काठमाडौं, असार १७ - नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले एमालेले सरकारको नेतृत्व गर्ने अवस्था आएमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई अघि सार्ने बताउनुभएको छ । काठमाडौंमा आइतवार भएको कार्यक्रममा भण्डारीले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बनिसकेकाले अब पार्टीका नेता केपी शर्मा ओलीलाई प्रधा...नमन्त्रीको उम्मेदवारका रुपमा अघि सारिने स्पष्ट पार्नुभयो । यद्यपी दलहरुले सहमति गरेर प्रधानमन्त्रीको साझा उम्मेदवार तोक्नुपर्ने भण्डारीले बताउनुभयो । ‘हामी कांग्रेस नेतृत्वमै सरकार बनोस् भन्ने चाहन्छौं । डेमोक्र्याटिक एलाइन्स पनि उसकै नेतृत्वमा बन्नुपर्छ भन्ने पक्षमा छौं,’ उहाँले भन्नुभयो ‘काँग्रेसले उम्मेदवार दिन नसके एमालेले केन्द्रीय कमिटीको बैठक राखेर निर्णय दिन्छ ।’
भण्डारीले प्रधानमन्त्री बाबुरामलाई हटाउन राष्ट्रपतिले हिम्मत गर्नुपर्ने पनि बताउनुभयो । ‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेर नयाँ सरकार बनाउन पहल लिनुपर्छ,’ उहाँले भन्नुभयो ‘बाबुरामजी जति अटेर गरेर बस्नुहुन्छ, उहाँका लागि त्यति नै प्रत्युत्पादक हुन्छ ।’