ‘मार्छ, मार्छ’ भन्ने गरेका थिए । क. विप्लवले सार्वजनिक कार्यक्रममै ‘मार्छ भन्दै भारतको पाउमा लम्पसार पर्दै गरेर सुरक्षा हुन्छ ?’ भन्ने गरेका थिए । त्यस्तो स्थितिमा प्रचण्ड जनसेना बुझाउने, राजनीतिक रुपमा बुर्जुवा गणतन्त्र मान्ने र वैचारिक रुपमा क्रान्तिकारी माक्र्सवाद परित्याग गर्न निष्कर्षमा पुगे ।

प्रचण्डमाथिको षड्यन्त्र नखुलोस्, विश्वास कायम रहोस् र भारतको विश्वास पनि बढोस् भन्ने मनशायले अनन्तले अर्को षड्यन्त्र रच्न थाले । त्यसपछि जमिम साहमार्फत् पाकिस्तानले प्रचण्डको हत्या गर्दै छ भन्न थालियो । भारतपरस्त भएका कारण चीन पनि चिढिएको र जनयुद्धका कारण काश्मिरीहरुमार्फत् पाकिस्तानले पैसा र हतियार दिन खोजेको सार्वजनिक अभिव्यक्तिका कारण पाकिस्तानीहरु चिढिएको बताइयो । त्यसपछि जमिम साहको हत्याको योजना बन्यो । जनसेनाको एउटा टोली काठमाडौं आयो तर टोलीले आफैँले अनुसन्धान नगरी काम नगर्ने बतायो । लगातार १५ दिनसम्म जमिम साहको पिछा गर्दा पनि उनले प्रचण्डको पिछा गरेको, षड्यन्त्रमा लागेको कुनै हर्कत भेटिएन । त्यसपछि अनन्तको भक्त भनी छानिएको सो टोली जमिम साहको हत्या गर्न अस्वीकार गरेर फर्कियो ।

त्यसबेला क. विविधको निवास रामहरि श्रेष्ठको घरमा थियो । रक्तचन्दन तस्करी, यार्सागुम्बा तस्करी, जालीनोट कारोबार, जमिम साहको हत्या प्रयास यी सबै कुकर्महरु रामहरि श्रेष्ठको घरमा भएका थिए । रामहरिलाई ती सबै थाहा थियो । पूर्व एमाले कार्यकर्ता श्रेष्ठ धेरैजसो षड्यन्त्रमा सहभागी थिए । अब रामहरि अनन्तका लागि खतरा भए । त्यसपछि ‘न रहे बाँस, न बजे बाँसुरी’ भने झैँ उनी रामहरिलाई सफाया गर्ने सोचमा पुगे । उनले प्रचण्डसमक्ष ‘हतियार र नगद चोरेको’ आरोप लगाए । त्यसपछि प्रचण्डसँग सिफारिस लिएर रामहरिलाई सोधपुछका लागि गिरफ्तार गर्ने भन्दै विविधलाई चितवन पुर्‍याउन लगाए । त्यहीँ यातना दिएर रामहरिको हत्या भयो । अनन्त, विविधलगायत मुठ्ठीभर व्यक्तिहरुको शंकास्पद हर्कतका कारण एमाले नेताहरुले जनसेनालाई ‘अपराधी झुण्ड’ भन्दा पनि प्रचण्डहरु मौन बसे । जबकि खरिपाटी भेलामा सामान्य छलफल भएकै आधारमा अनिल विरहीको आलोचना र इश्वरचन्द्र ज्ञवालीलाई मञ्चबाटै आत्मालोचना गर्न लगाइएको थियो ।

एउटा उखानको स्मरण हुन्छ– एकादेशमा दुई आमाछोरी बस्थे । एकदिन छोरीले ‘आमा, तपाईंलाई गाम्लेहरुले बोक्सी बूढी भन्छन्’ भनिछ । बुढीले ‘भन्न दे नानी, जस्तो देख्छन् उस्तै भन्छन्’ भनिछन् । अर्कोतिर ठूलो रकम सरकार बनाउन र ढाल्न प्रयोग गरियो । त्यो रकमको स्रोत गुप्तचर एजेन्सीहरुबाट लुक्ने कुरा भएन । आर्थिक कोणबाट पनि प्रचण्डमाथि दबाव बढाउने योजनाबद्ध हर्कतहरु देखिन्छन् । वैचारिक विचलनका ती अनिवार्य परिणाम हुन् ।

विचार निर्माणमा भौतिक वातावरण निर्णायक हुन्छ । ‘माटोको भर ढुंगा, ढुंगाको भर माटो’ भने झैँ सामुहिक प्रयत्न, सहयोग, परिस्थिति, वस्तुगत यथार्थसहित नेताहरुले इतिहासको निर्माणमा भूमिका खेल्छन् । हरेक व्यक्ति आफैँमा विभिन्न प्रवृत्तिहरुको योग हुन्छ र ऊ आफैँसँग द्वन्द्वरत रहन्छ । भौतिक जगतमा जुन प्रवृत्ति हावी रहन्छ, व्यक्तिमा पनि त्यही प्रवृत्ति मौलाउने अवसर या अनुकूलता पैदा हुन्छ । तसर्थ हरेक व्यक्तिलाई स्थिर होइन, गतिमा हेर्नुपर्दछ ।

नेपालको गृहयुद्धले राष्ट्रिय मुक्ति युद्धको माग गरिरहेको थियो । त्यसका लागि वैचारिक, राजनीतिक र फौजी रणनीतिमा विकास आवश्यक थियो । राष्ट्रिय मुक्तियुद्धको आवश्यकता भइरहेको बेला गृहयुद्धको निरन्तरता आफैँमा अकर्मण्यता थियो । क. किरणसहितको वैचारिक नेतृत्वको अभाव र दक्षिणपन्थी घेराबन्दीका कारण केही समय ढुलमुल, अन्योल, अकर्मण्य हुँदै अन्ततः प्रचण्ड पछाडि फर्किए । शिखरबाट तल झरेपछि फेदीमै झर्नु अनिवार्य थियो । त्यही भयो । नेपाली क्रान्तिलाई फेरि गृहयुद्धको चरण हुँदै राष्ट्रिय मुक्ति युद्धमा प्रवेश गराएर सामन्तवाद–साम्राज्यवाद मूलतः साम्राज्यवादी चंगुलबाट मुक्त गराउन सम्भव छ ? प्रचण्डले गृहयुद्धको नेतृत्व त गरे तर राष्ट्रिय मुक्तियुद्धको तयारी र नेतृत्व गर्न सकेनन् । के नयाँ पुस्ता या शक्तिले त्यसका लागि आवश्यक वैचारिक, राजनीतिक र फौजी रणनीतिको विकास गर्न सक्छ ?

(आज २०६९ साल कार्तिक  २२ गते बुधबारको जनआस्था साप्ताहिकबाट साभार)

No comments:

Post a Comment