डेरामै दम्पतीको हत्या,ज्याठामा दम्पतीको हत्या लुट्न आएको समूहबाट




काठमाडौं, फागुन १- ज्याठाको एक घरमा दुई जना मृत अवस्थामा फेला परेका छन्। कोठा बाहिरवाट ताल्चा लगाएको अवस्थामा रामबहादुर खड्काको कोठामा महिला र पुरुषको शब फेला परेको हो। प्रहरीका अनुसार सो डेरामा खड्का श्रीमती कल्पनासँगै बस्दै आएका थिए।

घटनास्थलमा महानगरिय प्रहरी अपराध महाशाखा र महानगरिय प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागी पुगेको छ। मृत महिला कल्पना भए पनी पुरुषको पहिचान हुन सकेको छैन। बाहिरवाट ताल्चा मारिएकाले प्रहरीले भेन्टीलेटरवाट हेरेर महिलाको पहिचान गरेको हो। पुरुषको हात मात्र देखिएकाले सोमवार बेलुकासम्म पहिचान भएको थिएन।

खड्का दम्पत्ति जमलमा चिया पसल चलाउँदै आएको र उनीहरु ज्याठामा दुई वर्षदेखी डेरामा बसेको जानकारी प्रहरीले पाएको छ। घटनास्थलमा पुगेका प्रहरीका अनुसार दुबैको मृत्यु शंकास्पद देखिन्छ।

बाहिरवाट हेर्दा महिलाको घाँटीमा चोट देखिएको र मुखवाट रगत निस्किएको देखिएको प्रहरीले बताएको छ। महानगरिय प्रहरी परिसरका एसपी उत्तम सुवेदीले दुबैको मृत्यु शंकास्पद देखिएको बताउँदै अनुसन्धान जारी रहेको बताए।


ज्याठामा दम्पतीको हत्या लुट्न आएको समूहबाट

काठमाडौं, फागुन २- लुटपाट गर्न आएको समूहले ज्याठामा दम्पतीको हत्या गरेको प्रहरीले जनाएको छ। सोमबार बेलुका ज्याठामा प्रहरीले रामबहादुर खड्का र उनकी श्रीमती कल्पनाको शव उनीहरूकै कोठामा फेला पारेको थियो।
मृतक महिलाको शरीरका गहना लुटिएको र घरका अन्य सामग्री हराएकाले लुटपाटको उद्देश्यले हत्या भएको अनुसन्धानमा संलग्न प्रहरी टोलीको प्रारम्भिक निष्कर्ष छ।

लुटपाटको उद्देश्यले हत्या भएको अपराध महाशाखाका एसपी प्रद्युम्न कार्कीले नागरिकलाई बताए। 'महिलाको कानको मुन्द्रा खोलेर लगेको र कोठाका अन्य गहनासमेत लगेको देखिएको छ,' उनले भने, 'अहिलेसम्मको अनुसन्धानले लुटपाटका लागि हत्या भएको देखिएको छ। हत्यामा संलग्न समूह भने खुलेको छैन।'

ज्याठा ज्यासल गल्लीको एक घरमा दुई वर्षदेखि बस्दै आएका खड्का दम्पतीको धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो। निधार, ढाड र पेटमा धारिलो हतियार प्रहार भएको रामबहादुरको शव र घाँटीमा धारिलो हतियार प्रहार गरेर मारिएकी कल्पनाको शव प्रहरीले घटनास्थलमा फेला पारेको थियो।

घटनास्थलमा महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर र शिक्षण अस्पताल महाराजगन्जबाट फरेन्सिक विभागका चिकित्सक हरिहर वस्तीसमेतको टोली पुगेको थियो।

रामेछापका खड्का दम्पती कान्तिपथमा चिया पसल गर्थे। बाहिरबाट ताला लगाएको कोठामा शव फेला परेको थियो। घटनास्थल र शवको प्रकृतिका आधारमा अनुसन्धान टोली आइतबार बेलुका हत्या भएको अनुमान गरेको छ। बेलुकाको समयमा लुट्न आएको समूहले खुकुरी प्रहार गरेर दुबैको हत्या गरी सुनका गहनालगायत सामग्री लुटेको अनुमान गरिए पनि प्रहरीले लुटिएको सामग्रीको एकीन विवरण खुलाउन सकेको छैन।

अध्यादेश फिर्ता पठाउने तयारीमा राष्ट्रपति,



२ फागुन, काठमाण्डौं । सरकराले पेस गरेका बेपत्ता भएका व्यक्तिहरुको खोजबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी अध्यादेश राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन विपरीत देखिएको भन्दै राष्ट्रपतिले फिर्ता पठाउने भएका छन् । साढे पाँच महिला लामो अध्ययनपछि राष्ट्रपति डा. रामबरण यादब सरकारद्धारा सिफारिस सो अध्यादेश फिर्ता गर्ने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गत १२ भदौमा सो अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारले सिफारिस गरेको सो अध्यादेशप्रति अधिकारवादी संघ/संस्थाले चर्को विरोध गरेपछि राष्ट्रपति यादबले अध्इयन जरुरी रहेको भन्दै विचाराधी राखेका थिए । मंगलबार अध्यादेशबारे केही मानव अधिकारवादी अगुवासँगको परामर्शपछि राष्ट्र यादब अध्यादेश सरकारलाई नै फिर्ता पठाउने निष्कर्षमा पुगेको खबर राजधानी दैनिकले छापेको छ ।

जेठ १५ भित्र संविधानसभाको निर्वाचन र चुनावी सरकार गठन गर्ने विषयमा दलहरु सहमत



काठमाडौं,माघ २९ । प्रमुख चार राजनीतिक दलले जेठ १५ गतेभित्र संविधानसभाको निर्वाचन गर्न र चुनावी सरकार गठन गर्ने विषयमा सहमत भएका छन् । नयाँ बानेश्वरमा रहेको सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको बैठकमा दलहरुले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने पनि सहमति गरेका हुन् । बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेठ १५ गते चुनाव हुने गरि सहमति जुटेको जानकारी दिनुभयो । उहाँले सोमबार साँझ राष्ट्रपतिसँग हुने छलफलमा ठोस निस्कर्ष निस्कन सक्ने बताउनुभयो । दलहरुले सांझ ५ वजे राष्ट्रपति डा रामबरण यादवसँग छलफलको समय तय गरिसकेका छन् । एकीकृत नेकपा माओवादीले अघि सारेको वाहालवाला प्रधानन्यायाधीश, स्वतन्त्र व्यक्ति वा पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर चुनावमा जाने भन्ने विषयमा भने सहमति भइसकेको छैन । सोमबार दिनभर आन्तरिक छलफल गरेपछि बेलुका थप छलफल गरेर निस्कर्षमा पुग्ने नेताहरुले बताएका छन् । बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरु सहभागी थिए ।